२ जेष्ठ २०८१, बुधबार

 

धौलागिरिका चार जिल्लामा फोरजी सेवा

नेपाल टेलिकमले धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

मोबाइल डाटामार्फत अत्याधुनिक प्रविधिको उच्च गतिको इन्टरनेट चलाउन प्रयोग हुने फोरजी सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

टेलिकमले बागलुङ बजार, म्याग्दीको बेनी बजार, पर्वतको कुस्मा बजार र मुस्ताङको जोमसोम र मुक्तिनाथ क्षेत्रमा बुधबारदेखि उक्त सेवा विस्तार गरेको हो ।

टेलिकमले दसैंअगावै मुख्य बजार क्षेत्रका उपभोक्तालाई लक्ष्यित गरी चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य गरिरहेको थियो । टेलिकमले यसलगत्तै बागलुङको लालीगुराँसचोक, कुँडुले, गलकोट नगरपालिकाको ठाना, म्याग्दीको बेनी क्याम्पसचोक, पुलाचौर, रुममा फोरजी सञ्चालन हुने जनाएको छ । त्यस्तै पर्वतको शिवालय, पातीचौर, दुर्लुङमा फोरजी सेवा सुरु हुनेछ ।

एक वर्षभित्र धौलागिरिका १ सय १२ ठाउँबाट फोरजी सञ्चालनमा ल्याउन गृहकार्य भइरहेको छ । आवश्यकताअनुसार अन्य थप ठाउँमा सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । आउँदो वर्षभित्र देशभर फोरजी सेवा पु¥याउने सरकारी लक्ष्य छ ।

पहिलो चरणमा फोरजी सुरु हुने १४ वटै बिटियस टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्यान्ड युनिट राख्ने काम भइरहेको छ टेलिकमले जनाएको छ । फोरजी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् ।

फोरजीलाई मोबाइल ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । ‘फोरजी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो,’ इन्जिनियर शर्माले भने । उनका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । यसका लागि ग्राहकले केही रकम बढी खर्चनुपर्छ ।

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियोसमेत हेर्ने सुविधा दिने बताइन्छ ।

‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पु¥याउन कठिन छ,’ शर्माले भने, ‘ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड चलाउन फोरजी उपयोगी छ ।’ फोरजी राउटरबाट कम्प्युटरलगायत अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८ सय मेगाहर्जमा फोरजी चल्ने हुँदा सिग्नल कभरेज पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्