नेपाल धितोपत्र बोर्ड र संसदको अर्थ समितिका बीच आज अन्तरक्रिया समपन्न भएको छ । छलफल धितोपत्र बजार तथा नियमन सम्बन्धमा भएको नेपाल धितोपत्र बोर्डले जानकारी गराएको छ ।
अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल नेतृत्वको टोलीलाई बोर्डका उपकार्यकारी निर्देशक डा. नबराज अधिकारीले धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका बारेमा जानकारी गराए । अर्थ समिति सदस्य मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो व्यक्त गरेकी थिईन् । अर्की सदस्य राम कुमारी झाक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा जानकारी लिएकी थिईन् । लगानीकर्ता संघ तथा आर्थिक पत्रकार र आवश्यक परे अन्य नियमन निकायसंग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नु पर्ने बताईन् ।
उनले नेपालको पँजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउन उनले केही सुझाव समेत प्रस्तुत गरिन् । बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न आवश्यक रहेको समितीका तर्फबाट जानकारी गराइएको छ ।
अर्थ समितिका सभापति नारायण दाहालले नेपालको वित्तीय प्रणालीमा पूँजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको विचार व्यक्त गरे ।
त्यसैले बोर्डको दिगो विकासका लागि नितिगत रुपमा प्रतिवद्ध भएर लाग्न आवश्यक रहेको बताए । धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिएतापनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको दाहालको प्रतिक्रिया रह्यो । आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्नेविचार व्यक्त गरे । सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पुँजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागि उनले सुझाव दिए ।
साथै बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्ने उनको भनाई रह्यो । बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानुनी अड्चनलाई स्पष्ट पार्न समितिले भूमिका निर्वाह गर्ने प्रतिबद्धता दाहालले जनाए । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि आवश्यक व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभ कर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताए । साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको गिरीले बताए ।
बोर्डका अध्यक्ष भीष्म ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिए । पुँजी बजार संवेदनशिल बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको ढुंगानाले बताए ।













































































































































































































