३१ बैशाख २०८२, बुधबार

 

कोरोनाको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

कोरोनाको सन्त्रासपछि कतारले कोठाभित्रै बस्न भनेको नियम नमानेपछि बिहीबार १५० जना नेपालीलाई डिपोर्ट गरिरहँदा नेपालमा ह्यात, सोल्टीलगायत अन्य पाँचतारे होटलले सेवा बन्दकाे निर्णय गरे ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स र पर्यटन यी दुई क्षेत्रको भूमिका बढि छ ।  तर, यी दुई क्षेत्रमा कोरोनाको कहरले नेपालको अर्थतन्त्र शिथिल हुने अनुमान गर्न सकिन्छ । कोरोनाको सन्त्रास लामो समय नदेखिए तत्काल रिभाइभ हुने र त्यसको ठूलो असर नदेखिने संभावना पनि उत्तिकै छ ।

तर यो कहिलेसम्म जाने र कुन प्रकारले जाने भन्ने विषयमा कुनै प्रक्षेपण गर्न सकिने अवस्थामा छैन । कोरोनाले रेमिट्यान्स र पर्यटन मात्र होइन्, यसले  बहुआयामिक असरको संकेत देखा परिसकेको छ ।

नेपालको कुल ग्रार्हस्थ उत्पादनमा रेमिट्यान्सको २५ प्रतिशत योगदान छ । पर्यटन उद्योग त द्रूत गतिमा अघि बढेको आर्थिक क्षेत्र नै हो । पर्यटन ठूला उद्योगमध्ये सातौं स्थानमा पर्छ । यसको जीडीपीमा योगदानमा करिब ४ प्रतिशतमा उक्लिसकेको छ ।

अर्थतन्त्रको कुल रोजगारीमा पर्यटन क्षेत्रको २० प्रतिशत हिस्सा रहेको तथ्याङ्क छ । तर, पर्यटकीय सिजनमै धक्का लाग्दा परेको प्रभावको मूल्याङ्कन पछि होइन अहिले नै लागत राखेर गर्न जरुरी छ ।

कतारले बिहीबारमात्र होइन त्यसअघि २५० जना नेपालीलाई पनि डिपोर्ट गरेको थियो । कोरोनाकै कारण कामको खोजीमा कतार पुगेका ४०० जना नेपालीले रोजगारी गुमाउनु पर्यो । नेपाली रहेका विभिन्न मुलुकमा ‘लक्डडाउन’ भएको छ । नेपालबाट विदेश जान पनि रोक भइसकेको छ । दैनिक उपभोग्य खर्चमा रेमिट्यान्सको करिब ८० प्रतिशत रकम खर्च हुन्छ । रेमिट्यान्स ठप्प हुँदा हाम्रो अवस्था कस्तो होला ?

थोरैमा एक महिना मात्र यस्तो स्थिति रह्ये  भने पनि यसले नेपालको अर्थतन्त्रको संरचनालाई केही परिवर्तन त अवश्य गर्छ ।  नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित बिरामीको उजागर भएको छैन । नहोस् पनि, त्यही कामना गरौं । तर यसको चक्रिय प्रभाव भने हाम्रो आर्थिक, सामाजिक, राजनैतिक र न्यायिक सबै क्षेत्रमा परिसकेको छ ।

यी मध्ये मानवजीवन पछाडी सबैभन्दा संवेदनशील क्षेत्रको रुपमा आर्थिक क्षेत्रलाई लिइन्छ । अर्थतन्त्रको मुख्य खम्बाको रुपमा लिईने निजी क्षेत्र कोरोनाका कारणले सबैभन्दा बढी प्रताडित हुन्छ ।

सडकमा बदाम बेचेर जीविकोपार्जन गर्नेहरुदेखि पाँचतारे होटल चलाएर सरकारलाइ मनग्गे राजस्व बुझाउनेहरुसम्म बर्तमानमा समान रुपले पीडित हुनेछन् । अर्थतन्त्रलाई चलायमान राख्ने मुख्यस्रोत भनेको मानिसहरु हुन्, तर आज तिनै मानिसहरु स्वः कारागारमा बस्न बाध्य छन ।

अर्थात भन्न सकिन्छ, हाम्रो अर्थतन्त्र अहिले चक्रव्यूहमा प्रवेश गरिसकेको छ र यसको निकास महाभारतका अभिमन्यूको जस्तो मृत हुन्छ वा जीवितै हुन्छ त्यो भविष्यको गर्भमै छ ।

२०७२ को विनाशकारी भूकम्प त्यसपछिको नाकाबन्दी र अहिले कोरानाको सन्त्रास । नेपालको निजी क्षेत्रले व्योहोर्नुपरेको अध्याँरा पाटाहरु हुन् । निजी क्षेत्र स्वयम् आफ्ना लागि मात्र होइन । मुलुकका समृद्धिका सारथी पनि हुन्  । त्यसैले हरेक अप्ठ्यारो समयमा सरकारको हौसला कायम हुन जरुरी छ ।

अर्थतन्त्रलाई चलायमान राख्नका लागि मानिसहरुको आवतजावत, किनमेल, उपभोग, सिर्जना, लगानी, जोखिमबहन, व्यावसायिकता, उद्यमशीलता सवैको आवश्यकता पर्दछ । तर अहिले यी सबै कुराहरुमा घोषित अघोषित रुपमा प्रतिबन्ध छन् । नेपालमा बर्षेनी करीब करोडौं मान्छेहरु आफनो थातथलो छोडेर अर्को गन्तव्यमा विभिन्न प्रयोजनका लागि आवतजावत गर्दछन् ।

सार्वजनिक सवारीका साधनहरु, निजी सवारीका साधनहरु, हवाईमार्ग र पदयात्राका माध्यमद्धारा यात्रा तय गर्ने गरिन्छ । भनिन्छ, नेपालमा करीव ४ लाख सार्वजनिक सवारीका साधनहरु प्रयोगमा छन् । यात्राको दूरी लामो या छोटो हुनसक्छ तर यसको उपभोग गर्नेहरुले निश्चित शुल्क तिरेका हुन्छन ।

४ लाख सवारीसाधनमा औसतमा २ जनाले मात्र पनि रोजगार पाएका छन भनेर अनुमान गर्दा ८ लाख मानिसहरुको रोजगारी धरापमा परेको छ । ८ लाख मानिसहरुका ४ जनाको परिवार मात्र हिसाव गर्दा पनि ३२ लाख जनाको जीवनका बारेमा सोच्नुपर्ने हुन्छ । ४ लाख सवारी साधनमा लगानी गर्ने सवारीधनीहरुको पुँजी र प्रतिफलका बारेमा पनि सोच्नुपर्ने हुन्छ ।

मानिसहरुलाई चलायमान राख्ने अर्को साधन भनेको हवाईसेवा हुन । आन्तरिक उडानहरु मार्फत सन २०१८ मा करीव २९ लाख मानिसहरु आवतजावत गरेको तथ्याङ्क छ । नेपालमा हवाईक्षेत्रमा सेवा पुर्यारईरहेका करिब २० वटा भन्दा बढी कम्पनीहरु छन । यी कम्पनीका साधनहरु अहिले काम विहीन अवस्थामा छन । यी कम्पनीहरुसँग आश्रित मानिसहरुको संख्या पनि लाखौंमा छ ।

एकातिर बेरोजगार अर्कोतिर घरपरिवार, समस्याको दोबाटोमा उभिंदा यिनले कस्तो भविष्य देख्दा हुन विचार गर्नुपर्ने पक्ष छ । यो क्षेत्रका लगानीकर्ताहरुको पुँजी र प्रतिफलका बारेमा पक्कै पनि ध्यान जानु पर्दछ । त्यसैगरी, सन् २०१८ मा नेपालमा करीव ३४ हजार वटा अन्तर्राष्ट्रिय उडानहरु मार्फत करीव ४४ लाख मानिसहरुको आगमन भएको थियो । जुन अहिले धेरै कम भएको छ र केही दिनमा पूर्णतया बन्दनै हुने देखिन्छ ।

पर्यटनक्षेत्रका अन्य कडीहरुको पनि अवस्था नाजुक नै छ । ठूलो लगानी रहेको पर्यटन क्षेत्र अहिले बन्दप्राय स्थितिमा छन् । सरकारको पछिल्लो तथ्यांक अनुसार अहिले देशभर १३६ तारे होटेल छन् । १ हजार १२५ वटा पर्यटकीय स्तरका होटेल छन् ।  सन २०१९ मा यी होटलहरुले करीव १२ लाख पर्यटकहरुलाई सेवा दिएका थिए ।

तर यो वर्षको प्रारम्भ देखिनै यो क्षेत्रले कोरोनाको कहर सहनु परेको छ । यी होटलहरुसँग पनि हजारौं मानिसहरु प्रत्यक्ष अप्रत्यक्षरुपमा जोडिएका छन् । जसको कमाईमा लाखौं परिवारका सदस्यहरुको भविष्य जोडिएको छ । अनिश्चित भविष्यसँग यिनले कतिञ्जेल लुकामारी खेल्नुपर्ने हो, त्यो पनि अनिश्चित नै छ ।

अबौं रुपैयाँ लगानी गरेका होटल व्यवसायीहरुले अहिले सर्वाधिक चिन्तित छन् । आलिसन लाग्ने भव्य भवनहरु खण्डहरमा परिणत भएको मात्र छैन, लगानी र प्रतिफलको सुनिश्चितताका लागि मौन बस्ने कि चिच्याएर बिरोध गर्ने दुविधामा छन् । टाभल्स र ट्रेकिडसँग जोडिएकाहरुको पनि यही हालत छ ।

हामीले अघिल्लो बर्ष देशले करीव ८८० अर्ब रूपैयाँ रेमिट्यान्स रकमको रुपमा बिभिन्न देशहरुबाट प्राप्त गरेका थियाे । तर अहिले ती सबै देशहरुले आफुलाई निषेधको अवस्थामा राखिसकेका छन् ।

मेडिकल, अस्पताल र खाद्य सामग्री बाहेकका सबै संस्थाहरु बन्द प्राय छन् । घरैबाट काम गर्ने स्तरका हाम्रा नेपालीहरुको संख्या बिदेशमा धेरै कम छ । नेपालको जीडीपीमा करीव २५ प्रतिशतको योगदान गर्ने यो क्षेत्रलाई पनि कोरोना भाइरसले खोक्रो बनाउने छ । किनकी बिदेशमा रहेका ठूलो जनसंख्या काम र कमाई विहीन अवस्थामा  पुगेका छन् ।

अझ विदेशमा रहेका नेपालीहरु ती देशहरुबाट धमाधम डिपोर्ट भने के परिणाम हामीले भोग्नुपर्ला अनुमान गर्न गाह्रो छ । करीव ६० प्रतिशत घरपरिवारले रेमिट्यान्सको भरमा गुजारा चलाउने गरेको तथ्य सरकारी र गैरसरकारी सर्वेक्षणहरुले देखाएका छन् । कोरोनाका कारण रेमिट्यान्स रकममा पनि यस वर्ष भारी गिरावट आउन गई अर्थतन्त्रलाई नै असन्तुलन तिर धकेलीदिने सम्भावना व्यापक छ ।

हाम्रो वैदेशिक व्यापारको सन्तुलन विगत देखिनै नकरात्मक छ । हामी दशकौंदेखि व्यापार घाटाबाट गुज्रिदै आएका छौं । हाम्रा उद्योगधन्दाहरु  बाह्य कच्चा पदार्थहरुमा आश्रित छन् । निर्यातको तुलनामा आयातको आकार कैयौं गुणा ठूलो र अकल्पनीय छ । कृषि भन्दा बाहेकका सबै उद्योगहरु भारत र चीनमा बढी आश्रित छन भने केही अन्य राष्ट्रहरुले पनि थेगेका छन ।

भारतमा भर्खर कोरोनाको प्रभाव देखिन थालेको र यो उत्कर्षमा पुगेको अवस्थामा हाम्रा उद्योग धन्दाहरुले ठूलो अभाव झेल्नुपर्नेछ । हुनत् अहिलेनै विभिन्न वस्तुहरुमा कटौती सुरु भईसकेको छ, तर हामीले यसको रौद्ररुप हेर्नै बाँकी छ ।

औद्योगिक क्षेत्रले पनि यसपाली हाम्रो आर्थिक बृद्धिलाई चुनौती थपिदिने छ र योसँग प्रत्यक्ष जोडिएका हजारौं कामदारका लाखौं घरपरिवारले अरु सङ्र्घषपूर्ण दैनिकीबाट गुज्रिनुपर्ने छ । उद्योग व्यापारका लगानीकर्ताहरुले पनि आफ्नो लगानी र प्रतिफलबाट बिमूख हुँदै राम्रा दिनहरुको पर्खाइमा समय व्यथित गर्नुको बिकल्प रहनेछैन् ।

विदेशी कामदारको अभावमा राष्ट्रिय गौरवका योजनाहरु समेत निर्माणमा ढिलाई हुन थालिसकेको छ । निर्माणका चरण रोकिएका कारणले विनियोजन बजेट पनि खर्च गर्न नसकिएको अवस्था छ ।

शिक्षा क्षेत्रका सबै तहका विद्यालय र विश्वबिद्यालयका पठनपाठनहरु रोक लगाइएका छन् । जसका कारण छोटै समयका लागि भए पनि बिद्यार्थीहरुको बृत्तिविकास रोकिएको छ ।

निजी तथा सरकारी शैक्षिक संस्थाहरुमा पनि हजारौं व्यक्तिहरु रोजगारीमा जोडिएका छन् । शैक्षिक संस्थाहरुका प्रर्वद्धक पनि नयाँ भर्नाका बेलामा पाक्नै लागेको बालीबाट टाढिएका छन् ।

यस्तो अवस्थामा आशाको सानो त्यान्द्रो बाँकी रहेको क्षेत्र भनेको कृषि क्षेत्र मात्र हो । मौसमी अनुकूलताले गर्दा बालीहरुको उत्पादन मनग्गे भईदियो भने यसले अर्थतन्त्रमा केही भरथेग गर्न सक्थ्यो । तर राज्यले बीउबीजन र मलखादको व्यवस्था कत्तिको गरेको छ, त्यसमा कृषिको वृद्धि निर्भर गर्दछ ।

पूँजी बजारको अवस्था पनि सन्तोषजनक देखिदैन् । सन्त्रासले लगानीकर्ताले पैसा गुमाउँदै गए भने त्यसको प्रभाव चौतर्फी देखिन्छ । बजार निरन्तर घट्ने संकेतहरु देखिसकेका छन् । सन्त्रासकै कारण बजार बन्द गर्नुपर्ने आवाज उठिसकेको छ । बजार नै बन्द भए कारोबार हुने कुरै भएन । ठप्प कारोबारले सेयर बजारमा आश्रित जनतालाई सिधैं असर पार्ने छ ।

यी लगायत अर्थतन्त्रका अन्य क्षेत्रहरुसँग पनि परस्पर सम्बन्ध भएको एउटा अर्को क्षेत्र भनेको बैंकिङ हो । निजीक्षेत्रद्धारा प्रर्वद्धित प्राय सबै उद्योग व्यापारमा बैंकहरुले कर्जा लगानी गरेका छन् । अहिले ती कर्जाहरुको सुरक्षालाई लिएर बैंकहरु चिन्तित बन्नुपरेको छ । आफूले लगानी गरेको उद्योग व्यवसायले बेहोर्न परिराखेको समस्याहरुलाई टुलुटुलु हेरिराख्न बाहेकको विकल्प बैंकहरुसँग पनि छैन ।

उद्योग व्यवसायहरु धमाधम बन्द हुन थालेका छन । उत्पादन र बिक्री नभएपछि तिनको पनि वित्तीय सन्तुलन डगमगाउँछ र बैंकको साँवा व्याज तिर्न पनि गाह्रो पर्दछ । यो समस्या साना, मझौला र ठूला सवै खाले ऋणीहरुले समान रुपमा व्यहोर्नुपर्ने हुन्छ । कोरोना भाइरस संक्रमणको आयु र बिस्तार जति लामो र बृहत हुँदै जान्छ त्यतिनै उद्योग व्यवसायको अस्तित्व समाप्त हने सम्भावना बढदै जान्छ ।

यदि त्यसो भयो भने लगानी, कर्जा, आम्दानी, रोजगारी, राजस्व लगायत अन्य धेरै कोणबाट यसले अर्थतन्त्रमा नकरात्मक प्रहार गर्दछ । बैंकहरु नेपाल सरकारका निश्चित नीति नियमहरुद्धारा बाँधिएका हुन्छन । राष्ट्र बैंकद्धारा निर्देशित र नियमित गरिएका हुन्छन यसैले यिनले आफना ग्राहकहरुलाई सामान्य किसिमका बाहेक ठूला सहयोगको हात बढाउन सक्दैनन् ।

अस्तित्वनै सकिँदै छ भन्दै गर्दा पनि निर्ममतापूर्वक आँखा चिम्लिनुको बिकल्प बैंकहरुसँग प्राय हुँदैन । तर यसपालीको समस्या भने बेग्लै किसिमको र फरकखालको भएकोले राज्य र बैंकहरुले पनि केही प्रभावकारी उपायहरुको खोजी गर्नुपर्ने देखिन्छ । जसबाट सर्प पनि मरोस्, लौरी पनि नभाँचियोस खालको परिणाम आओस् । तब मात्र कोरोना भाइरसको चक्रव्यूहबाट अर्थतन्त्र जोगिन सक्छ ।
     

क्यापिटल नेपालबाट                                                                                  (शेरचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ) 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung