अर्थमन्त्री युवराज खतिवडा सरकारबाट हट्ने हल्लासँगै करिब ३ महिनादेखि निरन्तर उकालो लाग्दै गएको शेयर बजार फेरि अर्थमन्त्रीमा पुनरावृति भएसँगै आरोलो लागेकाे छ । खतिवडा अर्थमन्त्री भएकै दिन सेयर बजारमा ६८.४७ अंकले घटेर १४४१.२० बिन्दुमा पुगेर रोकिएको छ ।
शेयरका खेलाडीले विभिन्न हौवा फैलाएर सस्तो मूल्यमा शेयर उठाउने खेलमा लाग्दा बजारमा यस्ताे उतारचढाब देखिएको हो । विश्वभर फैलिदो क्रममा रहेको कोराना भाइरसको कारण आयात निर्यातको कारोबार प्रभावित हुँदा पनि नेपालको शेयर बजारमा लगानीगर्ने बढेको थिए। वित्तीय क्षेत्रमा तरलताको संकुचन हुँदा अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अल्पकालिन लगानीकर्ता शेयर बजारमा प्रवेश गर्दा बजार पछिल्लो तीन महिनामा शेयर बजार चार सय अंक उक्लिएको थियो।
बजारले छोटो समयमै छलाङ मारेपछि शेयर बेचर नाफा सुरक्षित गरेकाहरुले बजार प्रवेश गर्ने नयाँ विन्दु खोज्न विभिन्न हल्लाहरु फैलाउने गरेका छन् । बुधबारको बजारमा पनि अर्थमन्त्रीमा पुनः नियुक्त भएका डा. युवराज खतिवडाको हाउगुजी फैलाएर सस्तो मूल्यमा शेयर उठाउने खेल हुँदा शेयर बजारमा अनअपेक्षित पहिरो गयो ।
पछिल्ला केही दिनकाे कारोबार हेर्दा बजार छिनभरमै ह्वात्तै बढ्ने र घट्ने गरेको छ । ठूला खेलाडि बजार घटाएर शेयर उठाउने ध्यानमा लाग्दा बजारमा यस प्रकारको घटबढ हुने गर्छ । उच्च वृद्धि र उच्च गिरावट बजारका लागि सधै घातक हुने गरेको छ ।
बुधबार नेप्से सूचक ६८.४७ अंकले घटेर १४४१.२० अंकमा झरेको छ । यसदिन बजारमा १७४ कम्पनीको २ अर्ब ९० करोड बढीको शेयर किनबेच भएको छ । बजारमा उतारचढाब देखिएपनि पछिल्लो समयमा कारोबार रकमले भने बजारलाई साथ दिँदै आएको छ ।
बुधबार शेयर बजारमा पनि अधिकांश लघुवित्त कम्पनीको शेयर मूल्य उच्चदरले घटेको छ । राष्ट्र बैंकले लाभांश वितरणमा केही कडाई गरेपछि यसको प्रभाव लघुवित्तको शेयर बजारमा देखिएको छ ।













































































































































































































