४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङ भैरवस्थानकाे पर्यटकीय विकासमा जाेड

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बागलुङको भैरवस्थान मन्दिरको पर्यटकीय विकास लागि सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल भ्रमणर्ष २०२० लाई लक्ष्यित गरी मन्दिर प्रांगणमा सोमबार आायोजित कार्यक्रममा उनले अहिले सरकारले ५० लाख छुट्ट्याएकोमा गुरुयोजना बनाएर काम अघि बढाउन आग्रह गरे । ‘आफ्नो ठाउँको विकास आफैंले नगरीकन हुँदैन,’ उनले भने, ‘यसका लागि सबै जना लाग्नुपर्छ ।’

बागलुङ नगरका मेयर जनकराज पौडेलले भैरवस्थानलाई पर्यटनको केन्द्र बनाउन नगरपालिकाका तर्फबाट सहयोग गरिरहेको बताए । सबै एकजुट भएर अघि बढ्न सके छिटो विकास हुने उनको भनाइ छ । सरकारले यो स्थानलाई उत्कृष्ट १०० पर्यटकीय गन्तव्यको सूचीमा पारेको छ ।

प्रजिअ लुकबहादुर क्षेत्री, बागलुङ–१३ का वडाध्यक्ष नारायण पौडेल, जिल्ला पर्यटन केन्द्रका अध्यक्ष राजु खड्कालगायत वक्ताहरूले पर्यटक भित्र्याउन स्थानीय स्तरमै काम गर्नुपर्ने धारणा राखेका थिए ।

१७८१ सालमा स्थापित कालभैरव मन्दिरको अहिले योजनाबद्ध ढंगले विकास अघि बढाइएको छ । यहाँ प्रत्येक मंगलबार र शनिबार पूजा गर्न सयौं भक्तजन आउँछन् । मनोरम गन्तव्य भएकाले आन्तरिक तथा बाह्य पर्यटक पनि निकै आउँछन् ।

प्रतिक्रिया दिनुहोस्