३ श्रावण २०८३, आईतवार

 

दुबईमा चौधरी ग्रुपको नयाँ तारे होटल

चौधरी ग्रुपले दुबईमा नयाँ होटल ‘ताज जेएलटी’ सञ्चालनमा ल्याएको छ । ग्रुपका अध्यक्ष विनोद चौधरीले बुधबार होटल सञ्चालनमा आएको ट्विटरमार्फत जानकारी गराएका हुन् ।

उनले छोरा राहुलको अगुवाइमा ‘ताज जेएलटी’ अघि बढेको भन्दै सिजी होटल्स टिमलाई बधाई दिएका छन् । राहुल सिजी हस्पिटालिटीका प्रबन्धनिर्देशक हुन् ।

‘ताज जेएलटी’ चौधरी ग्रुपको पछिल्लो ‘भेन्चर’ हो । दुबईको जुमेराह लेक्स टावरस्थित होटल लोकेसनका हिसाबले पनि आकर्षक रहेको गत महिना बिजनेस ट्राभलरले गरेको रिभ्युमा उल्लेख छ । जुमेराह टावर्स ८० वटा टावरको भब्य संरचना हो जहाँ तीनवटा कृत्रिम ताल छन् ।

यो विशाल सहरी संरचनाभित्र ३४ देखि ६६ तल्लासम्मका टावर छन् । सबैभन्दा अग्लो अलमास टावर ६६ तले छ । सन् २००८ मा निर्माण सुरु भएको जुमेराह लेक्स टावर दुबईको आकर्षक क्षेत्र मानिन्छ ।
चौधरीको ताज जेएलटी सेख जायद रोडमा छ । यो होटल युनिलिभर, दुबई इन्टरनेट सिटी र दुबई मिडिया सिटी रहेको ‘जेबिल अली’ नजिक छ ।

होटल रहेको क्षेत्र कर्पोरेट र रेसिडेन्सियल दुवै हो । २ सय कोठाको होटल ४६ तले भवनमा छ । यहाँ अपार्टमेन्ट र होटल दुवै प्रयोजनका लागि कोठा तयार गरिएको छ । १ सय ७१ वटा सामान्य तथा २९ वटा सुइट रुम रहेको यो होटलमा पाँचवटा रेस्टुरेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung