आफूलाई नागरिक अगुवा दाबी गर्ने ज्ञानेन्द्र शाही यति बेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् । नेपालगन्जबाट काठमाडौं उड्न लागेको बुद्ध एअरको हवाई जहाज समयतालिकाभन्दा केही ढिलो भएकोमा उनी आक्रोशित भए । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पर्खंदा ढिलो भएको भन्दै जहाजभित्रै उनीमाथि खनिए । यो भिडियो छ्यापछ्याप्ती हुँदा हेर्नेहरूलाई शाहीले ‘मण्डले शैली’ झल्काएजस्तो पनि लाग्यो होला ।
उनको आक्रोश गलत होइन । तर, त्यसलाई जुन शैलीमा प्रस्तुत गरे त्योचाहिँ गलत हो । त्यसो त कैलालीको टीकापुरमा आयोजित डलफिन महोत्सवबाट फर्किएका मन्त्रीले आफ्नो कारणले उडान ढिलो भएकोमा सार्वजनिक रूपमा माफी नै मागिसकेका छन् ।
कार्यक्रम नै ढिलो सुरु भएको र फर्कनैपर्ने दबाबका बीच बुद्ध एयरसँग अनुरोध गरेरै अन्तिम उडान केही समय पर्खन भनिएको उनले स्विकारेका छन् । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटपछि आफूहरूको टिमको बोर्डिङ भएको र यसबारे प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम रहेको सामाजिक सञ्जालमा उल्लेख गरे ।
नेपालगन्ज विमानस्थलमा ३–४ जना व्यक्ति जसरी भट्टराईविरुद्ध खनिए, एक किसिमले हेर्दा नियतवशजस्तो पनि लाग्छ । एक जनाले ‘पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस्, त्यो हामीले कहाँ बिर्सेका छौं र’ भन्नुको आशय के हुन सक्छ ?
घटनामा अन्य यात्रु, बुद्ध एयर र प्रहरीले देखाएको संयम सकारात्मक छ । तर, अहिले सामाजिक सञ्जालमा व्यक्त भइरहेको शाहीको अभिव्यक्ति सुहाउँदो लाग्दैन । देश सुधारको अभियान लिएर हिँडेका उनका यी अभिव्यक्तिले उल्टै उनैलाई भनिरहेजस्तो लाग्छ– पहिले आफैंलाई सुधार ! प्रश्न उठेको छ– के उनको यस्तै बोली र रबैयाबाट परिवर्तन सम्भव छ ?
सरकारले गलत गरेको भए विरोध गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्छ । तर विरोधका नाममा मन्त्रीमाथि नै यसरी जाइलाग्दा शाहीको सामाजिक उचाइ अझ घटेझैं लागेको छ ।
हवाई कम्पनी यात्रुलाई समयमै गन्तव्य पुर्याउन सजग हुनुपर्छ । मन्त्री, नेताका कारणले जहाज ‘होल्ड’ गरेर दुनियाँलाई दुःख दिन पाइँदैन । लोकतन्त्रमा बोल्ने–लेख्ने स्वतन्त्रता सबैलाई छ । तर मर्यादा नै भुलेर मनपरी लेख्नु लोकतन्त्र होइन । गाली–गलौजको पनि एउटा सीमा र शैली हुन्छ । शाहीको टोलीले त्यसलाई पार गरेजस्तो लाग्छ । जहाजभित्र हुलहुज्जत गर्नु ऐनअनुसार पनि गलत हो । सरकारले दोषी पत्ता लगाएर कारबाही अघि बढाउनुपर्छ ।
फेरि मन्त्री भट्टराई विगतमा उस्तो विवादित व्यक्ति पनि होइनन् । भोलिका दिनका लागि आशालाग्दा नेताका रूपमा उनको छवि छ । अहिलेसम्म निष्ठाकै राजनीति गरेकाले जनताले स्विकारेका पनि छन् । के उनलाई बदनाम गर्नकै लागि मण्डलेहरू लागिपरेका हुन् त ? के यो शाही शासन फर्काउने एउटा हतकन्डा हुन सक्ला ? तर, यसरी जसलाई जे मन लाग्यो त्यही भन्दै, गर्दै हिँड्ने छुट त त्यो शासनमा पनि नहोला ।
त्यसो त देशमा अहिले आक्रोशको माहोल नै छ । सबै क्षेत्रमा असन्तुष्टि चुलिएको छ । भ्रष्टाचारी, फटाहाहरूको बिगबिगी छ । सरकारले सामान्य काम पनि समयमा नगरिदिँदा लोकतन्त्रविरुद्ध खेल्नेहरूले मौका पाएका छन् । सरकारविरुद्धका हरेक अभिव्यक्ति रुचिकर मानिन थालेका छन् । यो अवस्था लोकतन्त्रकै लागि खतरा हो । तर पनि सरकार आफूलाई सच्याउनतिर लागेको देखिँदैन ।
जहाज डिले भएको यो पहिलोपटक होइन । अरू बेला पनि थुप्रै विमानस्थलमा मौसम र अन्य कारणले यात्रु घण्टौं पर्खन बाध्य भएका उदाहरण छँदै छन् । कतिपय अवस्थामा व्यवस्थापकीय कमजोरी पनि छ । यो अहिलेसम्म समाधान भएको छैन । ज्ञानेन्द्र शाहीको टोलीको आँखा त्यहाँ अहिलेसम्म पुगेको छैन ।
उनी किन मन्त्रीकै कारण भएको ढिलाइ मात्र देखिरहेका छन् ? के उनको नियत सरकारमा रहेका मान्छेको बदनाम गरेर आफू हिरो हुने नै हो त ? कि पुरानो शक्तिले सत्ता फर्काउन सकिन्छ भनेर भाडाका मान्छे खटाएको हो ? त्यसो हो भने भोलि त्यो शक्ति पनि जहाजभित्रका मन्त्री भट्टराईजस्तै गरी खेरिनेछ । आलोचित र बदनाम हुनेछ । त्यसको उडान आजीवन ‘डिले’ हुनेछ । माफी माग्दा पनि कसैले पत्याउने छैन ।



















































































































































































































