म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ । ती कार्यक्रममा सहभागी हुँदा तपाईं उद्योगी–व्यवसायी साथीहरू, नागरिक समाजका प्रतिनिधिसँग औपचारिक–अनौपचारिक थुप्रै बसाइ भए । भेला र बैठक पनि भए ।
ती बसाइ भेला र बैठकमा तपाईंहरू सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले भन्दा तपाईंहरूले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनुभयो ।
जस्तो कि गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरूले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा प्रस्ताव गर्नुभयो । ती तपाईंहरूका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै आज म नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु ।
आज यो कार्यक्रममा सहभागी हुन धेरै जना साथी इच्छुक हुनुहुन्थ्यो तर आफ्नै जिल्लामा मेलामहोत्सव तथा पारिवारिक कार्यक्रम परेकाले उहाँहरू उपस्थित हुन सक्नुभएन । तर फोनमार्फत भए पनि मलाई शुभेच्छा भने प्रकट गर्नुभएको छ । देशभरका आदरणीय उद्योगी, व्यवसायी साथीहरूको यही सहृदयी भाव, सदाशय र शुभेच्छालाई म हृदयदेखि नै सम्मान पनि गर्दछु ।

विगत र वर्तमान
आदरणीय उद्योगी, व्यवसायी मित्रहरू, बागलुङको गाउँमा जन्मिएर, एउटा सहायक स्तरको जागिर छाडेर सुरु गरेको सानोतिनो व्यवसायबाटै तपाईंहरूजस्तै मेरो पनि व्यावसायिक जीवन सुरु भएको हो । करिब दुई दशकअघि हामीले आइएमई स्थापना गरेर सुरु भएको हाम्रो व्यावसायिक यात्रा आजका दिनसम्म आइपुग्दा बैंक, वित्तीय संस्था, बिमा, केबलकार, जलविद्युतदेखि लिएर समाजसेवा क्षेत्रसम्म विस्तार भएको छ ।
देशैभरि पुगेको हाम्रो उद्यमशीलताबाट हजारौं नेपाली दाजुभाइ, दिदीबहिनी प्रत्यक्ष एवम् आश्रित रूपमा हामीसँग जोडिनुभएको छ । यो हाम्रा लागि गौरवको विषय पनि हो ।
जब हामीले नेपाली दाजुभाइले विदेशमा रगत र पसिना बगाएर जम्मा गरेको दुई चार पैसालाई विश्वासका साथ जतन गरेर उहाँहरुका आश्रित आमाबुबा एवम् परिवारका हातमा पुर्याइदिन थाल्यौं। त्यसले हामीलाई सधैंभरि आशीर्वादको काम गरिरह्याे ।
नेपाली दाजुभाइले विश्वासका साथ हामीलाई दिएको र हामीले जतनसाथ परिवारमा पुर्याइदिएको त्यो पैसा, त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन, त्यो नेपालको अर्थतन्त्रको मेरुदण्ड पनि बन्यो । त्यही पैसाले कयौं व्यापार चले, कयौं उद्योग बने ।
त्यति मात्र नभएर त्यो पैसा सानोतिनो व्यापारका लागि वित्तीय स्रोत बन्यो, घरेलु उद्योगका लागि सिडमनी । आज कहीँ न कहीँ कतै न कतै सानो होस् वा ठूलो, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन् ।
तिनै घरेलु उद्योग र व्यापारलाई बढाएर मझौला उद्योग र मझौला उद्योगलाई बढाएर ठूला उद्योग र व्यापारमा लैजान सक्यौं भने बहुराष्ट्रिय उद्योग र व्यापारमा विस्तार गर्न सक्छाैँ । त्यसले हाम्रो मात्रै होइन, समग्र देशको प्रगति हुन्छ भन्ने मेरो विश्वास छ ।
त्यो मेरो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, तपाईं साथीहरूलाई आशावादी बनाउन, तपाईंका समस्यालाई सुल्झाउन, तपाईंका मुद्दालाई सम्बन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ ।
यो मेरो प्रण हो ।
वर्तमान अवस्था
उपस्थित व्यवसायी मित्रहरू,
हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीनखम्बे अर्थतन्त्रको एक दरिलो खम्बा । देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथिका रूपमा रहने निजी क्षेत्रले राज्यका तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।
नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । लगानीकर्ताले अरू वातावरणका अतिरिक्त स्थायी सरकार पनि हेर्छन् नै । देशमा तीन तहको सरकार बनेपछि आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसिमले प्रतिस्पर्धा नै भएको मैले पाएको छु ।
मेरो आफ्नै कुरा गर्ने हो भने, कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँ प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीज्यूहरुले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्नुहुन्छ । उहाँहरूले तपाईं आउनुहोस्, वातावरण हामी बनाइदिन्छौँ पनि भन्ने गर्नुभएको छ ।
सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि छ । तर नेतृत्वमा यो सकारात्मक सोच देखिएजसरी राज्य संयन्त्रभित्र भने के–के नपुगेजस्तो देखिन्छ । हाम्रा उद्योगी, व्यवसायी साथीहरूले काम गर्ने क्रममा नेपालको परम्परागत संरचनाबाट सहज महसस गर्न नपाएको गुनासो बारम्बार गर्नुभएको पनि छ ।
राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।
निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो । यसका लागि उद्योगी–व्यवसायी मित्रहरू आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रूपमा लाग्नुपर्ने हुन्छ ।
त्यसैले मेरो उम्मेदवारीको नारा ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ राखेको छु । किनभने निजी क्षेत्रको दरिलो उपस्थितिबिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म मैले कतै देखेको छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति द्रुत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । आखिर राज्य निजी क्षेत्रको विनालगानीको एउटा पार्टनर पनि हो ।

महासंघमा मेरो नेतृत्व
निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।
औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । जस्तो उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज र सुलभ बनाउनुपर्नेछ। उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा इआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झन्झटलाई छोट्ट्याउनुपर्नेछ । समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनुपर्नेछ।
छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन, त्यहाँ पुग्ने सडक, विद्युतलगायतका दिगो पूर्वाधार चाहिन्छ । गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्छ । उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ति र जग्गा बिक्री गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ ।
एउटा निकायबाट फर्छ्याैट भएको विषयलाई वन, मालपोतलगायतका विभिन्न निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ। नवउद्यमीलाई मात्रै होइन, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ ।
उद्योगी व्यापारीसँग राज्यका निकायले जबर्जस्ती कर नउठाई पारदर्शी ढङ्गबाट, सहज र वैज्ञानिक रूपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । निजी क्षेत्रलाई करको बोझमा दबाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनुपर्नेछ । करमा रहेका दुबिधाका कारण भविष्यमा उद्योगी–व्यवसायीमा करको ठूलो भार पर्नेसमेत गरेको छ। त्यस्ता दुबिधा भएका कर कानुनलाई सुधार गर्नुपर्नेछ ।

एउटा निकायबाट पार लागेको कर, सम्पत्तिको विषयलाई अनेक निकायबाट छानबिनको विषय बनाउने जुन रोग छ, त्यसको सही निदान र उपचार पनि गर्नुपर्नेछ। सरकारले हालै लागू गरेको ‘भिसिटिएस’ र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन् । हामीले यसको पनि दीर्घकालीन समाधान खोज्नुपर्ने बेला भएको छ।
सम्पत्तिमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ। स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकर्षित गर्नुपर्नेछ । त्यसका लागि उद्योग वाणिज्य महासंघजस्ता संस्थालाई विज्ञ संस्थाका रूपमा विकास गर्नुपर्ने अवस्था छ ।
यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ। त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसी डाइलगलाई अझै बढाउनुपर्नेछ।
विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूलाठूला मेगा इभेन्ट गर्नुपर्नेछ। उद्योगी–व्यापारी साथीहरूलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरू बढाउनुपर्नेछ।
‘महासंघको भावी अध्यक्षका रूपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ । यो टिम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरूसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर एघार बनाउनेछौं ।’
हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायिक हकहित तथा अधिकारका लागि सरकारसँग ‘लबिइङ’ पनि गर्नेछ । मेरो उम्मेदवारी पनि त्यसैको एउटा अंश हो भनेर बुझिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ ।
000
तीनखम्बे अर्थ नीतिको प्रमुख खम्बाका रूपमा स्वीकारिएको यस क्षेत्रलाई सबैभन्दा सशक्त र सबल खम्बाको रूपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासनसहितको जनउत्तरदायी राज्यव्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता यसै मञ्चमार्फत् व्यक्त गर्दछु ।
महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन, साना र मझौला उद्योगी–व्यापारीको पनि साझा चौतारीका रूपमा स्थापित गर्न मेरो प्रयास रहनेछ ।
त्यस चौतारीमा सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउने प्रयास गर्नेछु। जसरी केही वर्षअघिसम्म उद्योगी र कामदारबीच रहेको तिक्ततापूर्ण सम्बन्धलाई हामीले वार्ता र छलफलका माध्यमबाट सुमधुर सम्बन्ध स्थापना गर्न सफल भयौं त्यसै गरी हाम्रा स्टेकहोल्डरसँगका समस्यालाई वार्ता र छलफलबाट समाधान गर्न हामी केन्द्रित हुनेछौं ।
कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको संवाहक बन्नु हो । मैले पनि मेरा सहकर्मी, सहृदयी सबै उद्योगी–व्यवसायी साथीहरूको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईंहरूको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईंहरूको सुखदुःखमा साथ रहने प्रण गर्दछु ।
एउटा सबल र सक्षम नेतृत्वले नै सशक्त र बलियो महासंघ निर्माणमा सघाउ पुर्याउनेछ । मलाई लाग्छ, हाम्रा देशभरिका उद्योगी–व्यवसायी साथीहरूले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र यस महासंघको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्नेछ । त्यसैले आगामी साधारणसभामा हामी सबैको विवेकको ठूलो महत्त्व छ ।
महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरूको साझा प्रयासबाट महासंघलाई अघि बढाइनेछ । जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरूलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ।
मुलुकको अर्थतन्त्रमा अहम भूमिका खेलिरहेको निजी क्षेत्रको छाता संगठन महासंघलाई जति बलियो र सशक्त बनाउन सकियो त्यति नै समग्र निजी क्षेत्रको मनोबल उँचो हुनेछ र यसबाट राज्य संयन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनेछ । यसका लागि म सबै व्यवसायी र राज्यको पुलका रूपमा बीचमा बसेर रचनात्मक भूमिका खेल्ने काममा लाग्नेछु ।
साथीहरूलाई के भन्न चाहन्छु भने म हिजोका दिनमा तपाईंहरूसँगै थिएँ र आज पनि छु । भोलि पनि तपाईंहरूसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस् वा नहुँदा म तपाईंसँग सधैं साथमै रहन्छु । आखिर हाम्रो देशैभरिका जिल्ला, नगरमा व्यावसायिक नेटवर्क छ, यही व्यवसायमार्फत तपाईं हामी सबै जोडिएकै छौं । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला, नगरका साथीहरूलाई महासंघको केन्द्रीय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरूको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ।
महासंघ र व्यावसायिक सञ्जालमार्फत उठ्दा–बस्दा तपाईंहरू सबैले म कति सहज छु भन्ने बुझिसक्नुभएको छ। मेरो व्यक्तिगत व्यवहार र व्यावसायिक प्रकृतिले गर्दा म तपाईंबाट टाढा जान पनि सक्दिनँ । तपाईंलाई अप्ठ्यारो परेको दिन, तपाईंले खोजेको दिन सहजै उपलब्ध हुनेछु।
महाभारतमा कृष्णजीले अर्जुनलाई युद्ध जित्नेले आफ्ना सारथिलाई चिन्न सक्नुपर्छ भन्नुभएको थियो। मेरो यो अभियानका सारथि तपाईं उद्योगी, व्यवसायी साथीहरु हुनुहुन्छ, यहाँ उपस्थित अग्रजहरू हुनुहुन्छ र मेरा सबै जना शुभचिन्तक हुनुहुन्छ । मेरो अभियानका सारथिहरूको पहिचान मैले गरिसकेकाले म सफल हुनेमा ढुक्क पनि छु ।
अन्त्यमा मेरो यो अभियानप्रति देखाउनुभएको सहयोग र सद्भावप्रति धन्यवाद ज्ञापन गर्दै मेरो भनाइ यहीँ टुंग्याउँछु ।
(उद्याेग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घाेषणाका क्रममा ढकालले प्रस्तुत गरेकाे विचार)



















































































































































































































