२०७३ भदौ २९ मा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा १४ घण्टासम्म लोडसेडिङ थियो। नेपालको विद्युत जडित क्षमता ८ सय मेगावाट मात्रै पुगेको थियो। अहिले जडित क्षमता १४ सय मेगावाट पुगेको छ भने लोडसेडिङ अन्त्य भएको तीन वर्ष भइसकेको छ।
३१ वर्षको अवधिसम्म ३० लाख ननाघेका प्राधिकरणका ग्राहक घिसिङको कार्यकालमा वार्षिक औसत सवा चार लाखको हाराहारीमा थपिँदै गए। घिसिङले प्राधिकरणको नेतृत्व लिएयताको चार वर्षमा १८ लाखभन्दा बढी नयाँ ग्राहक थपिएका छन्।
विद्युत प्राधिकरण र सामुदायिक विद्युतीकरणका गरी अहिले करिब ४८ लाख ग्राहक छन्। चार वर्षअघि यी दुवै समूहमा गरी २९ लाख ७० हजार मात्रै ग्राहक रहेको प्रधिकरणको ३१औैं वार्षिक प्रतिवेदनमा उल्लेख छ। २०७२,७३ अघिसम्म वार्षिक सरदर एकदेखि डेढ लाख नयाँ ग्राहक थपिने गरेको प्राधिकरणको उक्त प्रतिवेदनले देखाउँछ ।

कुल ग्राहक संख्याको झन्डै ४० प्रतिशत घिसिङले पछिल्लो चार वर्षमै थपेका हुन्। सामुदायिकतर्फका कुल साढे पाँच लाख ग्राहकमध्ये झन्डै ९१ प्रतिशत (५ लाख) उनकै कार्यकालमा थपिएका हुन्।
यस्तै, चार वर्षअघि ३१ प्रतिशत रहेको औद्योगिक क्षेत्रको विद्युत खपत अहिले झन्डै ४० प्रतिशत पुगेको छ। औद्योगिक क्षेत्रमा खपत बढेसँगै प्राधिकरणको चुहावट १० प्रतिशतले घटेर १५ प्रतिशतमा सीमित भएको छ।
प्राधिकरणको आम्दानी १ सय १५ प्रतिशतले बढेको छ। करिब ६२ प्रतिशत जनसंख्यामा मात्रै रहेको विद्युत पहुँच चार वर्षको अन्तरालमा ९० प्रतिशत जनसंख्यामा पुगिसकेको छ।
यो चार वर्षमा दर्जन बढी रुग्ण आयोजना सम्पन्न भएका छन्। यसबीच ३० मेगावाटको चमेलिया, ६० मेगावाटको त्रिशूली–३ ‘ए’ र १४ मेगावाटको कुलेखानी–३ लगायतका रुग्ण जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको सान्जेन जलविद्युत् आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न हुँदै छन्।
४० मेगावाटको राहुघाट, १४० मेगावाटको तनहुँ र ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजना निर्माणमा गइसकेका छन् । त्यस्तै काबेली करिडोर १३२ केभी, अत्तरिया–दार्चुला १३२ केभी, खिम्ती–ढल्केबर २२० केभी, मातातीर्थ–त्रिशूली २२० केभी, कटैया–कुसाहा १३२ केभी र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइन पनि सम्पन्न भएका छन्।
४ वर्षमा ४ हजार २७५ सर्किट किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न भएको छ। यसअघि ३० वर्षसम्म जम्मा २ हजार ९ सय सर्किट किलोमिटर रहेको प्रसारण सञ्जाल ४ वर्षमा ४ हजार २७५ सर्किट किलोमिटर पुगेको हो।
४ वर्षमै थप ५० प्रतिशत प्रसारण सञ्जाल थप भएको छ। वितरणतर्फ भने १० हजार ५०० सर्किट किलोमिटरभन्दा बढी प्रसारणलाइन निर्माण सम्पन्न भएको छ।
त्यस्तै केही ठूला सबस्टेसनमध्ये स्याउले १३२ केभी सबस्टेसन, ढल्केबर २२० केभी सबस्टेसन, पूर्वी चितवन र सोलु करिडोर सबस्टेसनको निर्माण पनि सम्पन्न भएको छ।
सबस्टेसनको क्षमता वृद्धि, नयाँ जडानलगायत साना–ठूला गरी १ हजार हाराहारी सब–स्टेसन निर्माण तथा स्तरोन्नति भएका छन् भने २ हजार ५५२ एमभीए क्षमता थप भएको छ जसमा करिब एक हजार एमभीए क्षमताका प्रसारण सबस्टेसन रहेका छन् ।
सन् २०१५,१६ मा प्राधिकरणको वार्षिक आम्दानी ३५ अर्ब ७२ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षमा भने ७४ अर्ब ३० करोड रुपैयाँ आम्दानी भएको छ। जुन ४ वर्षअघिको तुलनामा करिब ११५ प्रतिशतले बढी हो। लकडाउनका कारण लामो समय उद्योगधन्दा चल्न पाएनन् भने व्यापारिक हाउस पनि लामै समय बन्द भए।
जसका कारण विद्युत बिक्री लक्ष्य अनुसार हुन सकेन। नभए यति बेला विद्युत बिक्रीबाट ८० अर्ब रुपैयाँ हाराहारी आम्दानी हुने अनुमान गरिएको थियो। विद्युत बिक्री पनि ४ वर्षअघिको तुलनामा दोब्बर भएको छ।
४ वर्षअघिसम्म ३७ लाख मेगावाट आवर विद्युत् बेच्ने प्राधिकरणले अहिले करिब ६५ लाख मेगावाट आवर विद्युत बिक्री गर्दै आएको छ।
अहिले ७७ जिल्लामध्ये १५ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ। गत आर्थिक वर्षमा मात्रै ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको छ। सरकारले २०७९ भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र वार्षिक प्रतिव्यक्ति विद्युत् खपतलाई ७ सय युनिट पु¥याउने लक्ष्य राखेको छ। अहिले प्रतिव्यक्ति खपत २ सय ६७ युनिट मात्रै छ।













































































































































































































