नेतृत्वले साधारणसभाको मिति सारेपछि असन्तुष्ट बनेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालसहितको समूहले कार्यसमिति बैठक बोलाउन माग गरेको छ ।
त्यसका लागि ढकाल समूहले एक चौथाइ कार्यसमिति सदस्यको हस्ताक्षरसहित महासंघमा निवेदन दर्ता गराएको छ ।महासंघको विधानअनुसार एक चौथाइ कार्यसमिति सदस्यले लिखित रूपमा कार्यसमिति बैठक बोलाउन माग गरेको अवस्थामा नेतृत्वले बैठक डाक्नुपर्ने हुन्छ ।
महासंघमा ८० जनाको कार्यसमिति हुन्छ । हाल एसोसिएटतर्फका उपाध्यक्ष ढकाल, वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारीसहित २२ जनाले बैठक बोलाउन निवेदन दर्ता गराएका हुन् ।
महासंघ नेतृत्वले एकलौटी रूपमा साधारणसभाको मिति सारेको भन्दै ढकाल समूहले विरोध जनाइरहेको छ । हालको परिस्थितिमा महासंघको निर्वाचनलगायत विषयमा छलफल गर्नुपर्ने आवश्यकता महसुस गरिएकाले बैठक माग गरिएको निवेदनमा उल्लेख छ ।
हस्ताक्षर गर्ने अन्यमा कमलकुमार श्रेष्ठ, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, किशोरकुमार आचार्य, राजकुमार न्यौपाने, प्रकाशसिंह कार्की, आकाश अधिकारी, विनोद ढकाल, कमला श्रेष्ठ, जयप्रकाश शिवाकोटी, सुरेन्द्रकुमार श्रेष्ठ, हेमराज ढकाल, रविनकुमार श्रेष्ठ, गोपाल खनाल, भरतराज आचार्य, रामशरण थपलिया, डीबी बस्नेत छन् । पत्रमा अजय मुडभरीको नाम भए पनि हस्ताक्षर भने गरेका छैनन् ।













































































































































































































