
नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना संक्रमण देखिएको छ। बाँकी चार जना उडान कर्मचारी हुन्। एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो।
अरू सात जनाको पनि पहिलो पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको र क्रस भेरिफिकेसनको नतिजा आउन बाँकी रहेको स्रोतले जनाएको छ।एयरलाइन्सले आफ्ना पाइलटलगायत कर्मचारीलाई क्वारेन्टिनका लागि सोल्टी होटलमा राख्दै आएको छ।
उनीहरूले क्वारेन्टिनमा रहे पनि एयरलाइन्सको वार्षिकोत्सवमा केक काटेर रमाइलो गरेको खुलेको छ। त्यसैले त्यहाँ सहभागी सबै व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
एयरलाइन्सले आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५ वटा कोठा बुक गरेको छ।सरकारले नेपाल एयरलाइन्सबाट तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गर्दै आएको छ। यसअघि पनि हिमालय एयरलाइन्सका एक पाइलटसहित दुई जनामा संक्रमण देखिएको थियो।