पर्यटन दिवसका अवसरमा प्रभातफेरीमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि
पर्यटन दिवसको अवसरमा सरकारले बागलुङसहित तीन नयाँ ठाउँलाई गन्तब्य घोषणा गरेको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा शुक्रबार यी गन्तव्य घोषणा गरिएको हो ।
सरकारले धादिङको रुबीभ्याली गाउँपालिकाको ‘चालिस’ गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सा र बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेतलाई नयाँ गन्तब्यको रुपमा घोषणा गरिएको हो ।
विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे ।
नयाँ तीन गन्तब्य
‘चालिस’ रुबीभ्याली गाउँपालिका – धादिङ
‘धुन्सा’ फक्ताङलुङ गाउँपालिका– ताप्लेजुङ
‘फापरखेत’ काठेखोला गाउँपालिका– बागलुङ
शुक्रबार विश्वभर पर्यटन दिवस मनाइदैछ । ‘टुरिज्म एण्ड जब–ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइदैछ । यस अवसरमा नेपालमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, निजी क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संघ–संस्थाको सहभागितामा शुक्रबार विशेष कार्यक्रम आयोजना गरियो ।
पर्यटन दिवसको अवसरमा विभिन्न नाकाबाट प्रवेश गरेका पर्यटकलाई स्वागत गर्ने तथा होटेल र रिसोर्टहरुमा छूट सुविधा दिने गरिन्छ । मन्त्रालयले रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दिगो र उल्लेखनिय स्रोतका रुपमा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना भइरहेको बताएका छन् ।
पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नविनतम गन्तब्य पहिचान, पूर्वाधार विकास र गन्तब्यको संरक्षण–संवद्र्धनमा ध्यान दिनेसमेत उल्लेख गरेका छन् । पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटनको दिगो र सहभागितामुलुक विकासका लागि प्रदेश र स्थानीय सरकारसँग समेत समन्वय गरिने उल्लेख गरे ।
















































































































































































