२ जेष्ठ २०८१, बुधबार

 

नेपाल टेलिकमद्वारा अमरभूमिमा फोरजी सेवा

नेपाल टेलिकमले ताराखोला गाउँपालिका–१ अमरभूमिमा नमस्ते मोबाइलकाे नवनिर्मित टावरबाट चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि गलकोट नगरपालिका–५ टेउवाधुरीमा आयोजित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालालाई लक्ष्यित गर्दै ग्रामीण क्षेत्रमा सर्वसुलभ मोबाइल डाटा इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङका प्रमुख  केशव शर्माले बताए ।

फोरजी सेवाले ताराखोलाका  अमरभूमि,  अर्गल र हिल तथा गलकोटकाे टेउवाका उपभाेक्ता प्रत्यक्ष लाभान्वित हुने वरिष्ठ इन्जिनियर शर्माको भनाइ छ । टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा अहिले देशभर विस्तार गर्ने कार्यलाई तीव्रता दिएकाे छ । 

फोरजी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ देखि २१ सम्म सञ्चालन हुन गइरहेको मूर्तिकला कार्यशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । कार्यशालामा ५ स्वदेशीसहित १० विदेशी मूर्तिकारको सहभागिता छ ।

फोरजीलाई उच्च गतिको इन्टरनेटसहितको मोबाइल सेवा मानिन्छ । फोरजी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो । शर्माका अनुसार फाेरजी इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबीपीएस) भन्दा माथि हुन्छ ।

ग्राहकले फोरजी सेवा लिन मोबाइल  फाेनमा *1415*5# डायल गरी सस्तो दरमा विभिन्न प्याक खरिद गर्न सक्नेछन् । फोरजी आफ्नो सिमकार्डमा सुचारु भएको या नभएको थाहा पाउन मोबाइलमा *444# डायल गर्नुपर्ने हुन्छ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल, च्याटसँगै इन्टरनेटका विभिन्न सेवासुविधा लिन सक्नेछन् ।

फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियोसमेत हेर्ने सुविधा दिने बताइएको छ । फोरजी सेवाले डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इन्जिनियर शर्माको भनाइ छ ।

‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पुर्‍याउन कठिन छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड (ताररहित) इन्टरनेट चलाउन फोरजी उपयोगी छ ।’ फोरजी राउटरबाट कम्युटरलगायत अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा १८०० र ८०० मेगाहर्जमा फोरजी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्