३ श्रावण २०८३, आईतवार

 

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ– उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न प्रतिबद्धतासाथ लागेकाे  बताएका छन् ।

सामाजिक सुरक्षा दिवस, २०७६ का अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘सामाजिक सुरक्षा प्रणाली लागू गर्ने क्रममा केही व्यावहारिक कठिनाइ देखिए पनि तिनको सम्बोधन गर्दै अघि बढ्नुपर्छ ।’

आइएमई समूहका अध्यक्ष ढकालले श्रमजीवी वर्गको सुरक्षा र सुनिश्चित भविष्यका लागि प्रारम्भ भएको सामाजिक सुरक्षा योजनाबारे व्यापक जानकारीसहित यसको प्रभावकारी कार्यान्वयनमा  उद्योगी–व्यवसायी लागिपरेको स्पष्ट गरे ।

‘यो महत्त्वपूर्ण प्रणाली सुरु गर्दा केही अप्ठेरो आउनु स्वभाविकै हो तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचीकरण संख्या र केही रोजगारदाताबाट योगदान रकम जम्मा गर्न सुरु भइसकेको छ ।’

ढकालले सामाजिक सुरक्षा योजनावारे बुझाउन समय लागेकोले पनि सूचीकरण प्रक्रियामा केही ढिलाइ भएको बताए । योगदातालाई सामाजिक सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधाबारे बुझाउन सकिएन भने थप जटिलता आउन सक्ने तथ्य मनन गरी यसको अवधारणालाई नेपालको परिवेशअनुसार अघि बढाउन उनले सुझाए ।

हाल प्रचलनमा रहेको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई एकीकृत रूपमा सामाजिक सुरक्षा योजनाअन्तर्गत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए । उनले भने, ‘भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधिबाट सम्भव छैन, व्यावहारिकताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ ।’

कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, नेपाल सरकारका सचिवहरु, नेपाल उद्योग वाणिज्य महासंघका नेताहरूलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung