२ जेष्ठ २०८१, बुधबार

 

गलकोटमा फोरजी सेवा

नेपाल टेलिकमले गलकोट नगरपालिका–२ थानास्थित नमस्ते मोबाइल टावरबाट चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

ग्रामीण जनतालाई सर्वसुलभ रूपमा मोबाइल डाटा इन्टरनेट सुविधा उपलब्ध गराउन फोरजी चलाइएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए । फोरजी सञ्चालनपछि ग्रामीण क्षेत्रका नमस्ते मोबाइल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधिको मोबाइल डाटामार्फत इन्टरनेट चलाउन सक्नेछन् ।

हटिया बजार, हरिचौर बजार, मल्म, दुदिलाभाटी, काँडेबास, पाण्डवखानी, ताराखोला, बडिगाड, ढोरपाटन, निसी र तमानखोला गाउँपालिकामा पनि विस्तार गर्ने तयारी भइरहेको शर्माले बताए । फोरजीलाई मोबाइल ब्रोडब्यान्ड ( उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । फोरजी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो । इन्जिनियर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ ।

गुणस्तरयुक्त फोरजी सेवा अलिकति महँगो हुन्छ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो हेर्ने सुविधासमेत दिने बताइएको छ । फोरजी सेवाले डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इन्जिनियर शर्माको भनाइ छ ।

‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पु¥याउन कठिन छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड (ताररहित) इन्टरनेट चलाउन फोरजी उपयोगी छ ।’ फोरजी राउटरबाट कम्प्युटरलगायत अन्य उपकरणमा पनि इन्टरनेट चलाउन सकिन्छ । ग्रामीण भेगमा ८ सय मेगाहर्जमा फोरजी चल्ने हुँदा सिग्नल कभरेज पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्