कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा विभिन्न बहानामा अवरोध सिर्जना हुँदै आएको छ । पर्वतको कुस्मादेखि म्याग्दीको दानासम्मको प्रसारणलाइन निर्माणमा स्थानीयले नै अवरोध गर्दै आएका छन् ।
म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने उक्त परियोजना २२० केभी क्षमताको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र रातोपानीमा स्थानीयको अवरोधले टावर निर्माण हुन सकेको छैन । सन् २०१८ नोभेम्बरमै सम्पन्न गर्ने लक्ष्य भए पनि एक वर्षभन्दा बढी समय धकेलिइसकेको छ ।
अहिलेसम्म दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा ११० वटामध्ये १०३ वटा टावर बनेका छन् । धेरैजसो ठाउँमा तार तान्ने कामसमेत भइरहे पनि म्याग्दीको पोखरेबगर क्षेत्रमा ६ वटा र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर निर्माण सुरु हुन नसकेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । ।
प्रसारणलाइनले पोखरेबगरमा स्थानीयका घर र गाउँपालिका कार्यालयको भवन निर्माणस्थललाई प्रत्यक्ष प्रभाव पार्ने भएपछि उनीहरूले नक्सा परिवर्तन गरी बस्ती जोगाएर टावर र लाइन विस्तार गर्न माग गर्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ मेदेखि सुरु गरेको दाना–खुर्कोट प्रसारणलाइन र सबस्टेसन एक वर्षअघि नै सक्ने लक्ष्य थियो । पहिलोपटक ६ महिना र दोस्रोपटक ३ महिना म्याद थपिएको यस आयोजनामा आगामी कात्तिकभित्र आंशिक र पुसभित्र पूर्ण रूपमा निर्माण कार्य सम्पन्न गर्ने गरी कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।













































































































































































































