४ जेष्ठ २०८१, शुक्रबार

 

मंसिर ४ देखि गलकोट महोत्सव

 

जिल्लाको ऐतिहासिक तथा पर्यटकीय स्थल गलकोटमा आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव’ गरिने भएको छ । गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले गलकोट घुम्टे पर्यटन विकास केन्द्रले गर्न लागेको महोत्सव आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म चल्नेछ ।

गलकोट क्षेत्रको मौलिकता झल्काउने सामग्री, कला, संस्कृति, खेलकुद एवं कृषि–उपजको प्रदर्शनीसहित १३ वर्षपछि दोस्रो महोत्सव गर्न लागिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले बताए ।

उनका अनुसार गलकोटका पर्यटकीय स्थल र कलासंस्कृतिलाई व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य लक्ष्य छ । सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष सन् २०१९ र नेपाल भ्रमणवर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्‍याउने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए ।

महोत्सवमा गलकोट क्षेत्रका पर्यटकीय स्थल घुम्टे धुरी, गलकोट दरबार, गाईघाट झरना, गुफा, उदय रिघा बुद्ध–बिहार, टेउवा, हटिया सहस्रधारा, पाण्डवखानी, निलुवा, मल्म राम्चे ढुङ्गा, नाच्ने डाँडाको विशेष प्रचारप्रसार गरिने केन्द्रका सचिव शेरबहादुर थापाले जानकारी दिए ।

गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी, मारुनी नाच, लाखे नाच तथा भजनकीर्तनलाई विशेष प्रस्तुतिका रूपमा राखिने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । महोत्सवको ‘टाइटल स्पोन्सर’ प्रभु ग्रुपले गरेको सचिवालय सदस्य मिलन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्