
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शुक्रबारयता थप दुई जनाले कोरोनाका कारण ज्यान गुमाएको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ २८ गते वीरगन्जको घण्टाघरमा भेटिएको बेवारिस शवमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्दाजी २५ वर्षीय पुरुषको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएकोमा स्वाब परीक्षण गर्दा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
त्यसै गरी शुक्रबार वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार बाराको निजगढ नगरपालिका–६ का बालकलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगन्ज हेल्थ केयर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको उपचार क्रममै मृत्यु भएको हो ।