१० कार्तिक २०८३, सोमबार

 

प्रधानमन्त्रीज्यू, महरा प्रकरणले व्यवस्थाकाे मुहारमा धब्बा लाग्न पुगेको छ

प्रधानमन्त्री ज्यू,

सपना र लक्ष्यबाट तपाईं नेपालीको भाग्यसँग जोडिन खोज्दै हुनुहुन्छ । तर तपाईंको टिमका सहयोगीहररूका कारण तपाईंकाे सपना धागो चुँडिएको चंगाजस्तै बनिरहेकाे त छैन्न ?

किनकि लाेकतन्त्रमा ‘सत्य, अहिंसा,विवेक र नैतिकता’ एकअर्काका परिपूरक हुन् । तर तपाईंका सहयात्रीमा उक्त मूल्य र मान्यताको कुनै मतलब देखिँदैन । तपाईं लोकतान्त्रिक व्यवस्थाका लागि समर्पित भइरहँदा सहयात्रीले व्यवस्थाको महत्त्व बुझ्न नसकिरहेकाे देखियाे ।

साँच्चै भन्ने हाे भने यति बेला सार्वजनिक  सभामुख कृष्णबहादुर महरा जाेडिएकाे घटना गणतन्त्रको मुहारमा धब्बा बन्न पुगेको छ । अझै सभामुख महराले दिएको अल्पकालीन राजीनामाले त दीर्घकालीन व्यवस्थाको  मन्दिर एवं सम्मानित संसद्र र सदनमा कालो धब्बा लगाइदिएकाे छ । अब यो दाग इतिहासबाट मेटिनेछैन । त्यसैले व्यवस्थामा सबैको समान जिम्मेवारी रहन्छ भन्ने कुरा पार्टी पंक्तिमा न तपाईंले बुझाउन सक्नुभयो न अर्का अध्यक्ष प्रचण्डले नै ।

कसैले सोच्न सक्छ ? सम्मानित सदनका सभामुखजस्तो व्यक्ति त्यस्तो चरित्रमा हाेलान् भनेर ? सामान्य व्यक्तिले पनि गर्न नसुहाउने हर्कतमा सहभागी हुनु उनको लालसा मात्र नभएर उनीभित्रको स्कुलिङ हो भनेर समाजले बुझिरहेको छ ।

व्यवस्थाप्रति पूर्वराजाले धावा बोले भन्ने तपाईंहरूको अभिव्यक्ति साँच्चै हाे कि भन्ने लाग्थ्यो । तर अब हाेइन रहेछ भनेर जनताले बुझ्दै छन् ।  बेलाबखत सार्वजनिक हुने यस्ता घटनाले तपाईंहरूको अभिव्यक्तिप्रति नै विश्वास गुम्दो छ । व्यवस्थाका धरोहर सम्मानित संसद्का सभामुखले गरेको यो गल्तीले व्यवस्थाको नै खिल्ली उडाएकाे छ ।

कुनै पनि घटना वा प्रसंगको विश्लेषण वस्तुवादी कोणबाट हुनुपर्ने हो तर समाजमा विषयगत रूपमा बुझ्ने  गरिएकाे छ । त्यसैले सभामुखको कमजोरीलाई पनि व्यवस्थासँग दाँज्न थालिएको छ ।

प्रधानमन्त्रीज्यू,

तपाईंकाे सपनालाई अरूले गिज्याए पनि मजस्ता सत्यमा विश्वास गर्नेहरूलाई विश्वास लागी नै रह्यो । कारण, सपनाको जगमा हामी नै छौं । तर व्यवस्थामा सहयात्री बनेका कतिपय अनुहार र उनीहरूको चरित्रले सरकारप्रतिकाे विश्वास गुम्दो छ । त्यसको कारण अरू नभएर सत्ताको दोहन हाे । साथै तपाईंले देखेको सपनामा आफ्नै सहयात्रीले धावा बोलिरहेका छन् । अब पनि नैतिकवान् कार्यकर्ताको पहिचान गरेर उचित स्थान र जिम्मेवारी दिनुभएन भने व्यवस्थाप्रति नै अविश्वास नजाग्ला भन्न सकिन्न ।

फेरि व्यवस्था पनि पञ्चायतजस्तै बन्नेछ । यति बेला सामन्तकै शैलीमा चरित्र देखाउन आतुर नेतृत्वको जति निन्दा गरे पनि कम हुन्छ । सन्ततिले तपाईंको नाम लिनेबित्तिकै सपना देख्ने प्रधानमन्त्री भनेर त पढ्लान् तर सपना के थियेा भन्ने उत्तर नभेटिएला भन्ने डर पनि उत्तिकै  भइसक्यो ।

त्योभन्दा पनि दुःखको कुरा के भने लोकतन्त्रका अनैतिक कार्यकाल भनेर इतिहास नलेखियोस् । यति बेला सभामुख महराले आफूलाई लागेको यौनदुराचारको आरोपसँगै अल्पकालीन राजीनामा गरे । उनको अल्पकालीन राजीनामाले व्यवस्थाकाे झनै खिल्ली उडाएको छ । त्यस्तो पनि राजीनामा हुन्छ, छानबिन हुन्जेलका लागि भन्ने ?

यस्तो अवस्थामा उनलाई हिरासतमा लिएर छानबिन गर्न सरकार तयार हुनुपर्ने हो । तर सरकार उनलाई हिरासतबाट जोगाउने गरी अल्पकालीन राजीनामा गराउन मात्र लाग्याे  ।  सरकार यस्ता कार्यमा मूकदर्शक हुनुले व्यवस्थाको चीरहरण भइरहेको छ ।

कहिले गृहमन्त्रीका भाइ नै फिरौतीमा लागेको समाचार आउँछ । कहिले अख्तियारमा राजनीतिक नियुक्ति गरिएका आयुक्त नै घुस प्रकरणमा संलग्न भएकाे तथ्यगत समाचार आउँछ । कहिले पार्टीका महासचिव नै प्रधानमन्त्री निवासको जग्गा काण्डमा जोडिएको समाचार आउँछ । कहिले प्रदेशका मन्त्री नै अनैतिक कार्यमा संलग्न भएको समाचार आउँछ ।

यस्तो अवस्थामा कतै जनताकाे विश्वासमा व्यवस्थाप्रति नै दोष नजागोस् । जाग्यो भने त्यो दोषको जिम्मेवारी पनि तपाईंले नै लिनुपर्नेछ । पूर्व भइसकेका राजालाई दिन मिल्नेछैन । भन्न त सकौंला २ सय ४० वर्षको संस्कारको दोष हो भनेर तर चरित्र त व्यक्ति हो । अब पनि  जिम्मेवारीका कारणले  उनलाई दाेष दिन मिल्नेछैन ।

प्रधानमन्त्रीज्यू,

व्यक्ति यदि संस्कारी भएन भने व्यवस्था टिक्दैन । यो कुरालाई दलमा आबद्ध जिम्मेवार कार्यकर्ताले ध्यान दिएको देखिँदैन । स्थानीय निकायमा जिम्मेवारीमा रहेका अधिकांश जनप्रतिनिधिको चरित्र महराको भन्दा कमको छैन । महराले कुनै महिलासँगका आपत्तिजनक व्यवहार गरे ।  तर स्थानीय जनप्रतिनिधिले व्यवस्थाप्रति नै आपत्तिजनक क्रियाकलाप गरिरहेका छन् । उनीहरूको आयस्रोतबारे महराको भन्दा पनि आपत्तिजनक प्रवृत्ति जोडिएका छन् ।

प्रधानमन्त्रीज्यू,

आज आखिर किन हामीले चाहेको व्यवस्थामा यस्तो हास्यास्पद स्थिति देखिएको छ ? राजनीतिमा नैतिकता र निष्ठा हराएकोले हो भन्ने बुझ्नुभएकै होला । निष्ठा र सादगीका लागि फेरि पनि उही निष्ठा चाहिन्छ । समाजमा सादगी भन्नु पञ्चायतका बेलाका जस्ता भन्ने उक्ति बन्न थालेको छ । यही प्रसंगमा भोलि अक्टाेबर २ मा जन्मिएका गान्धीलाई स्मरण गर्नु उचित होला ।

उनले भनेका छन् ‘मन्त्री जनताका सेवक हुन् । उनीहरू पद र प्रतिष्ठामा टाँसिएर  बस्नु हुँदैन । पद प्रसिद्धिको ताज हुन आवश्यक छ न कि अभिममानको ।’ तर यहाँ त पद र प्रतिष्ठा अहमंताको पर्याय भएको छ ।

देशमा आदरणीय भनेका नेताहरू नयाँ महाराजका स्वरूपमा चित्रित छन् । उनीहरु सुरुमा सांसद, त्यसपछि प्रभावशाली मन्त्री बन्न हानथाप गर्छन् । त्यस्ता अनुहार तपाईंको क्याबिनेटमा पनि नभएका हाेइनन् । कुरा गणतन्त्रका गरे पनि मानसिकता महासामन्ती नै छ । आज भ्रष्ट, चरित्रहीन, दोषसिद्ध नेता सांसद, मन्त्री र व्यवस्थाका उच्च पदमा आसीन छन् ।

महाराले बलात्कार गरेकी भनिएकी महिलाको अभिव्यक्तिले पनि उल्लिखित प्रसंगलाई पुष्टि गर्छ ।  उनी कति नैतिकवान् थिए र गरिमामय संसद्को सभामुख बनाइएको रहेछ भन्ने ती महिलाले उनका बारेमा दिएकाे अभिव्यक्तिले पुष्टि हुन्छ ।

प्रधानमन्त्रीज्यू,

एउटा सामान्य नागरिकले त्यसरी नै अपराध गरेको भए के उसलाई गिरफ्तार नगरी छानबिन हुँदै छ भन्न मिल्थ्यो ? आज नेपालका सांसद र मन्त्रीको स्थान त्यसैले  हिजोका सामन्ती भनिएको व्यवस्थाको भन्दा पनि निकृष्ट हुन पुगेकाे छ । आज पनि काठमाडाैंकाे बास र घरजग्गाका लागि मात्र राजनीति गरिँदै छ ।

नियम स्वयं आफैंले बनाउने स्थानमा बस्नेको अवस्था यस्तो छ, पालना कसले गर्ने ? नियम बनाउने स्थानमा बस्नेले पालना नगर्ने अनि अरूबाट गराउन खोज्नु कस्तो लोकतान्त्रिक अभ्यास हाे ?  तर पनि हामीले आफ्नो देशलाई लोकतान्त्रिक भनिरहेका छौं । हामीले लोकतान्त्रिक व्यवस्थाकाे अभ्यास गरिरहँदा व्यवहार भने सामन्तीको जस्तो भइरहेको छ भन्ने लाग्दैन ?

प्रधानमन्त्रीज्यू,

व्यवस्था परिवर्तनसँगै  जनताको जीवनशैलीमा बदलाव आउला भन्ने थियाे । तर बदलाव त राजनीति गर्ने नेताहरूको जीवनमा भइदियो । पद र प्रतिष्ठावान् नेतृत्वको सानसाैकत, आडम्बरले व्यवस्थालाई नै खिल्ली उडाएको छ । चरित्रको त झनै कुरै नगरौंअ। प्रेरणास्रोत मानिएको नेतृत्वको बोलीमा अपमान र अपशब्दको प्रयोग गर्नु सामान्य नै भएको छ । आचार, व्यवहार र चरित्रले वर्तमानको नेतृत्व विचारधारा, सिद्धान्त, पार्टी र देशका हितका पक्षमा प्रतिबद्ध छ भन्न सकिने किसिमको छैन ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीजनको सत्यप्रतिको आस्था हिमालजस्तो अटल रहेको विगत छ । तर आज हामीले विश्वास गुमाइरहेका छौं, हाम्रो सत्यसँगै पहिचान चुरेसँगै बगिरहेको छ । नेताहरूलाई यो जानकारी छैन कि चुरेको विनाशसँगै हाम्रो सत्यको जग भत्किँदै छ । त्यही भत्किँदो स्वरूपमा सभामुख पनि भत्किन पुगे ।

रक्सी, स्त्री, मनी, मसल र माफियामा जेलिएका व्यक्तिको गरिमा आखिर कति दिन नै टिक्न सक्थ्यो र ? किनकि उहाँहरूले चलाएको जनयुद्ध आखिर ती सबै तत्त्वले भरिएको थियो । जुन कुरा तपाईंले पनि विगतमा पटकपटक अभिव्यक्त गर्दै आउनुभएको हो ।
तपाईंले समृद्धिको सपना देखिरहँदा मनी (पैसा) का लागि माफियाहरूले नेतृत्वलाई उपयोग गरिहेका छन् ।

मेडिकल कलेजको व्यापार त्यसको एउटा उदाहरणका रूपमा लिन सकिन्छ । त्यसभित्रकाे भयावहतामा नजाऔं । यति बेला सत्ताकाे नजिक पुग्ने अधिकांश जनको एक मात्र लक्ष्य पैसा कमाऊ, अरू मूल्य र मान्यतालाई तिलाञ्जली देऊ भन्ने देखियो । सांसद, मन्त्री बन, टन्न कमाऊ । देश र लोकतन्त्र भाडमा जाओस् । तर देशले लोकतन्त्रको अभ्यास गरिरहँदा जनताले मूल्य, मान्यता र संस्कृतिलाई बिर्सिएका छैनन् । असत्यका विरुद्ध मुकाबिला गर्दै व्यवस्थालाई बचाउने जिम्मा जनतामा निहित भएको छ । तर मारमा जनता नै छन् । कसरी भन्नुहोला, कर प्रशासन, महँगी, भ्रष्टाचारी उनीहहरूमाथि नै हुने गरेको छ ।

फेरि पनि प्रसंगले गान्धी स्मरण भइरहे । उनले भनेका छन्, ‘सिद्धान्तबिनाको राजनीति, श्रमबिनाको सम्पत्ति, नैतिकताबिनाको व्यापार, चरित्रबिनाको शिक्षा, चेतनाबिनाको आनन्द, मानवताबिनाको विज्ञान र बलिदानबिनाको स्वतन्त्रता दीर्घायु हुन सक्दैन ।
त्यसैले आजको नेपाली समाजमा उल्लिखित आदर्शबिना नै सञ्चालित छ । यस्तो अवस्थामा,

प्रधानमन्त्री ज्यू,

एक्लो सिपाही बनेर देश र समृद्धिको सपना देख्नु तपाईंको महानता हो । तर तपाईंका सहयोगी र तपाईंले चलाएको देशकाे प्रशासनले तपाईंकाे सपनालाई कतै खरायो र सिंहको कथामा जस्तै सिंह त बनाइरहेका छैनन् ?

श्रमजीवी, भुवन थापा ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung