
थम्मन थापा, बागलुङ
गलकोट नगरपालिकामा भारतबाट आएकाको स्वाब संकलन थालिएको छ । जेठ ११ गतेसम्म नगर प्रवेश गरेका २६ जनाको शनिबार स्वाब संकलन गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।
नगरभित्र कोभिड १९ संक्रमणको जोखिम कम गर्दै उच्च सतर्कता अपनाउन पीसीआर परीक्षणको दायरा बढाइएको उनको भनाइ छ ।
गलकोट–१ दुदिलाभाटीस्थित सरस्वती माविको क्वारेन्टाइनका ९ जना, वडा नम्बर २ स्थित नरेठाँटी स्वास्थ्य चौकीको नयाँ भवनमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ३ स्थित गलकोट बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ४ स्थित खरुवा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ६ जना र १ जना चालकको स्वाब संकलन गरिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिइन् ।
भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको र रोजगारीका सिलसिलामा त्यहाँ गएका नागरिक धमाधम फर्कन थालेकाले नगरभित्र संक्रमण फैलिन नदिन क्वारेन्टाइन व्यवस्थापनसँगै परीक्षण तीव्र पारिएको उनले बताइन् ।
स्वाब संकलनका लागि ल्याब टेक्निसियन मनोज पुन, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदीसहित जनप्रतिनिधिको टोली सम्बन्धित ठाउँ पुगेको थियो । स्वाब संकलनका लागि आवश्यक किट तथा सामग्री जनस्वास्थ्य कार्यालय बागलुङले पठाएको थियो ।