२६ भाद्र २०८३, शुक्रबार

 

गाउँको पर्यटन विकासमा होमस्टेले जगाएको आशा

 

जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेका स्थानीयले घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न उनीहरू होमस्टे सञ्चालनमा जुटेका हुन् ।

धम्जा गाउँ पर्यटन विकासको आधार बन्नेमा स्थानीय विश्वस्त छन् । पर्यटकीय क्षेत्रले भरिपूर्ण उक्त क्षेत्रका स्थानीयलाई होमस्टे कार्यक्रमले गाउँको पर्यटनमा नयाँ आशा जगाएको छ । मगरहरूको बाहुल्य रहेको ओखले गाउँ कला, संस्कृतिका हिसाबले पनि धनी छ ।

प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान
गाउँलेले होमस्टेका लागि पूर्वाधार तयार पारिसकेका छन् । ‘बेलढुंगा सामुदायिक होमस्टे’ नामबाट सञ्चालित उक्त होमस्टेमा अहिले पूर्वाधार निर्माणलाई निरन्तरता दिइएको छ । होमस्टे सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले१० लाख रुपैयाँ अनुदान पनि दिएको छ ।

अनुदान रकम पूर्वाधार, क्षमता विकास र होमस्टे प्रवर्धनमा खर्च गरिएको ‘बेलढुंगा सामुदायिक होमस्टे’ सञ्चालन समिति अध्यक्ष टेकबहादुर पुनले बताए ।होमस्टे सञ्चालकले अनुभव र सिकाइका लागि तालिम लिनुका साथै आगामी दिन विभिन्न स्थानमा भ्रमणमा जाने योजनासमेत बनाएका छन् ।

पहिलो चरणमा चौध घरमा होमस्टे
पर्यटकलाई आकृष्ट गर्न खाना, आवास, सरसफाइ, आतिथ्यलगायत सेवा स्तरीय बनाइने भएको छ । ‘पर्यटनमैत्री हिसाबले कोठा, फर्निचर, शौचालय बनाउँदै छौँ,’ अध्यक्ष पुनले भने, ‘हामी केही दिनमै जतिसक्दो छिटो सेवा सुरु गर्नेछौं ।’ होमस्टेमा ओखलेका चौध घर जोडिएका छन् ।

प्रतिघर चार जना पर्यटक राख्न सकिने जनाइएको छ । स्थानीय उत्पादन, संस्कृति र खानपानसहितको सेवा होमस्टेमा उपलब्ध गराउने योजना गाउँलेको छ । पारिवारिक वातावरणमा खाना, आवाससँगै पर्यटकले नजिकका पर्यटकीय गन्तव्य घुम्ने अवसर पाउनेछन् ।

स्थानीय उत्पादनलाई होमस्टेसँग जोडिने
दुई जिल्लाको संगमस्थलका रूपमा समेत ओखले गाउँलाई चिनिन्छ । रैथाने संस्कृति, रहनसहन बुझ्न, हेर्न चाहने पर्यटकलाई पनि होमस्टेले आकर्षित गर्ने देखिन्छ । स्थानीय उत्पादनलाई होमस्टेसँग जोडिने होमस्टे (घरबास) सञ्चालक गोपाल श्रीसले बताए ।

‘ओखले र आसपासको गाउँलाई जैविक गाउँ घोषणा गर्ने तयारी छ,’ श्रीसले भने, ‘यहाँ आउने पर्यटकलाई स्थानीय खाना खुवाउँछौँ ।’ यहाँको मुख्य उत्पादन आलु, भाँगो, फापर, मकै र कोदो हो । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणमा पनि होमस्टेले टेवा पुग्ने विश्वास गरिएको छ । समुद्री सतहदेखि २३ सय मिटरको उचाइमा पर्ने ओखले प्राकृतिक हिसाबले पनि मनोरम छ ।

बसाइँसराइ रोक्न होमस्टे सञ्चालन
ओखलेदेखि आधा घण्टाको पैदल यात्रामा ‘बेलढुंगा’, स्वर्गाश्रमजस्ता पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । बेलढुंगा म्याग्दी र बागलुङको संगममा पर्छ । प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यु टावर) रूपमा चिनिने बेलढुंगाबाट दर्जनौँ हिमशृंखला देख्न सकिन्छ ।

बेलढुंगा त्यहाँको पर्यटनको मुख्य गन्तव्य हो । गाउँमा पर्यटन विकास गर्न सके बसाइँसराइ रोक्न सकिने वडाध्यक्ष यामबहादुर श्रीसको भनाइ छ । ‘पर्यटनलाई उद्यमशीलतासँग जोडौँ,’ उनले भने, ‘गाउँलेको आर्थिक अवस्था उकास्न यस क्षेत्रमा होमस्टे सञ्चालन गर्न लागिएको हो ।

आठ स्थानमा होमस्टे चलाइने
ओखलेसँगै काठेखोला गाउँपालिकाका आठ स्थानमा होमस्टे सञ्चालनका कार्यक्रम सुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित होमस्टे चलाउन गाउँले कस्सिएका हुन् । वडा नं. ७ रेसमा बौर, डोटा देउराली, मौरी झरना र रेस सामुदायिक गरी चार होमस्टे सञ्चालनमा ल्याइएका छन् ।

यस्तै वडा नं. ५ बिहुँ, माम्डाँडामा शिवधुरी, वडा नं. ८ लेखानीमा कादेश र वडा नं. ४ तंग्रामको फापरखेत, झुलेनीमा सामुदायिक होमस्टे कार्यक्रम सुरु भएका छन् । होमस्टेले गाउँको पर्यटन विकास र स्थानीय उत्पादन प्रवद्र्धनलाई टेवा पुग्नेमा गाउँपालिकाको विश्वास छ ।

काठेखोला गाउँपालिका–३ धम्जा ओखलेमा सञ्चालन भएको होमस्टे ।
धम्जामा रहेको पर्यटकीय क्षेत्र बेलढुंगामा रमाउँदै आन्तरिक पर्यटक ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung