सरकारले वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी, व्यवसायीलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ। आगामी आर्थिक वर्ष ०७७ र ७८ को बजेटमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६ र ७७ को आय विवरणअनुसार वार्षिक २० लाखसम्म कारोबार गर्ने साना उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट दिइने बताए ।
त्यस्तै २० लाखदेखि ५० लाखसम्मको कारोबार गर्ने व्यवसायीलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोडसम्मको कारोबार गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
सरकारले लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप थरी ७ वर्ष पुर्याएको छ । महिला उद्यमीद्वारा सञ्चालित लघु उद्योगलाई ३ वर्ष थप गरी १० वर्ष पुर्याउँदै लघु बिमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर पनि हटाएको छ ।
सरकारले कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटल ट्राभल तथा ट्रेकिङ व्यवसायलाई आर्थिक वर्ष २०७६ र ७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने भएको छ ।
लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपक्षीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेसिनरी तथा कच्चा पदार्थ, कृषि फर्म र कम्पनीले पैठारी गर्ने कृषियन्त्र, उपकरण तथा धान, मकै, गहुँ र तरकारीको बिउ पैठारी गर्दा लाग्ने भन्सार महसुल घटाइएको छ।













































































































































































































