१० कार्तिक २०८३, सोमबार

 

ललिता निवास प्रकरणमा कांग्रेसकाे आक्रोश

-टिप्पणी 

ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी करार गरेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको बचाउ गर्दै पार्टीले लगातार संसद् बैठक अवरुद्ध गर्‍यो । सरकारको संवैधानिक निकायले लगाएको भ्रष्टाचारको आरोपबाट अब गच्छदारलाई मुक्त गर्न सक्ने न्यायपालिका मात्र हो । कानुनी उपचारको मार्ग रहँदारहँदै व्यक्तिको बचाउमा सदन अवरुद्ध गर्नु कांग्रेसजत्तिको लोकतान्त्रिक पार्टीलाई कत्तिको सुहाउँछ ? निरन्तरजसो जिज्ञासा व्यक्त भइरहेका छन् ।

कांग्रेसले आफ्ना भ्रातृ संगठनलाई समेत सडकमा उतारिरहेको छ । तर, संसद् अवरुद्ध गरेर भ्रष्टाचारको सती जानु कांग्रेसका लागि प्रत्युत्पादक बन्न सक्ने जोखिम उत्तिकै छ । आफ्नो पार्टीमा रहे सबै शुद्ध हुने, अर्काे पार्टीमा रहँदा सबै भ्रष्टाचारी देख्ने दृष्टिदोष नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग भएको छ । कुनै बेला तत्कालीन एमाले नेताहरूले आफूहरूबाट छुट्टिएर नेकपा माले गठन गरेका वामदेव गौतमलाई खुला मञ्चबाट देशकै सबैभन्दा ठूलो भ्रष्टाचारी गरेका थिए । अहिले उनै वामदेव नेकपाको उपाध्यक्ष छन् । त्यस्तै गच्छदार कांग्रेसमा दोस्रोपटक आएका नेता हुन् । अर्को दलमा छँदा कांग्रेसले पनि गच्छदारलाई भ्रष्टाचारी भनी आरोप लगाएको थियो ।

अदालतबाट हेर्नुपर्ने विषयमा संसद् अवरुद्ध गरेर सडकमा भातृ संगठन उतार्नु कांग्रेसका लागि कति जायज होला ? आपत्ति त अख्तियारले त्यही प्रकरणमा संलग्न सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललगायतलाई उन्मुक्ति दिएको विषयमा हुनुपर्ने हो । अख्तियारले सरकारको प्रभावमा निर्दाेषलाई भ्रष्टाचारी करार गरेको हो भने कांग्रेसले सडकमा जनसंसद् आह्वान गरेर आफ्ना भनाइ जनतासमक्ष राख्न सकोस् । राजा ज्ञानेन्द्रको शासनकालमा पनि कांग्रेस त्यसरी नै ज्यादतीविरुद्ध सडकमा आएको हो ।

सडकको जनसंसद्बाट अनुमोदित विषयको जानकारी कांग्रेसले अख्तियार अनुसन्धान आयोगको कार्यालयमा पुगेर गराउन सकोस् । त्यति गर्दा पनि अख्तियारले पौडेल परिवारलाई उन्मुक्ति दिए त्यसको विरोधमा संसद् अवरुद्ध गर्नु औचित्यपूर्ण हुनेछ । अनि मात्र कांग्रेसले लोकतान्त्रिक चरित्रमा विश्वास गर्छ भन्ने प्रमाणित हुनेछ । यतिका लागि नेकपा नेतृत्व सति गए जस्तै अख्तियारका आरोपितका लागि कांग्रेस सती नजाओस । कांग्रेसले आफ्नो गाैरवशाली विगत र  उज्जवल भविष्य छ, भन्ने तर्फपनि ध्यान दिन सकाेस ।

यति बेला देश भ्रष्टाचारले आक्रान्त छ । त्यस विरुद्ध लड्न जनमत तयार गर्न सकोस । यही प्रकरणबाट भ्रष्टारका बिरुद्ध कांग्रेस जुध्न सकोस । लोकतन्त्रमा सरकार सत्तापक्षको भए पनि संसद् विपक्षको हो । त्यसलाई सही मार्ग निर्देशन गर्नु विपक्षको जिम्मेवारी हो । आफ्नो जिम्मेवारीलाई भ्रष्टाचारका पक्षमा उपयोग गर्दा भविष्यका लागि कस्तो नजिर स्थापित होला ? खोइ त्यसबारे कांग्रेसले विचार पुर्‍याएको ? साथै अन्य प्रतिपक्षको साथ लिन सकेको खोइ ?

सरकारको प्रभावमा संवैधानिक अंग अख्तियारले गरेको नियोजित कार्यको विरोध संसद्बाट गर्नु बुद्धिमानी हुनेछ । प्रतिपक्षमा रहेको समाजवादी दलका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शैलीमा अख्तियारको आलोचना गरेर सरकार पक्षलाई सतर्क र खबरदारी गराउन सक्नु पर्छ । नकी त्यसकाे साटो भ्रष्टाचारलाई संरक्षण गरेकाे सन्देश प्रवाह हुनेगरी सडकमा कांग्रेसले आक्रोश व्यक्त  गरिरहेकाे छ। यसअघि पनि नेता मोहम्मद अफताब आलमलाई प्रहरीले व्यक्ति–हत्याको दोषी करार गर्दा कांग्रेसले बचाउ गरेको थियाे । त्यतिबेला पनि यस्तै  सन्देश प्रवाह भएकाे थियाे । जनमतमा कांग्रेस बिरुद्ध त्यसरी सन्देश प्रवाह हुनु पक्कै राम्राे हैन् ।

यति बेला अख्तियारको कार्यशैली निष्पक्ष भएन भन्ने आमजनताको बुझाइ छ । त्यसैले जनताको अभिमतलाई ध्यान दिएर कांग्रेसले आफ्नो भूमिकालाई सशक्त बनाउन सकोस् । भिड र आक्रोशले नभएर संयम अपनाएर सरकारलाई चुनौती दिन सकोस्, जसरी संस्थापक नेता बिपी कोइरालाले तत्कालीन पञ्चायती व्यवस्थालाई नैतिक बलका आधारमा घुँडा टेकाउन सफल भएका थिए ।

जनताको नजरमा दोषबाट बच्ने उपाय अपनाउनुको सट्टा कांग्रेसजस्तो पार्टीले भ्रातृ संगठनलाई सडकमा उतारेर आरोपीलाई बचाउन खोज्नुले कांग्रेस लक्ष्यबाट विचलित भएको त होइन ? भन्ने जिज्ञासा हुन थालेको छ ।

नेकपाका नेता तथा संबिधान सभाका सदस्य  विजय  पाैडेलले समाजिक संजाल फेसबुकमा गगन थापाको भाषण उधृत गरेका छन्, ‘सम्माननीय सभामुख महोदय, विजय गच्छेदार नामको ढाडे बिरालो नेपाली कांग्रेसमा दूध चोर्नसम्म चोरेर आज अर्को दलमा गएको छ । सो दलले बुझोस्, त्यहाँ पनि त्यो ढाडे बिरालोले धुरुधुरु रुवाउनेछ । यस्तो चोर ढाडे बिरालोले नेपाली कांग्रेस छोडेकोमा ज्यादै खुसी लागेको छ ।’

पौडेलले अगाडि लेखेका छन्, ‘कसैको नामै लिएर बोलेकोमा सभामुख महोदयले रुलिङ पनि गर्नुभएको थियो । लक्ष्मण घिमिरेज्यू प्रमुख सचेतक हुनुहुन्थ्यो । त्यस दिनको सदन सकिएपछि मैले लक्ष्मण घिमिरेज्यूलाई सोधेको थिएँ– गगनजीले भनेको सही हो त दाजु ? उहाँले भन्नुभएको थियो– अरे के भन्नु विजयजी, एक नम्बरको भ्रष्टाचारी हो नि त्यो मान्छे । त्यसले कांग्रेस छोड्यो, ज्यादै राम्रो भयो । पछि निज गच्छेदार नेपाली कांग्रेसमा फिर्ता भए । अहिले अख्तियारले निज गच्छेदारलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको खबर आएको छ । आज नेपाली कांग्रेसले विजय गच्छेदारलाई ‘राजनीतिक प्रतिशोधमा फसाइएको’ भनेर सदन बहिष्कार गरेछ । यो दोहोरो चरित्रका लागि नेपाली कांग्रेसलाई के भन्ने ?’ कांग्रेसलाई आदर्शको सबक सिकाउने नेता पौडेल पनि कति शुद्ध राजनीतिक पृष्ठभूमिका हुन्, यसमा छुट्टै बहस हुन सक्छ । तर उनले कांग्रेसका बारेमा गरेको जिज्ञासालाई पूर्वाग्रही मात्र भन्न सकिँदैन । त्यसरी नै आमजनताले पनि बुझेका छन् । गलतलाई गलत भन्न नसक्ने हो भने सही र गलत कसले औंल्याइदिने ?

त्यसैले कांग्रेसले अख्तियारको शैलीलाई सबक सिकाउन आवश्यक होला तर भ्रष्टाचारको पक्षमा आफूलाई समर्पण गर्नु पक्कै उचित होइन । जनताको नजरमा गच्छदार शुद्ध र निष्कलंक नेता होइनन् । निर्वाचन जित्दैमा दोषको भागीदार हुनुपर्दैन भन्ने छैन । राजपाका नेता रेशम चौधरीले कैलालीबाट निर्वाचन जिते पनि दोषको सजाय काटिरहेका छन् । कांग्रेसलाई यति बेलाको आपत्ति ‘बूढी मरीभन्दा पनि काल पल्केकोमा’ हुनुपर्ने हो । तर, सामान्य नागरिकको नजरमा काल पल्केकोभन्दा बूढी मरेकोमा आपत्ति जनाएजस्तो देखिएको छ ।

यस्तो बेला कांग्रेसले शुभचिन्तकका विचार पनि सुन्ने धैर्य गर्न सक्नुपर्छ । साथै दीर्घकालीन फाइदा पुग्ने गरी पार्टीको दिशानिर्देश गर्न सकोस् । जनमतलाई ध्यान नदिई अन्धसमर्थकको अभिव्यक्तिलाई आधार मानेर गरिने निर्णय तत्काललाई फाइदा भए पनि भविष्यका लागि प्रत्युत्पादक हुन सक्छ । संसद् अवरुद्ध गरिरहँदा पार्टी सशक्त र एकत्रित भएजस्तो लागे पनि कालान्तरका लागि क्षय हुन सक्ने सम्भावना रहन्छ । थिति र नीतिका लागि कांग्रेस लड्न सकोस् तर नियतिका लागि सती नजाओस् ।

न्यायका पक्षमा आवाज उठाउन कांग्रेस चुक्दै गएकाले कुनै बेला आफैंले नियुक्त गरेका अख्तियारका आयुक्तले सत्तासीन नेकपा महाचिवको परिवारलाई उन्मुक्ति दिएर कांग्रेस भएकै कारण गच्छदारलाई दोषी करार गरेर भ्रष्टाचार मुद्दा चलाउने धृष्टता गरेको भन्न सकिने आधार छन् । त्यसैले नैतिक शक्ति आर्जन गर्न कांग्रेसले बेलैमा बुद्धि पुर्‍याओस् । नभए इतिहास बोकेको पार्टीमा सीमित हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung