१० कार्तिक २०८३, सोमबार

 

यसरी भएको थियो क्यालेन्डर वा पञ्चाङ्गको उत्पत्ति

इस्वी संवत् १५८२ अक्टोबर ५ तारिखमा सुतेका मानिसहरू भोलिपल्ट उठ्दा आफूलाई १५ तारिखमा पाए । अर्थात् त्यो दिनको क्यालेन्डरमा ई.सं. १५८२ अक्टोबर १५ तारिख भएको पाए । यो सुन्दा हामी सबैलाई अचम्म लाग्छ ।

तर पोप ग्रेगरी तेह्रौंले जुलियन क्यालेन्डरलाई परिमार्जन गरी सन् १५८२ मा लागू गरेको ग्रेगरियन क्यालेन्डर (जुन आज सर्वत्र चलिरहेको छ) ले यही व्यवस्था गरेको थियो । विक्रम संवत्अनुसारको क्यालेन्डरमा यो व्यवस्था भएको पाइँदैन न त चन्द्रमानका आधारमा निर्धारित क्यालेन्डरमा ।

मानिसहरू पशुपालन र कृषियुगमा प्रवेश गर्दा वर्षा कहिले सुरु हुने, विभिन्न किसिमका अन्नबालीको बीउबीजन कहिले लगाउने, बाली कहिले भित्र्याउने भन्ने जानकारी राख्न चाहन्थे । त्यस्तै विभिन्न चाडपर्व र व्रतका लागि पूर्णिमा, अमावस्या (औंसी) जस्ता तिथिमिति कहिले, कुन महिना र कुन बारमा पर्छ ?

भन्ने कुरा पनि जान्न चाहन्थे । हाम्रो जीवनचर्यामा पर्ने व्रतबन्ध, विवाह, जन्मदिन, साइत र लग्न आदि उत्सव तथा श्राद्धजस्ता संस्कारजन्य कार्यको मुहूर्त निकाल्नुपर्दा निश्चित बार, तिथिमिति, राशि, नक्षत्र, योग र करणको लेखाजोखा गर्नुपर्छ । यस्तो लेखाको जानकारी दिने ज्योतिर्गणितीय अभिलेखलाई पञ्चाङ्ग वा पात्रो भनिन्छ । प्राचीन समयमा विभिन्न स्थानमा विभिन्न आधारमा पञ्चाङ्ग निर्माण गर्ने गरियो ।

खास गरी महिनाको गणना चन्द्रमाको गति र वर्षको गणना सूर्यको गतिका आधारमा गर्ने गरिएको छ । यस प्रकार सूर्य, चन्द्रमा र ग्रहगण ताराका गतिका आधारमा समयको मापन गर्ने गरिएको छ । यो मापनलाई व्यक्त गर्ने एउटा सजिलो माध्यम बनेको छ, क्यालेन्डर अथवा पञ्चाङ्ग (पात्रो) । तर आज हामीले अपनाउने क्यालेन्डर वा पात्रो सबै एकनास छैनन् ।

जंगली अवस्थाबाट मानिसका रूपमा स्थापित हुँदै जाँदा सूर्यको प्रकाशका साथसाथै उज्यालोपनले आफ्नो साम्राज्य फैलाउँदै जाने र सूर्य अस्ताउँदै जाँदा सिर्जना हुने अन्धकारपूर्ण वातावरणले तत्कालीन मानव समुदायलाई पक्कै पनि अनौठोपन महसुस गराएको हुनुपर्छ ।

आज पनि कतिपय बालबालिकाले किन कहिले घाम लाग्छ र किन कुनै बेला रात पर्छ भन्ने प्रश्न गरेको हामी सुन्छौं । प्रारम्भमा सूर्यको प्रकाश रहँदाको अवधिलाई के नाम दिने ? सूर्यको प्रकाश हटेको समयलाई के भन्ने ? त्यो बेलाका मानिसका लागि यो कुरा सहज थिएन नै ।

साथै सूर्य पृथ्वीको पहुँचबाट टाढिँदा करिब चौध/पन्ध्र दिन चन्द्रमाको प्रकाशले उज्यालो महसुस गर्दाको अवधि र अँध्यारै रहने बाँकी करिब चौध/पन्ध्र दिनको अवधिलाई के नाम दिने होला भन्ने बारेमा ठूलो बहस भएको हुनुपर्छ । सूर्योदयदेखि सूर्यास्त हुने बेलासम्मको अवधिलाई दिन भन्ने गरियो र सूर्यास्तपछि ग्रहगण तारा र चन्द्रमाका कला देखिने सूर्योदयसम्मको अन्धकार वा जुनेली रातको अवधिलाई रातको नाम दिइयो ।

साथै मानिसले यो पनि महसुस गरे कि पृथ्वीमा फरकफरक मौसम सूर्यका कारण हुने गर्छ र एक पूर्ण चन्द्रदेखि अर्को पूर्ण चन्द्र अथवा एक पूर्ण अँधेरीे रातदेखि अर्को पूर्ण अँधेरी रातको अवधि पूरा हुँदा चन्द्रमाले एक चक्कर लगाउँछ । चन्द्रमाको यो चक्रलाई महिनाको नाम दिए भने सूर्यको कारणबाट घटित हुने चार मौसमको जोडलाई वर्षको नाम दिए ।

चिनियाँ युनानी सभ्यतामा ‘क्यालेन्डर्स’ को अर्थ ‘चिच्याउनु’ हुन्थ्यो । त्यतिखेर समुदाय वा समाजमा मनाइने कुनै चाडपर्व, महत्त्वपूर्ण अवसर वा सतर्कता विशेषबारे जानकारी दिनुपर्दा मुनादी ठटाएर बताइन्थ्यो, जसरी हाम्रा गाउँघरमा तत्कालीन कटुवालहरूले दमाहा वा ढोलक ठटाउँदै घोक हालेर बताउने गर्थे ।

यो एकादेशको कहानीजस्तो भइसकेको छ । यद्यपि नेपालका कुनै–कुनै गाउँठाउँमा यसको प्रयोग अद्यापि रहन सक्ने सम्भावना नकार्न नसकिएला । यसरी चिच्याउँदै र भट्याउँदै सूचना प्रवाह गर्नेवालालाई क्यालेन्डरबाट यो शब्दको उत्पत्ति भएको मानिन्छ ।

ल्याटिन भाषामा भने क्यालेन्डरको अर्थ हिसाबकिताब राख्ने दिन हुन्छ । यसरी दिन, सप्ताह, महिना र वर्षहरूको हिसाब–किताब राख्ने कार्यलाई क्यालेन्डर भन्ने गरियो । नेपालमा नेवारहरू चन्द्रवर्षका आधारमा कात्तिक महिनामा पर्ने आमै÷औंसीका दिन मनाइने लक्ष्मीपूजाका दिन अघिल्लो वर्षको कारोबारको हिसाब–किताब गरी सोही दिनको भोलिपल्ट पर्ने पारु÷प्रतिपदाका दिन म्हपूजा (शरीरपूजा) गर्ने र नयाँ कारोबारको खाता कायम गर्ने चलन थियो ।

परापूर्वकालमा क्यालेन्डर थिएन । मानिसहरू प्रकृतिसँगको सामीप्य र तादात्म्यबाट प्राप्त अनुभवका आधारमा काम गर्न बाध्य थिए । आकाशमा देखिने हरेक तारा, सूर्य, चन्द्रमा र ग्रहका आ–आफ्नै गति छन् जुन लाखौँ वर्षअघिदेखि चल्दै आएको छ । सूर्योदयदेखि सूर्यास्तको बेलासम्म र सूर्यास्तदेखि सूर्योदयको बेलासम्म सूर्य र चन्द्रमाको गति हरेक चन्द्रमास र सौरमासमा एकैनासले चल्छ ।

त्यसमा खासै तलमाथि हुँदैन । रातको समयमा चन्द्रमा सानो आकारबाट ठूलो हुँदै जाने र पूर्ण चन्द्राकारबाट सानो हुँदै जाने चक्रलाई चन्द्रकला पनि भनिन्छ । यसैकारण पृथ्वीमा गर्मी, वर्षा, हिउँद र वसन्त ऋतु सिर्जना हुन्छन् । यिनै ऋतुका आधारमा खेतीपाती लगाउने, बालीनाली काट्ने र भित्र्याउने तथा चाडपर्व मनाउने प्रचलन छ ।

सागर–महासागरहरूमा उठ्ने लहरको पछाडि पनि चन्द्रमाकै कलाकै भूमिका रहेको हुन्छ । यसै आधारबाट आज हामीले मान्दै आएको दिन, हप्ता, पक्ष, महिना, वर्ष, दशाब्दी, शताब्दी, सहस्राब्दी र युगको प्रचलन अगाडि बढेको हो । यो सबै आजभन्दा हजारौं वर्षपहिलेका खगोलशास्त्रीहरूको खोज, अनुसन्धान, अभ्यास र अथक प्रयासको परिणाम हो भन्दा अत्युक्ति नहोला ।

कतिपय ठाउँमा आ–आफ्नो सामाजिक जीवन, कृषि व्यवसाय, व्यापार व्यवसाय आदिका आधारमा आ–आफ्नो ढंगका पात्रो/क्यालेन्डर/पञ्चाङ्ग निर्माण हुँदै गए । पृथ्वीले आफ्नै अक्षमा सूर्यको परिक्रमा गर्छ । त्यसैले पृथ्वीको सबै भूभागमा एकैसाथ सूर्योदय हुँदैन र एकैसाथ जून लाग्दैन ।

पृथ्वीको पूर्वी खण्डमा सूर्यको प्रकाश पर्दा अर्को खण्डमा जून लागेको हुन्छ । यसै कारण आज विश्वका विभिन्न देशमा विभिन्न क्यालेन्डर वा पात्रो प्रचलनमा छन् । सबैका आ–आफ्नै ऐतिहासिक पृष्ठभूमि छन् । विश्वमा प्रचलित सबभन्दा पुरानो पात्रोमा यहुदीद्वारा रचित हिब्रुलाई मानिन्छ ।

यसको प्रारम्भ इसापूर्व ३५०० मा भएको मानिन्छ । त्यसो त आज इसापूर्वकालीन पात्रो समाप्त भई इस्वी सन् २०१९–२० मा आइपुग्दा हामीले प्रयोग गर्ने पञ्चाङ्गमा पृथ्वीको सृष्टिको पूर्वानुमानस्वरूप सृष्टितोगताब्द १९५५८८५१२० भनेर उल्लेख गरिएको पाइन्छ भने कलेर्गताब्द ५१२०, लुम्बिनी संवत् २५६३, विक्रम संवत् २०७६, शालिवाहनीयशक संवत् १९४१ र नेपाल संवत् ११३९–४० मा हामी टेकिरहेका छौँ ।

विश्वमा प्रचलित क्यालेन्डरको इतिहास केलाउँदा यसले करिब ५५०० वर्षको फेरो मारेको अनुमान छ । विश्वमा सबभन्दा पहिला इसापूर्व सातौं शताब्दीमा रोमका पुराना राजा न्युमा पोंपिलियसको समयमा क्यालेन्डरको प्रचलन अगाडि बढेको मानिन्छ ।

उक्त क्यालेन्डरमा केही कमीकमजोरी थिए (डा. हरिकृष्ण देवसरे, कैलेन्डर शब्दकी उत्पत्ति की रोचक जानकारी) । त्यस्तै जनवरी २९ २०१८ मा प्रकाशित हिन्दी ज्ञानबुकको एक लेख ‘कैलेन्डर का इतिहास और आविष्कार’ अनुसार नेपालका लिच्छविवंशका प्रथम राजा धर्मपाल भूमि बर्मा विक्रमादित्यले इसा मसिह को जन्मभन्दा ५७ वर्षअघि नै (इस्वी संवत् अथवा इसा मसिहको जन्मभन्दा ६१–६३ वर्ष पहिले नै) विक्रम संवत् प्रचलनमा ल्याएका थिए ।

तर गुजरातका कैयन् खोजकर्ता र भारतका कालगंगा शास्त्रीका अनुसार यो संवत् भारतका सम्राट विक्रमादित्यले प्रयोगमा ल्याएका थिए । विक्रम संवत्मा १२ महिनाको एक वर्ष हुन्छ । यो सूर्य र चन्द्रमाको गतिमा आधारित छ र यसलाई आज पनि नेपालको आधिकारिक र राष्ट्रिय संवत् मान्ने गरिएको छ ।

भारतको गुजरातमा पनि यो संवत् आजपर्यन्त अपनाउने गरिएको छ । गुजरातमा अपनाइने यो विक्रम संवत्मा आज पनि कात्तिकको पहिलो दिनलाई नववर्ष (नूतन वर्ष) को सुरुआती दिन मानिन्छ । (उही)

यसपछि रोमका प्रथम राजा रोमुलसले आफ्नो नाम जोडेर रोमन क्यालेन्डर प्रयोग गरे । यो क्यालेन्डर चन्द्रमानका आधारमा बनाइएको थियो । यसमा एक वर्षमा १० महिना हुन्थ्यो । हरेक महिनामा २९ देखि ३० दिन हुन्थ्यो । यसअनुसार एक वर्षमा ३ सय ४ दिन हुने गथ्र्यो ।

पछि इसापूर्व प्रथम शताब्दीका रोमन सम्राट जुलियस सिजरले इसापूर्वको क्यालेन्डरको समय अन्तिम चरणमा रहेको र यसमा रहेका कमी–कमजोरी सच्याउन पर्ने आवश्यकता औँल्याउँदै युनानी ज्योतिषी सोसी जिनिसको सहायता लिई संशोधित जुलियन क्यालेन्डर प्रचलनमा ल्याए ।

इसापूर्व ५७ मा परिमार्जन गरिएको यो क्यालेन्डरमा जुलियस सिजरले आफ्नो नामको लवज जोडिने गरी जुलाई नामको महिना थपी इसा मसिहको जन्मभन्दा ४६ वर्षअगाडि ई. पू. ४५ मा जुलियन क्यालेन्डर लागू गरे । पछि सम्राट अगस्टसले अगस्ट महिना थपी १२ महिनाको वर्ष कायम गरे । इसा मसिहको जन्मपूर्वको समयलाई बिसी इसापूर्व र इसा मसिहको जन्मपछिको क्यालेन्डरलाई ए. डी.  भनी नामकरण गरियो ।

इसापूर्व (बिसी)को गणना जन्मपूर्वको वर्षपछाडितर्फ बढाएर गणना गरिन्छ भने इस्वी संवत् (एडी) को गणना जन्मपछाडिको वर्ष बढाएर गरिन्छ । आज विश्वका अधिकांश देशमा यही संवत् प्रयोग हुँदै आएको छ ।

क्यालेन्डरमा निर्धारित बाह्र महिनाका पछाडि सौरमण्डलको गति बाह्र राशिसँग सम्बन्धित छ । सूर्य र चन्द्रमाको गतिलाई आधार मान्दा कुनै वर्षमा ३५३–३५४ दिन मात्र रहने र कुनैमा ३८५ दिनसम्म हुने गर्‍यो । त्यस्तै एक वर्षमा कहिले १२ महिना र कहिले १३ महिनासम्म हुने अवस्था पनि देखा परे ।

तर पछि एक वर्षमा चार मौसम हुने, हरेक मौसममा तीन/तीन महिनाका दरले हरेक वर्षमा बाह्र महिना रहने तथ्यमा सबैको सहमति भयो । आजकल यसै आधारमा वार्षिक पञ्चाङ्ग वा पात्रो निर्माण गर्दा १२/१२ महिनाको वार्षिक पात्रो (क्यालेन्डर) बनाउने चलन रहिआएको छ ।

यहाँसम्म आइपुग्दा मानिसलाई पृथ्वीले सूर्यको परिक्रमा गर्छ र पृथ्वीले सूर्यको एक चक्कर लगाउन एक वर्षमा ३६५ दिन र ६ घण्टा लगाउँछ भन्ने जानकारी प्राप्त भयो । तसर्थ हरेक चार वर्षमा एक वर्षमा ३६५ दिनको सट्टा ३६६ दिन हुन्छ र सो दिन महिनाहरूमा सबभन्दा छोटो महिना फेब्रुअरीमा १ दिन थपेर २९ को दिन मान्ने चलन रहेको हामी सबैलाई अवगत भएकै हो ।

क्यालेन्डर खगोल विज्ञानसँग सम्बन्धित छ । विज्ञानले प्रकृतिका रहस्यहरूलाई तीन–चार शाखामा विभाजन गर्दा खगोल विज्ञान एउटा हाँगाका रूपमा थियो । यसलाई आदिविज्ञान मानिन्छ (सुधीर जैन) । गणितको विकासमा खगोलीय विज्ञानको महत्त्वपूर्ण भूमिका मानिन्छ ।

समयको अन्तरालमा इस्वी संवत्मा देखापरेका कमी–कमजोरीलाई बेलाबखत संशोधन गर्दै लगिए पनि यसमा केही न केही कमीकमजोरी रहिरह्यो । इस्वी संवत् प्रारम्भ भएको आठौं शताब्दीमा विज्ञानसम्मत गतिविधिमा विश्वास गर्ने सन्त धर्माचार्य सेन्ट बिडले सबभन्दा पहिला पृथ्वीले सूर्यको परिक्रमा गर्ने समयलाई ठीक ३६५ दिन र ६ घण्टाको ठाउँमा ३६५ दिन ५ घण्टा ४८ मिनेट र केही सेकेन्ड लाग्ने कुरा बताए ।

यिनै बिडभन्दा पाँच सय वर्षपछिका अर्का वैज्ञानिक रोजर बेकनले एक वर्षको समयावधिमा ठीक ३६५ दिन ५ घण्टा ४८ मिनेट र ४५.५१ सेकेन्ड हुन्छ भनी जोडदार ठोकुवा गरे । यसरी इ.सं. १५८२ मा पोप ग्रेगरी १३औंले जुलियन क्यालेन्डरमा धेरै हदमा संशोधन गरे तथापि यो अंग्रेजी क्यालेन्डर आज पनि पूर्ण खोटरहित छैन ।

सन् १५८२ मा परिवर्धित ग्रेगोरियन क्यालेन्डर लागू गर्ने बेला अक्टोबर ५ तारिखमा सुतेका मानिसहरू भोलिपल्ट उठ्दा १५ अक्टोबर भइसकेको अनौठोपन महसुस गरेका थिए । अझै पनि यसमा केही समस्या विद्यमान छन् । भनिन्छ, यो क्यालेन्डरको गणनाअनुसार हरेक ३४८० वर्षपछि एक दिन कम रहेको हुनेछ ।

त्यस्तै सुधीर जैनका अनुसार पोप ग्रेगोरी १३औंले परिमार्जित क्यालेन्डरमा देखा परेको ११ मिनेटको वार्षिक अन्तरलाई सुधारे पनि हरेक वर्ष फरक पर्ने गरेको २६ सेकेन्डको भिन्नतालाई नजरअन्दाज गर्दा सन् २०१७ सम्मका ४३५ वर्षमा ३ घन्टाको फरक पर्न गएको छ ।

यो भिन्नताका कारण सन् ५०६२ मा पुग्दा पूरा एक दिनको अन्तर परिसकेको हुनेछ । कुनै पनि वैज्ञानिकले यो अन्तरलाई के, कसरी, कहाँ अन्तर्घुलन गर्न सकिन्छ, निकास पहिल्याउन सकेको छैन । तर चन्द्रमासलाई अनुसरण गरेको नेपाल संवत्मा यस किसिमको समस्या देखिँदैन । सन् ६२२ मा स्थान, धर्म र शासनका आधारमा प्रयुक्त क्यालेन्डरको इतिहासमा एउटा नयाँ इतिहास थपियो, इस्लामिक क्यालेन्डरका नामबाट ।

नेपालमा प्रचलित विक्रम संवत् मेषादि राशिबाट सुरु हुने सूर्यमान (सूर्यवर्ष) मा आधारित छ भने नेपाल राष्ट्रिय संवत् तिथिअनुसार शुक्लपक्ष र कृष्णपक्षमा विभक्त चन्द्रमान (चन्द्रवर्ष) मा आधारित छ । चन्द्रमाले पृथ्वीलाई एक चक्कर लगाउँदा २९ दिन र आधा दिन लाग्छ ।

यसअनुसार चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा एक वर्षमा ३५४ दिन हुने गर्छ । फलतः हरेक ३ वर्षमा अधिक मास अथवा पुरुषोत्तम मास (जसलाई नेवारी/नेपालभाषामा अनला भनिन्छ) पर्न जाने हुँदा हरेक तेस्रो वर्षमा १३ महिनाको वर्ष हुने गर्छ । आगामी ने. सं. ११४० मा पनि यस्तै १३ महिनाको वर्ष पर्न गएको छ ।

नेपाल संवत्को प्रादुर्भावबारे किंवदन्ती
११३९ वर्षपहिले भक्तपुरका राजा आनन्ददेवलाई उनका तान्त्रिक सिद्धिवन्तले उपयुक्त समय योग मिलाएर होम गर्नाले बालुवालाई सुनमा परिणत गर्न सकिने कुरा सुझाए । यो सुनेपछि राजाले ५÷६ कामदार किसानलाई बोलाई पूर्णिमाको मध्यरातमा भद्रमती (बल्खुखोला) र विष्णुमती नदीको दोभान लंखु तीर्थबाट सुवर्ण आकर्षण योग परेका बेला गुप्त रूपमा बालुवा निकाल्न अह्राए ।

राजाको आदेशअनुसार बालुवा भरेर भक्तपुर फर्कंदै गरेका भक्तग्रामवासी किसानलाई बीच बाटोमा देखेपछि इलाछेँ टोल, कान्तिपुरनिवासी व्यापारी शंखधर साख्वाःलाई जिज्ञासा भयो । उनले ती किसानलाई राजाले भन्दा बढी पैसा दिई शुभमुहूर्तमा निकालिएको बालुवा आफ्नो घरको छिँडीमा खन्याउन लगाए ।

किसानहरू पुनः नदीमा गई बालुवा निकाले र पछाडि निकालिएको बालुवा दरबारमा लगी खन्याए । राजदरबारमा खन्याइएको बालुवा तान्त्रिक सिद्धिवन्तले भनेजस्तो सुनमा परिवर्तन भएन । तर शंखधरको घरमा खन्याइएको बालुवा सुनमा परिणत भयो । उता राजा आनन्ददेव हैरान थिए– आफ्ना तान्त्रिकले भनेअनुसार बालुवा सुनमा परिवर्तन नहुँदा । यता शंखधर हैरान थिए– घरमा ल्याएको बालुवा सुनमा परिणत भएको पाउँदा ।

सोच्दै नसोचेको त्यति धेरै सुन पाउँदा शंखधरले आत्तिएर कान्तिपुरका राजा राघवदेवलाई जाहेर गरे । राघवदेवले उक्त सुन भक्तपुरको नासो भएको भन्दै राजा आनन्ददेवलाई खबर पठाए ।

आनन्ददेवले त्यो सुन आफ्नो राज्यको भाग्यमा अथवा भोगमा नभएको ठानी लिन अस्वीकार गरे । यसपछि शंखधर साख्वाःको इच्छाबमोजिम नेपाल खाल्डोमा रहेका सम्पूर्ण ऋणीहरूको ऋण तिरेर ऋणीविहीन राज्य बनाउने प्रस्ताव गरे ।

नेपाल संवत्को प्रारम्भ
नेपाल देशको इतिहास नामक वंशावलीअनुसार शंख नामक साख्वाः ज्यापूले कलिर्गताब्द ३९८१, मानदेव संवत् ४९८ र शक संवत् ८०२ मा आफ्ना राजा (राघवदेव) बाट स्वीकृति लिई नेपाल संवत् १ कायम गरे । राजा राघवदेव मानदेव चौथोका छोरा थिए जसले आफ्नो राज्यकालमा श्री पशुपति भट्टारक संवत्सर चलाए भन्ने व्यहोरा उक्त वंशावलीमा उल्लेख छ ।

ने. सं. ५२४ मा ललितपुर, सुनधारामा धर्म मल्लको शिलालेखमा कलिर्गत संवत् ४५०५, श्री विक्रमराज संवत् १४६७ (१४६१), श्री शकराज संवत् १३२६, श्रीमन्त नेपालिके संवत् ५२४ भनी लेखिएको छ ।

यसबाट नेपाली माटोमा जन्मिएको यो संवत् विक्रम संवत् ९३६ कार्तिकशुक्ल प्रतिपदा, ईश्वी संवत् ८७९ अक्टोबर २० मा प्रचलनमा आएको प्रमाणित हुन आउँछ । यस प्रकार नेपाल संवत् कलिर्गताब्दभन्दा ३९८१ वर्ष कान्छो, शक संवत्भन्दा ८०१ वर्ष, विक्रम संवत्भन्दा ९३६/९३७ वर्ष र इस्वी संवत्भन्दा ८७९/८८० वर्षले कान्छो देखिन्छ ।

यो संवत्को नववर्षारम्भ म्हपूजाको दिनमा हुन्छ । त्यसैले नेपाल संवत्मा कार्तिकशुक्ल प्रतिपदादेखि चैत मसान्तसम्मको तिथिमा ९३६ वर्ष जोड्दा विक्रम संवत् निस्कन्छ । वैशाख १ देखि कार्तिककृष्ण अमावस्याको दिनसम्म भने ९३७ वर्ष जोड्नुपर्ने हुन्छ ।

त्यस्तै नेपाल संवत्मा कार्तिकशुक्ल प्रतिपदा (अक्टोबर/नभेम्बर) देखि सोही वर्षको पुस महिनाको आधाआधी (डिसेम्बरको अन्त्य) सम्ममा ८७९ वर्ष जोड्दा इस्वी संवत् निस्कन्छ भने पुसको आधाआधी (जनवरी १ तारिख) देखि अर्को वर्षको कार्तिककृष्ण अमावस्याको दिन (अक्टोबर/नोभेम्बर महिना) सम्ममा ८८० वर्ष जोड्नुपर्ने हुन्छ ।

नेपालमा प्रयुक्त संवत्हरूको इतिहास केलाउँदा गौतम बुद्धको जन्मताका न विक्रम संवत् प्रचलनमा थियो न इस्वी र नेपाल संवत् । हामी आज पनि बुद्धजयन्ती मनाउने गर्छौं ।

यो जयन्ती २५०० वर्षदेखि नै तिथिका आधारमा मनाइँदै आइएको छ । तिहार, दसैं, तीज, फागु, रामनवमी आदि पर्व पनि तिथि (चन्द्रमाको गति) का आधारमै मनाइन्छ । नेपाल संवत् जुन नेपालको माटोमा जन्मिएको जनस्तरबाट प्रतिपादित संवत् हो, तिथिलाई नै मुख्य आधार मानेर प्रचलनमा छ ।

नेपाल संवत्लाई मध्यकालका लिच्छवि तथा मल्लराजाहरूले खुसीपूर्वक राजकीय सम्मानसाथ चलाउँदै आए । तर पृथ्वीनारायण शाहले मल्लराजाहरूले ८८० वर्षसम्म खुसीसाथ मनाउँदै आएको ऐतिहासिक महत्व बोकेको यो संवत्लाई लत्याउँदै भारतले समेत महत्त्व दिन छोडेको विक्रम संवत्लाई प्रचलनमा ल्याए ।

तर विक्रम संवत्ले स्थायित्व पाउन नसकेपछि शक संवत् र नेपाल संवत्लाई नै प्रयोगमा ल्याए ।म्हपूजाले नेवार समाजमा विशेष महत्त्व राख्ने भएकाले अप्रत्याशित रूपमा प्राप्त धनमाथि लालसा नराख्ने शंखधर साख्वाःको सम्मानमा यो ऐतिहासिक घटनाको सम्झना रहिरहने गरी कान्तिपुर र भक्तपुरका राजा मिलेर एउटा नयाँ युगको उदय भएको सन्देश दिने उद्देश्यसाथ यसै दिनदेखि नयाँ साख्वाः संवत् सुरु गरे जुन पछि नेपाल संवत्का नामले प्रसिद्ध हुन पुग्यो ।

चन्द्रमाको कला भनेको चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा र पृथ्वीले सूर्यको परिक्रमा गर्दा उत्पन्न हुने चन्द्रोदयको अवस्था हो । यी तीन ग्रह, उपग्रह र तारा एकअर्काको आमनेसामने हुँदा र टाढा रहन जाँदा पृथ्वीबाट देखिने चन्द्रमाको बढ्दो प्रकाशमय आकार अथवा पूर्ण प्रकाशमय बन्ने पन्ध्र दिनको अवधिलाई विक्रम संवत्मा शुक्लपक्ष भनिन्छ भने नेपाल संवत्मा प्रयोग हुने नेपाल वा नेवारी भाषामा ‘थ्व’ भनिन्छ ।

त्यस्तै चन्द्रमाको घट्दो आकारलाई दर्साउन विक्रम संवत्मा कृष्णपक्ष भनिन्छ भने नेपाल संवत्मा प्रयोग हुने नेपाल वा नेवारी भाषामा ‘गा’ शब्द प्रयोग गरिएको हुन्छ । शुक्लपक्षको पहिलो दिनदेखि कृष्णपक्षको अन्तिम दिन अर्थात् अमावस्यासम्ममा १४–१५/१४–१५ दिनका यी दुई पक्षमा चन्द्रमाले पृथ्वीको एक चक्कर पूरा गर्छ । यसैलाई एक मास मानिन्छ । नेवार/नेपाल भाषामा महिनालाई ‘ला’ भनिन्छ ।

त्यसैले नेवार/नेपाल भाषाका महिनाका नामका पछाडि ‘ला’ प्रयोग भएको पाइन्छ । हाम्रो दैनिक व्यवहारमा पर्ने विवाह, व्रतबन्ध, जन्मदिन, श्राद्धकर्म आदि कर्मकाण्ड मूलतः चन्द्रमाको गतिअनुसार चन्द्रवर्षमा आधारित पञ्चाङ्गअनुसार नै निर्धारण हुने गर्छ । नेपाल संवत् यही पञ्चाङ्गअनुसार प्रयोग हुँदै आएको छ । नेपाल संवत्मा प्रयोग हुने महिनाका नाम र तिनको महत्त्वबारे केही प्रकाश पार्नु सान्दर्भिक ठान्छु ।

 

क) कछला (कात्तिक/मंसिर) ः यसलाई करुणामय महिना मानिन्छ । यो महिनाले कात्तिक शुक्लपक्षको पारु÷प्रतिपदादेखि मंसिर कृष्णपक्षको आमै/अमावस्याका दिनहरूसम्मको अवधिलाई संकेत गर्छ । परापूर्वकालदेखि नै कार्तिकशुक्ल प्रतिपदाको रातमा सबै नेवारको घरघरमा परिवारका सबै सदस्यलाई जमघट गराई अष्टमण्डप बनाएर प्रत्येक मण्डपका साथै सबै सदस्यको म्हपूजा अथवा शरीरपूजा गरी देहशुद्धि गरिन्छ ।

यस अवसरमा हरेक व्यक्तिलाई रातभरि तोरीको तेलमा डुबाइएको करिब १२/१२ इन्च लामो आठवटा बाती (खेलुइता) बाली देवतालाई जस्तै पूजा गर्ने चलन छ जुन सम्भवतः अरू जातिमा छैन ।

यो पर्वले हरेक व्यक्तिमा बचपनदेखि नै ‘म को हूँ, म के हूँ, म यहाँ किन छु’ भन्ने तथ्यबोध गराउँछ । हाम्रा राष्ट्रिय विभूति शंखधर साख्वाःले यसै दिनलाई महत्त्वपूर्ण ठानी नेपाल संवत् आरम्भ गरेका हुन् । त्यसैले यो दिनको सूर्योदयलाई चुम्दै न्हूदँ नेपाल संवत्को पहिलो दिन मनाइन्छ ।

ख) थिंला (मंसिर/पुस) ः आकाश (सर्ग) खुला भई सबै ग्रहगण र ताराहरू देखिने महिनाका रूपमा यसलाई लिइन्छ । यो महिना मंसिर शुक्लपक्षको पारु÷प्रतिपदादेखि पुस कृष्णपक्षको आमै/अमावस्यासम्म हो ।

ग) पोंहेला (पुस/माघ) ः पुस शुक्लपक्षको पारु÷प्रतिपदादेखि माघ कृष्णपक्षको आमै÷अमावस्याका दिनसम्मको अवधिलाई पोंहेला भनिन्छ । नेपाल/नेवार भाषाको ‘पों’ शब्दको नेपाली अर्थ असिना वा हिउँ भन्ने हुन्छ । त्यसैले यसलाई जाडो महिनाका रूपमा पनि बुझिन्छ ।

घ) सिल्ला (माघ/फागुन) ः माघ शुक्लपक्षको पारु/प्रतिपदादेखि फागुन कृष्णपक्षको आमै/अमावस्याका दिनसम्मको अवधि हो सिल्ला । पहिला–पहिलाका मानिसलाई बिफरजस्ता घातक रोगले सताउने गथ्र्यो । यस्तो बेलामा यो रोगबाट मुक्ति पाउन मानिस यसै समयमा शीतला माईको पूजा गर्थे ।

यही शीतला माईको नाम अपभ्रंश भई सिल्ला हुन गएको भनाइ छ । साथै यो महिनामा श्रीपञ्चमी पर्ने भएकाले विद्याकी देवी सरस्वतीको पनि पूजा गरिन्छ । यिनै दुई अर्थबाट यो महिनाको नाम सिल्ला भएको हुन सक्ने मानिन्छ ।

ङ) चिल्ला (फागुन/चैत) ः फागुन शुक्लपक्षको पारु÷प्रतिपदादेखि चैत कृष्णपक्षको आमै÷अमावस्यासम्मको अवधिलाई चिल्ला भनिन्छ । यो महिनामा चिर स्वाय्गु (चिर ठड्याउने) गरिन्छ । त्यसैले यो महिनालाई चिल्ला भनिएको भनाइ छ । वसन्त ऋतुको आगमन भई फागुपूर्णिमा पनि यसै महिनामा मनाइन्छ ।

च) चौला (चैत/वैशाख) ः चैत शुक्लपक्षको पारु/प्रतिपदादेखि वैशाखकृष्णपक्षको आमै/अमावस्यासम्मको अवधि हो चौला । यो महिनामा माँया ख्वा स्वयेगु (मातृदिवस/आमाको मुख हेर्ने दिन) पर्छ । नेवारहरू यो पर्वमा आमालाई मीठामीठा खानेकुरा र सगुनपानी दिई यो दिनलाई सम्झनायोग्य बनाउँछन् भने आमा नहुनेहरू श्राद्धकर्म गरेर सम्झन्छन् ।

छ) बछला (वैशाख/जेठ) ः बछलाले वैशाखशुक्लपक्षको पारु÷प्रतिपदादेखि ज्येष्ठ कृष्णपक्षको आमै/अमावस्याका दिनसम्मको अवधिलाई बुझाउँछ । यो महिनामा अक्षय तृतीया र बुद्धजयन्ती पर्छन् । शान्तिका दूत गौतम बुद्धको जन्म यसै महिना भएको थियो । बुद्ध संवत्को प्रथम महिना यसैमा पर्ने बुद्धपूर्णिमादेखि शुरु हुन्छ । यो दिनमा चण्डेश्वरी माईको पूजा हुन्छ । धेरैजसो जातिका मानिस यसै महिनामा कुलपूजा गर्छन् ।

ज) तछला (जेठ/असार) ः यो महिनाले जेठ शुक्लपक्षको पारु÷प्रतिपदादेखि असार कृष्णपक्षको आमै/अमावस्याका दिनसम्मलाई संकेत गर्छ । यो महिनामा कुमार षष्ठी सिथिनख पर्छ । नेवार समाजमा कुलपूजा गर्न छुट भएकाहरूले यही सिथि नखको दिनमा पूजा गर्छन् । कृषकहरू धानखेतीका लागि धानको बीउ लगाउने, बियाड तयार पार्ने र बीउ छर्ने वा लगाउने गर्छन् ।

झ) दिल्ला (असार/साउन) ः असार शुक्लपक्षको पारु/प्रतिपदादेखि साउन कृष्णपक्षको आमै/अमावस्यासम्मलाई दिल्ला भनिन्छ । यो महिनाको खास नाम देल्ला हो ।

नेवार/नेपाल भाषाको ‘देय्’ शब्दको नेपाली अर्थ देश भन्ने हुन्छ । यो महिनामा देशभरिका जनता देशभरका जग्गा–जमिनमा रोपाइँ गर्छन् । यसले समुच्च राष्ट्रलाई आर्थिक रूपबाट आत्मनिर्भर बनाउन सघाउँछ । त्यसैले यो महिनाको नाम देश जोडेर राखिएको विश्वास गरिन्छ । यो महिनाको अन्त्यतिर गथामगः चह्रे घण्टाकर्ण चतुर्दशी पनि पर्छ ।

ञ) गुँला (साउन/भदौ) ः गुँलाले साउन शुक्लपक्षको पारु/प्रतिपदादेखि भदौ कृष्णपक्षको आमै/अमावस्यासम्मलाई जनाउँछ । नेवार/नेपाल भाषाको गुँ शब्दले नेपाली भाषामा ‘वन’ वा ‘सुनसान ठाउँ’ लाई बुझाउँछ । यो महिना गुँला धर्मको सुरुवात हुन्छ । यो महिनामा नागपञ्चमी पर्छ र नागको पूजा गरिन्छ ।

यसका साथै यो महिनामा गुँपुन्हि (क्वातिपुन्हि), रक्षाबन्धन (जनैपूर्णिमा), कृष्णाष्टमी, बौया ख्वाः स्वयेगु (पितृदिवस/बुबाको मुख हेर्ने दिन) लगायत पर्वहरू लाम लागेर आउँछन् । सापारुदेखि कृष्णाष्टमीका दिनसम्म नेवारहरू विभिन्न झाँकी र नाच प्रदर्शन गर्छन् । मनोरञ्जनका अन्य साधन नभएको अवस्थामा पनि खेतीपातीबाट थकित मनलाई आ–आफ्ना परम्पराअनुसारका लोकसंस्कृति प्रदर्शन गरी मनोरञ्जन दिने प्रयास गर्छन् । तर विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको प्रगतिका साथ यो परम्परा धेरै मात्रामा घट्दो छ ।

ट) ञला (भदौ/असोज) ः भदौ शुक्लपक्षको पारु÷प्रतिपदादेखि असोज कृष्णपक्षको आमै/अमावस्याका दिनसम्मलाई ञला भनिन्छ । यो महिनामा ञासी थनिगु अथवा लिंगो ठड्याउने काम हुन्छ ।

ञले इन्द्रको चिह्न भन्ने बुझाउँछ । यो महिनामा इन्द्र देवता जागा रहन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले यो महिनाको अन्त्यमा इन्द्रजात्रा गर्ने चलन छ । यो महिनाको कृष्णपक्षमा आ–आफ्ना पितृको तिथिअनुसार श्रद्धापूर्वक श्राद्धकर्म सम्पन्न गरिन्छ ।

ठ) कौला (असोज/कार्तिक) ः नेवार/नेपाल भाषामा ‘कौला’ शब्दले नास्ता, खाजा, खाना, भोज आदि अर्थ दिन्छ । यो महिनाले असोज शुक्लपक्षको पारु÷प्रतिपदादेखि कार्तिक कृष्णपक्षको आमै/अमावस्यासम्मलाई समेट्छ । यस महिनामा घटस्थापना (नलास्वने अर्थात् जमरा राख्ने), कुच्छि भ्वय्, स्याक्वः त्याक्वः, मोनी नखः अर्थात् महाष्टमी, महानवमी, विजयादशमी (बडादसैं) लगायत पर्व पर्छन् ।

आश्विन शुक्लपक्षमा पर्ने महाष्टमीका दिन नेवार परिवारका सबै सदस्य अनिवार्य रूपमा कुच्छिभ्वय्मा सरिक हुनैपर्ने प्रचलन छ ।

ड) अनला ः यो हरेक ३/३ वर्षमा पर्न आउने अधिकमास वा पुरुषोत्तम मास हो । यो महिना कार्तिक शुक्लपक्षको पारु/प्रतिपदादेखि कार्तिक कृष्णपक्षको आमै/अमावस्यासम्मका कुनै पनि महिनामा पर्न सक्छ । यसका कारण वर्षको अवधि १२ महिनाका ठाउँमा १३ महिनासम्म पर्ने गर्छ ।

सन्दर्भ–स्रोत
– डा. हरिकृष्ण देवसरे, ‘कैलेन्डर’ शब्दकी उत्पत्तिकी रोचक जानकारी  (वेब दुनियाँ)
– सुधीर जैन, वरिष्ठ पत्रकार र अपराधशास्त्री, ‘कैलेन्डरका भी है अपना भरा पूरा इतिहास’, (एनडिटिभी २०१७ डिसेम्बर १७)
– राजकुमार माली, विश्वके प्रमुख कैलेंडर एवं उनका इतिहास, दिसेम्बर २८, २०१६, गजब खबर
– ‘कैलेन्डरका इतिहास और आविष्कार’, हिन्दी ज्ञानबुक, जनवरी २९, २०१८ (अनलाइन)
– नेपाल संवत् (विकिपिडिया)
– डा. केशवमान शाक्यसँग भएको वार्ताबाट प्राप्त जानकारीका आधारमा –२०७० सालमा

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung