११ कार्तिक २०८३, मंगलवार

 

पाँच सय वर्षपछि इतिहासमै पहिलोपटक चैते दसैँ मेला स्थगित

बागलुङ भगवती मन्दिरमा लाग्ने प्रसिद्ध चैते दसैँ मेला कोरोना भाइरसको संक्रमण फैलिने डरले स्थगित भएको छ । सरकारले संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रत्येक रामनवमीमा लाग्ने गरेको मेला स्थगित गर्नुपरेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए ।

यसअघि यसरी मेला स्थगित भएको इतिहास छैन । ४ सय ८५ वर्षपछि बागलुडकै इतिहासमा पहिला पटक परम्परागत मेला स्थगित भएको छ । पहिला मन्दिरको नाम आजभोलि जस्तो कालिका भगवतीभन्दा पनि जनबोलीमा माइथान भन्ने. चलन थियो ।प्राय सबैले माइथान जाने भन्ने गथ्र्ये।

यसपटक गुठीले देवीभागवत पाठसहित १० दिन मेला सञ्चालन गरी रथ बागलुङ बजार घुमाउने कार्यक्रम तय गरेको थियो । अध्यक्ष खड्काको नेतृत्वमा भौतिक सुधारका धेरै काम भएको मन्दिरमा टाढाटाढाबाट धेरै भक्तजन आउने गरेका थिए ।

परम्परागत मेलालाई गुठीले विसं २०६९ औपचारिक रूपमा दिन थालेको हो । गुठीले सुरुमा ५ दिन हुँदै पछि १० दिनको व्यवस्थित मेला मन्दिरको बाल–उद्यानमा आयोजना गर्दै आएको थियो । त्यसअघि बागलुङ उद्योग वाणिज्य संघले २०४९ सालदेखि बागलुङ बजारको धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा मेला गर्दै आएको थियो ।

वाणिज्य संघ अध्यक्ष विराटकुमार श्रेष्ठ, कालिका गाउँविकास समिति अध्यक्ष कृष्णराज अधिकारी, बाल संगठन बागलुङका अध्यक्ष हरिप्रसाद श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी बागलुङका तत्कालीन महामन्त्री विश्वनाथ रेग्मी मिलेर परम्परागत मेलालाई व्यापार व्यवसायसँग जोडी आधुनिक रूप दिएका थिए ।

सबैभन्दा पहिला पर्वतका राजा प्रतापी नारायण मल्लले विसं १५९१ मा रानी विश्रवादेवी सेनले विवाहसँगै ल्याएको कालिका भगवतीको मूर्ति बागलुङ चौरको बाङ्गेचौरमा स्थापना गरेका थिए । पर्वत राज्यअन्तर्गत रहेको यस भूभागका जनताको राज्यसँग राम्रो सम्बन्ध बनाउन परम्परागत मेलाले सहयोग पुगेको थियो ।

पाल्पाकी राजकुमारी विश्रवादेवीले बाल्यकालदेखि पूजा गरिरहेको कालिकादेवीको मूर्ति आफूसँगै ल्याएको किंवदन्ती छ । उक्त मूर्ति सुरुमा पाल्पा दरबारबाट कसैले उठाउन नसकेपछि दरबारमा अचानक प्रकट भएको मानिसले उठाएको थियो । पाल्पाबाट पर्वतमा विवाहको जन्ती आउँदा कालिका भगवतीको मन्दिर रहेको ठाउँबाट उक्त मूर्ति कसैले पनि उठाउन नसकेको कथन छ । पाल्पाबाट मगरहरूले डोला र चक्र पुँवरले खड्ग बोकेर ल्याएका थिए ।

पुँवर कालिका भगवती मन्दिरको पहिलो पुजारी भएको गुठीका अध्यक्ष खड्काले बताए । पुँवरहरू पाल्पा दरबारको सेनामा जागिर गर्ने क्षेत्रीहरू थिए । कालिका भगवती मूर्ति उठाउन नसकेपछि राजा प्रतापी नारायण मल्लले कुँवरलाई पुजारीको जिम्मेवारी दिएर त्यस ठाउँमा मन्दिर स्थापना गरेको थिए ।

राजाले मन्दिरमा नित्य पूजा चलोस् भनेर बागलुङ बजारको गुठी टोलसम्मको धेरै जग्गा मन्दिरको नाम राखेका थिए । तिनै चक्र पुँवरको थर पछि खड्का भएको हो । डोला बोकेर ल्याएका मगरहरूलाई पछि लम गाउँमा सारिएको थियो । मन्दिरमा चैत्रशुक्ल अष्टमी र नवमीमा ठूलो मेला लाग्छ । अष्टमीको राति १२ बजेदेखि बिहान ५ बजेसम्म कालरात्रिको पूजा, तपस्या र ध्यान गरेर वर माग्ने चलन थियो । निःसन्तानहरू कालरात्रिमा सुटुक्क घरबाट आएर रातभर जाग्राम बसी सन्तानप्राप्तिको कामना गर्थे ।

अहिले पनि मानिसहरू टाढाटाढाबाट कालरात्रिमा पूजा गर्न आउने क्रम नरोकिएको अध्यक्ष खड्काले जानकारी दिए । आजकल राति १० बजेदेखि नै पूजा र तपस्या गर्ने चलन छ । परम्परागत मेला धेरै दिनसम्म चल्थ्यो । बागलुङ बजारको किनारा टोलमा पन्ध्र–बिस दिनसम्म पनि मेलाको चहलपहल रहन्थ्यो ।

भकारीले बारेका पसलहरूमा व्यापारीहरू धेरैथरी सामान राखेर मेलामा आएकाहरूलाई बेच्ने गर्थे । स्थानीय जग्गाधनी राजभण्डारी साहूहरूले मेलाकै लागि गाउँगाउँमा भकारी बनाउन लगाएर झिकाउँथे । बाङ्गेचौरमा मेलाका अवसरमा घोडा दौड र थलो फाल्ने, विजेतालाई अबिर लगाएर काँधमा बोकी बागलुङ बजारमा डुलाउने चलन रहेको समाजसेवी देवबहादुर श्रेष्ठ बताउँछन् ।

मेलामा म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, रुकुम, रोल्पा, पाल्पा, बुटवलदेखि पूजा गर्न, सामान बेच्न, प्रतियोगितामा भाग लिन मानिसहरू आउने गर्थे । समूहसमूहमा झाम्रे, यानिमाया, सालैजोलगायत गीत गाउने चलन थियो । गीत गाउने तरुनीहरूले सोलेमा सेलरोटी, अचार ल्याउँथे । तरुणहरूले जाने बेलामा तरुनीको हातमा चुरा, पोते र टीका दिएर पठाउने चलन थियो ।

दोहोरी गीतमा जो हाथ्र्यो उसले विजेतासँग विवाह गर्नुपर्ने नियम थियो । कुन दिन तरुनी भेट्ने र गीत गाउने भन्ने कुरा एक वर्षअगाडिको मेलामै सल्लाह हुन्थ्यो ।

त्यति बेलाको कृषियुगमा देवीका भक्तहरूले मन्दिरमा पूजाअर्चना गर्नुका साथै आफूलाई चाहिने सामान किनेर लैजाने चलन थियो । त्यस बेला बाङ्गेचौरमा रुकुम, रोल्पा, गुल्मी, पाल्पा र बुटवलदेखि राडी, पाखी, डोको, डालो, काम्लो, आसी, खुकुरी, हँसिया, घाजी, मादल, डम्फु, शिलाजित, मुलाको धजरा, सिरम्ला, मकै, खसी, बोका, राँगो, ठेकी, हलो, झागा, मादल, डम्फुलगायत बेच्न राखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung