१० कार्तिक २०८३, सोमबार

 

मानवता बिर्सिंदै समाज

- विचार

प्रसङ्ग : १ 

कवि भूपि शेरचनको एउटा कविता छ– ‘हो चि मिन्हलाई चिठी ’ ।  भियतनाममाथि बर्बर हमला गरिरहेको अमेरिकी साम्राज्यवादसँग एक कदम पछि नहटी आफ्नो मातृभूमिको स्वाधीनता रक्षा गर्ने राष्ट्रपति हो चि मिन्हलाई सम्बोधन गरेर लेखिएको उक्त कविताको एक पङ्क्ति यस्तो छ–

मानिस मर्छन्
जसरी डढेलोमा रुखहरू डढ्छन्
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरी पलाउँछ–
डढेलो पछि उम्रिने असंख्य च्याउहरूजस्तै ।

साँच्चै मानवता भन्ने कुरा कहिले मर्दैन । कवि भूपीले भनेझैँ यो पलाइरहन्छ, झाँगिरहन्छ । अनि मानव अस्तित्व रहेसम्म रहिरहन्छ ।

मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । जीवनको सर्वोच्चता हो । दुब्लो शरीर भएका हो-चि-मिन्ह विचारले कम्युनिष्ट थिए । सधैं सामान्य बनेर हिँड्न रुचाउने उनलाई जो कोहीले देख्दा यति दृढ र आत्मविश्वासका धनी भनेर पत्याउन गाह्रो पर्थ्यो । तर हो-चि-मिन्ह विचारमा उतिकै दृढ, दुदर्शी, चिन्तनमा प्रखर मानवतावादी नेता थिए ।

प्रसङ्ग : २

पछिल्लो समय नेपालभित्र नै बढिरहेका हिंसा र अपराधका घटनाले धेरैलाई विक्षिप्त पारिरहेको छ । महिलामाथि हुने गरेका हिंसा त झन् जघन्य प्रकृतिका छन् ।

दिउँसै अबोध बालकको अपहरण गरी क्रुर हत्या भएको छ । राजमार्गमा ट्रकले मानिस किचिरहेको छ । त्यसमाथि प्रहरीले उल्टै पीडित भएका विद्यार्थीहरूलाई नै दमन गरिरहेको छ । (कोहलपुर घटना)

जथाभावी डोजर मात्र चलाएर खनेका पहाडी बाटोमा ज्यान जान सक्छ भन्ने थाहा हुँदाहुँदै मोटर चलाउन स्विकृति दिइएको छ– (सिन्धुपाल्चोक र अर्घाखाँचीका दुर्घटना) ।

अनि कतै बिहे गरेकै दोस्रो दिन श्रीमतिको हत्या गरिएको छ । बम राखेको हेर्न गएका प्रहरी निरिक्षको बकमपड्केर मृत्यु भएको छ । (जनकपुर घटना)
मानिस मर्न युद्ध हुनै नपर्ने रहेछ । एक साताभित्र नेपालभित्र घटेका घटना हेर्दा यस्तै दृश्य देखिन्छ ।

युद्धमा परायासँग लड्नुलाई बहादुरी भनिन्छ । त्यस्तो बेला एक आमाले नै आफ्नो छोरालाई, छोरीलाई देशको लागि लड्न पठाउँछिन् । यसरी मातृभूमि र स्वतन्त्रताको लागि लड्दा ज्यान गुमाएकाहरूलाई सहिद भनी युगले पुकार्दछ । तर कुखुरा चोरेको निहुँमा लड्ने, तल्लो जातले बिगार गरे मारिहाल्ने, जिउँदै बुहारी जलाउने, दाइले सहोदर भाइ मार्ने परिपाटीले हामी मानवता र शान्तिको धज्जी उडाइरहेका छौँ । सायद असभ्यता र हिंसाको दृष्टान्त हौँ हामी ।

यी त भए व्यक्तिगत जनजीवनका कुरा । राष्ट्रिय राजनीति र त्यस क्रममा भएका हत्या र मानवअधिकारको उलघंलको आजसम्म निरोपण गरिएको छैन । बनाउनका लागि मात्र बनाइएका आयोगले त एक शताब्दीसम्म पनि काम नगर्ला । एक शताब्दीपछि पाइने न्याय के न्याय ?

वि.सं. २०५६ चैत ५ काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरूको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या गर्यो । निशस्त्र रहेको साँस्कृतिक समूहलाई यसरी मार्नु कहाँको युद्ध हो ? २०६० सालमा शिवपुरी निकुञ्ज काठमाडौँ करिब एकसयजना जति बन्दीलाई एकैचोटी गोली हानेर हत्या गरियो । यस घटनाको अन्तराष्ट्रिय तवरबाट अनुसन्धान भइरहेको छ । नेपाली नागरिक विदेशमा पक्राउ पर्ने र विदेशी भूमिमा मुद्दा खेप्ने अवस्था आउनु कसैका लागि सुखद् विषय होइन ।

द्वन्द्वकालका ज्यादतीको अनुसन्धान गरी दोषीमाथि कारबाही, पीडितलाई न्याय र परिपूरण गर्नुपर्ने दायित्वप्रति सरकार उदासीन नभएको भए यस्तो अवस्था आउने नै थिएन ।यतिसम्म नीच व्यवहार विद्रोही वा सरकार पक्ष जोबाट भएपनि असाध्यै निन्दनीय छ । यो सिङ्गो मानवतामाथिको प्रहार हो ।

तीन दिनअघिमात्र राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई प्रमुख अतिथि बनाइएको भनेर माओवादीपीडित महिलाहरूले कार्यक्रम बहिष्कार गरे ।

अन्त्यमा,

कवि भूपिले भनेझैँ मानवता नाशिए पनि पुनः पलाउने कुरा हो । तर यो त मानिसको अस्तित्व रहेसम्म पलाउने हो जसरी माटो रहेसम्म विरुवा पलाउने गर्छ । तर अहिले नेपालभित्र भएका घटना हेर्दा हामी सामान्य मानवतामा समेत चुकेका छौं ।
महेन्द्रनगरमा मोटरसाइकललाई ओभरटेक गरेको निहुँमा एक युवकको सडकमा नै निर्घात पिटेर हत्या भयो । जनकपुरमा राखिएको बम पड्केर तीन जनाको मृत्यु भयो । यता जिउँदै ईंटा भट्टामा हालेर मजदुरको हत्या गरेको आरोपमा सांसद मोहम्मद आलम हिरासतमा छन्, अदालतले कुनै फैसला गर्न सकेको छैन ।

सहिष्णु र शान्तिको पर्याय भनेर हामीले विश्वसामु परिचय दिने गर्छौँ । तर हाम्रो घरभित्र कति अशान्ति र अन्याय छ त्यो हामीलाई बोध भएको छैन ।

विश्व शान्तिको कामना गर्ने तर आफ्नै घरभित्र हिंसा मच्चाउने हाम्रो प्रवृत्तिले निकट भविष्यमा नै ठूलो विनाश निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung