नेशनल लाईफ इन्स्यारेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। भदौ १८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको ४१७ औं बैठकले कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीका लगानीकर्ताले नगद लाभांश बापत ३६ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने चुक्ता पुँजी तीन अर्ब रुपैयाँको २.५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्त पुँजी तीन अर्ब ८ करोड रुपैयाँ कायम हुनेछ।
उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
कम्पनीले अघिल्लो आवको तुलनामा १ प्रतिशत लाभांश बढाएपनि बोनस घटाएर नगद लाभांश बढाएको छ। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा कम्पनीले १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।













































































































































































































