५ जेष्ठ २०८१, शनिबार

 

पाण्डुकेश्वर गुफासम्म पुग्न पर्यटन पदमार्ग निर्माण

गलकोट नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहाँसिक एवं पर्यटकीय हिसाबले महत्वपुर्ण क्षेत्र हो । गलकोट नगरपालिकामा धेरै यस्ता महत्वपुर्ण स्थलहरु छन । विस्तारै पुर्वाधार विकास सँगसँगै प्रचार प्रसार हुन थालेपछि अहिले आन्तरिक पर्यटकहरुको समेत यी स्थानहरु रोजाईमा परेका छन ।

यस्तै मध्यको एक महत्वपुर्ण पर्यटकीय गन्तव्य हो गलकोट नगरपालिका ७ र ९ को सिमाना न्याय खोलामा अवस्थित पाण्डुकेश्वर गुफा । पाण्डुकेश्वर गुफा आफैमा विचित्र खालको गुफा छ । यसको आफनै धार्मिक एवं ऐतिहासिक महत्व छ । परापुर्वकालमा यस गुफामा बालाचतुर्दशीमा श्रदालु भक्तजनहरुको घुँईचो समेत हुने गर्दथ्यो ।

यस गुफा भित्र विभिन्न प्रकारका कलात्मक आकारहरु देख्न पाईन्छ । यहाँ मानिस जाँदा जति मानिस जान्छन त्यति नै पानीका लहराहरु झर्ने गर्दछन । गाईका थुन, सर्पको जस्तो आकारहरु गुफा भित्र देख्न पाईन्छ भनें गुफामा पूजा आजा पनि गर्ने प्रचलन छ । पाण्डुकेश्वर गुफालाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले गलकोट नगरपालिकाले पहल थालेको छ । गलकोट नगरपालिका वडा नं ९ ले बाँसखोला विशारे बुटा देखि गुफा सम्म पदमार्ग निर्माण गरेको छ ।

झण्डै साढे २ किलोमिटर पदमार्ग निर्माणको लागि वडा नं ९ ले ५ लाख खर्च गरेको वडा अध्यक्ष तेज बहादुर थापाले जानकारी दिनुभयो । वडा अध्यक्ष थापाका अनुसार पहिले साँघुरो र निकै अफ्ठ्यारो गोरेटो बाटोमा जोखिमपुर्ण यात्रा गर्नु पर्ने बाध्यता पदमार्गको निर्माण सँगै हटेको छ । मध्यपहाडी लोकमार्गसँग जोडिएको बाँसखोला देखि माथि गाउँसम्म कच्ची सडक पुगेको छ ।

अब गुफा नजिक सम्म सडक पुराउन वडाले आवश्यक तयारी समेत गरिरहेको वडा कार्यालयले जनाएको छ । यता पाण्डुकेश्वर गुफासम्म पुग्न गलकोट नगरपालिका वडा नं ७ मल्मले समेत पदमार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०७५र०७६ को २ लाखमा पाण्डुकेश्वर गुफा देखि टिमलेचौर र ०७६र०७७ को २ लाख रकमबाट टिमलेचौरदेखि सिद्वेश्वर शिवालय मन्दिर सम्म झण्डै २ किलोमिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।

गुफा सम्म पुग्न बाटो अफ्ठ्यारो र जोखिमपुर्ण भएकोले जान आउन समेत कठिन रहेकोमा अब भनें सहजता भएको अध्यक्ष थापाको भनाई छ । गुफा नजिक झण्डै ५० मिटर बाटो अहिले पनि निकै अफ्ठ्यारो छ । त्यसलाई आगामी आर्थिक वर्षमा गलकोट नगरपालिका सँगको सहकार्यमा रेलिङ सहितको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो ।

गुफाको नजिक झरना समेत रहेको हुँदा त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई रमाउन थप सुविधा प्रदान गरेको छ । मल्म पाण्डवखानी सडकको यात्रा पछि नाच्ने डाँडामा पुगेपछि पाण्डुकेश्वर गुफा पुग्न करिब १० मिनेटको पैदल यात्रा गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्