बागलुङ महोत्सव–२०७६ का अवसरमा जिल्लामा लगानीका सम्भावनामाथि पनि बहस हुने भएको छ । यसका लागि महोत्सवको अघिल्लो दिन लगानी गोष्ठी गरिँदै छ ।
गोष्ठीमा बागलुङमा व्यावसायिक लगानीका सम्भावना र चुनौतीबारे बहस हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी नयाँ विश्वलाई बताए । गोष्ठी बिएसआर मुभिजको हलमा हुने संघका महासचिव नरेश कँडेलले जानकारी दिए ।
संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेसनको अध्यक्ष शेखर गोल्छा, महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नागरिक सञ्चार प्रालिका अध्यक्ष तथा नेपाल पस्मिना उद्योगका प्रमुख कार्यकारी अधिकृत पुष्पमान श्रेष्ठ, महाबौद्ध ट्रेड सेन्टर काठमाडौंका सञ्चालक आनन्दप्रकाश राजभण्डारीलगायत उद्योगी–व्यवसायी, बैंकर, जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहनेछ ।
बागलुङ र समग्र धौलागिरि क्षेत्रको आर्थिक बजारलाई चलायमान् बनाउन, व्यापारको दायरा फराकिलो पार्न, राष्ट्रिय पुँजीपतिमार्फत ठूलो लगानी भित्र्याउन, स्थानीय उत्पादनलाई बजारीकरण गर्न र पर्यटकीय स्थलमा पर्यटकको पहुँच बनाउन लगानी गोष्ठी राखिएको महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले जानकारी दिए ।
‘यसमार्फत लगानीका सम्भावना उजागर गर्दै नयाँ रोजगारी सिर्जना गर्ने र बागलुङलाई व्यावसायिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य छ,’ उनले भने ।
गोष्ठीलाई प्रभावकारी बनाउन काठमाडौंबाट प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समन्वय गर्ने संघका निर्वतमान अध्यक्ष जयराम भारीले जानकारी दिए ।
लगानी गोष्ठीको नारा ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ छ । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा महोत्सव आगामी पुस ११ देखि बागलुङ बजारमा हुँदै छ ।













































































































































































































