४ जेष्ठ २०८१, शुक्रबार

 

राष्ट्रियता संकटमा छ : पूर्वउपप्रधानमन्त्री केसी

पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतले सीमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको सम्भवत पहिलो पटक भएको बताएका छन ।

बागलुङको गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको बुधबार उदघाट्न गदै केसीले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक, राजनैतिक दल, पत्रकार, र आम नागरिक एकैठाउँमा भएको बताए ।

उनले राष्ट्रियताको पक्षमा सबै नागरिक एक जुट हुन आग्रह गरे । केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताए । ‘हामी यहाँबाट मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गर्रौँ’, केसीले भने, ‘युवाहरु यहाँ उत्पादन भएका बस्तुलाई विदेशमा पठाउने काम गर, यहाँ उत्पादनमा लागौँ ।’

उनले विगतमा देशमा राजनिति स्थिरता नहुँदा विकास हुन नसकेको हुँदा, अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भावी पुस्तालाई देश जस्ताकोतस्तै सुम्पन अहिलेका पुस्ताको दायित्व भएको बताए ।

उनले गलकोट क्षेत्रको विकासका निम्ती देश विदेशमा रहेका सवै नागरिकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नका निम्ती आग्रह गरे ।

कार्यक्रममा पूर्व वनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गलकोट क्षेत्र पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेको हुँदा यहाँको विकासका निम्ती सवै राजनितिक दलहरु एकै ठाउँमा हुनुपर्ने बताए ।उनले शहिद थिरबम मल्लको गाउँको विकासका निम्ती नेपाली काँग्रेसले सधै सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा संघीय सांसद ज्ञानकुमारी छन्त्याल, गण्डकी प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा सागर, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, काँग्रेस सभापति दिपेन्द्र बहादुर थापा, राजमोका जिल्ला उपाध्यक्ष वेदीलाल सापकोटा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, बागलुङ पर्यटन विकास समितिका महासचिव अर्जुन चोखाल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जुशर्मा चालिसे लगायतले बोलेका थिए ।

महोत्सवको उद्देश्यको बारेमा घुम्टे पर्यटन विकास केन्द्रका संस्थापक तथा सल्लाहकार यमबहादुर श्रीषले बताएका थिए । महोत्सव आगामी मंसिर ११ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्