बागलुङ नगरपालिकाले कृषकहरुलाई अनुदान वितरण गरेको छ । कृषकहरुलाई व्यवसायमा हौसला प्रदान गर्नका लागि प्रदेश र संघीय तहबाट अनुदान पाएकाबाहेक चालु वर्ष झण्डै १ सय किसानलाई अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि अनुदानको माध्यमबाट १२ लाख ८० हजार अनुदान बाँडेको हो । कम्तिमा ४ रोपनी जग्गामा सुन्तला र अन्य कृषि उत्पादनको काम गरेका किसान, माछातर्फ ५ सय बढी, पशुपालन भए कम्तिमा ५ वटा पालेको तथा दूध उत्पादन गरेका किसानलाई पुरस्कार स्वरुप अनुदान वितरण गरिएको हो ।
आइतबार बागलुङ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख जनकराज पौडेलले छनौट भएर आएका किसानलाई अनुदान रकम हस्तान्तरण गरेका छन् । नगरपालिकाका कर्मचारीहरुले घर घरमै गएर अनुगमन गरेर किसानहरुलाई छनौंट गरेको नगर प्रमुख पौडेलले बताए । पौडेलले किसानले कहिलै झुटो बोल्दैन भन्ने मान्यताले उनीहरुको प्रतिवद्धता समेतलाई अनुदानमा सूचक बनाइएको जानकारी दिए । छनौटमा परेकालाई १२ हजारदेखि ४० हजार नगद उपलब्ध गराइएको हो । सुन्तलातर्फ १० जना किसानलाई २ लाख ३६ हजार र माछापालनका लागि ५ सय बढी पाल्ने ३ जनालाई ८० हजार वितरण गरिएको हो ।
लेयर्स कुखुरातर्फ कम्तिमा १ सय पाल्ने ८ जनालाई २ लाख रुपैयाँ, ५ सय बढी कोइलर पाल्ने २४ जनालाई ३ लाख ९० हजार, गाईभैसीतर्फ ५ भन्दा धेरै पाल्ने १३ जनालाई १ लाख ७५ हजार रुपैयाँ, बाख्रातर्फ १ सय बढी पाल्ने २८ जनालाई ३ लाख ६५ हजार दिइएको हो । राँगोतर्फ ३ जनालाई ९९ हजार, बंगुर पाल्ने ३ जनालाई १ लाख ५० हजार, दुध उत्पादन र बिक्री केन्द्र स्थापना गर्ने ४ जना किसानलाई १ लाख ८० हजार रुपैयाँ दिइएको हो ।













































































































































































































