
श्रीमद्भागवत पुराणमा एक प्रसङ्ग छ, सत्यवादी भनिएका राजा हरिश्चन्द्र र अहिंसावादी एक बाहुनको । सत्यवादी भनिएका राजा कसरी सबभन्दा अवसरवादी भए र अहिंसावादी बाहुन कसरी सबभन्दा हिंसावादी भए हरिश्चन्द्र झूट नबोल्ने, छलछाम नगर्ने एक सत्यवादी राजा थिए ।
उनको कृति सत्यवादी भनी जगत्मा फैलिएको थियो । बाहुन स्वभावैले शाकाहारी थिए । उनी हिंसात्मक हुने कुरै भएन । हरिश्चन्द्रका सन्तान थिएनन् । सन्तान प्राप्तिका लागि यिनले वरुणको तपस्या गरे ।
वरुण प्रकट भएर वर माग्न भने, यिनले सन्तानको वर मागे । वरुणले ‘तिमीलाई सात जन्मसम्म सन्तानसुख लेखेको छैन, अरू नै वर माग’ भने । राजाले अलापविलाप गरी सन्तान नै पाउँ भनी अड्डी लिएकाले वरुणले ‘मुख हेर्नसम्मका लागि छोरो दिन्छु तर मुख हेरेपछि मलाई त्यसको बलि दिनुपर्छ, मञ्जुर छ भने भन’ भने ।
राजाले हुँदै नहुनुभन्दा एक पटक भए पनि छोराको मुख देख्न चाहे । सर्त मञ्जुर गरे । जब छोरो जन्म्यो, राजाले मुख हेरेर आत्मसन्तुष्टि लिए । उनलाई छोराको बलि कसरी टार्ने हो, कसरी आफूसँगै राख्नने हो भन्ने चिन्ता सुरु भयो । अब उनको सत्यवादिता डगमगायो । वरुण कबोलअनुसार बलि लिन आए । राजाले अब जालझेल सुरु गर्न थाले ।
‘सूतकका बेला यज्ञादि शुभकार्य गर्न हुन्न, न्वारान गरेपछि यज्ञ गर्ने र छोराको बलि गर्ने’ भने । न्वारानपछि वरुण फेरि आए । फेरि हरिश्चन्द्रले ‘व्रतबन्ध नगरेसम्म बालक बलियोग्य मानिँदैन, व्रतबन्धमा यज्ञादि कार्य गरेर बलि दिने’ कुरा गरे । जब छोरो व्रतबन्धका लागि योग्य भयो । उसलाई सबै गुह्य कुरा बताएर भगाए ।
पुनः वरुण छोरो माग्न आए । हरिश्चन्द्रले छोरो भागेर बपत्ता भएकाले आफ्नो वाचा पूरा गर्न असमर्थ भएको लाचारी प्रकट गरे । वरुण रिसाएर ‘तँलाई पाण्डु रोग लागोस् ।
तँ हिँड्न–डुल्न नसक्ने भएर बाँच्न परोस्’ भनी श्राप दिए । श्रापबाट मुक्ति पाउन राजाले वरुणकै तपस्या गरे । वरुण प्रकट भएर छोराको बलि दिन नसके पनि एक बाहुन कुमार वटुकको बलि दिए श्राप फिर्ता लिने भने । राजालाई एक बाहुन केटा किन्न केही कठिन थिएन । आफ्ना मान्छेहरूलाई चारैतर्फ पठाए ।
त्यस समयमा बाहुनहरू अन्य उत्पादनका काम गर्दैनथे । दान–सिदाबाट गुजारा गर्थे । त्यसैले प्रायः बाहुन गरिब थिए । तर जति गरिब भए पनि कसैले आफ्नो छोरा बेच्न तयार भएनन् । खोज्न गएकाहरू रित्तो हात फर्के । बाहुनमध्ये एक अलि हुने–खाने थियो । उसलाई बालक खोज्न गएकाले सोधखोज नै गरेनन् । उसका तीन छोरा थिए ।
श्रीमान्–श्रीमतीले यो कुरा थाहा पाए । उनीहरूलाई अझ धनको इच्छा जाग्यो । आपसमा सल्लाह गरे । जेठो बाबुको भयो, कान्छो आमाको भयो । माइलो बेचिने भयो । त्यो द्रव्यपिशाचले आफ्नै छोरालाई राजाकहाँ लगेर बेच्यो । राजालाई कानाले आँखा पाएजस्तो भयो । अब यज्ञ सुरु भयो । बालकलाई बलि मौलोमा बाँधियो ।
पण्डित भनिएका नरपिशाचहरूले यज्ञ सुरु गरे । शास्त्रका मन्त्रहरू उच्चारणसहित यज्ञ–होम भए । मौलोमा बाँधिएको बिचरो बालकको अलापविलापमा कसैको चासो भएन ।
किनकि यो धर्मशास्त्रअनुसारको काम थियो । जब बलि दिने बेला भयो, खुकुरी चलाउन कोही तयार भएन । उसैको दुष्ट बाबु ‘पहिला दिए जति पैसा थप दिए आफैं मार हान्न तयार छु’ भन्दै अघि बढ्यो । जब मानिस नैतिकताबाट तल झर्छ, पहिला जस्तोसुकै सज्जन, इमानदार सत्यवादी भए पनि त्यसभन्दा खराब अरू कोही हुन्न भन्ने यस कथाले देखाउँछ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्व तहका मुख्य नेताहरू पनि पहिला साँच्चै सत्यवादी, इमानदार थिए । गरिब बाहुनहरूले आफ्ना छोराछोरीलाई गरेजस्तै सर्वहारा मजदुर–किसानलाई माया गर्थे ।
जब युद्धमा हरिश्चन्द्रलाई जस्तो सङ्कटको घडी आयो, विदेशी साम्राज्यवादी प्रभुको शरणमा गए । प्रभुले ‘अब सर्वहारा मजदुर, किसानको बलि देओ । तिमीहरूले हाम्रा लागि काम गर, स्वत तिमीहरूको पनि व्यक्तिगत भलो हुन्छ’ भन्ने वरदान दिए ।
अहिले सोहीअनुसार काम गरिरहेछन् । कोरोनाजस्तो महामारी नियन्त्रणका सामग्री खरिदमा पनि धनका लागि छोरा काट्न तयार हुने बाहुनले जस्तो हर्कत देखाएका छन् । पतनको अन्तिम चरणमा पुगेका उनीहरूबाट अब सर्वसाधारण जनताको त के कुरा, पार्टीकै इमानदार नेता–कार्यकर्ताकै बलि हुने देखिन्छ ।
मौलोमा बाँधिसकेका छन् । यस्तोमा अब केही घण्टापछि हुने पोलिटब्युरो नामको यज्ञमा इमानदार नेता–कार्यकर्ता सामूहिक बल प्रयोग गरेर निष्कनु नै श्रेष्ठकर छ । नैबेद–प्रसाद गर्न लागे पालैपालो गरी दलालबाहेकाहरूको जिन्दगी सिद्धिनेछ । एक असफलको स्थानमा अर्को असफल ल्याउनु पनि असफलता नै हो ।
यसै दलाल पुँजीवादी व्यवस्थामा भए पनि फाँसीवाद रोक्न सक्ने नयाँ अनुहारबाट सरकार परिवर्तन भएमा त्यसलाई पनि वर्तमान समयको प्रगति नै मानिनेछ ।
यी हरिश्चन्द्रजस्ता भएका ‘सत्यवादी’ र धनका लागि जस्तोसुकै कुकर्म गर्न पछि नपर्ने त्यही बाहुनको प्रतीकका रूपमा रहेका नेताहरूको जालझेलमा पर्नु अझै पतनको बाटो समाउनु हो ।