२३ बैशाख २०८१, आईतवार

 

बिना स्वास्थ्य परीक्षण कसरी भित्रिए बागलुङमा महोत्तरीबाट १८ मजदुर ? १४ जना मजदुरमा कोरोना पुष्टि

महोत्तरीबाट १८ मजदुरलाई स्वास्थ्य परीक्षण नै नगरी बागलुङ भित्र्याइएको पाइएको छ । शनिबारसम्म तीमध्ये १४ जनामा कोरोना पुष्टि भएको छ ।

धौलागिरि अस्पतालको सी ब्लकको भवन निर्माणको जिम्मा पाएको कम्पनीले स्वास्थ्य परीक्षणबिनै ती मजदुरलाई बागलुङ ल्याएको हो । धौलागिरि अस्पताल विकास समितिको आग्रहमा बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले भवन निर्माणको काम गराउन मजदुरलाई बागलुङ आउन अनुमति दिएका थिए ।

संक्रमितमध्ये पहिलोपटक गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएका २५ वर्षीय एक पुरुषलाई धौलागिरि बहुमुखी क्याम्पसमा रहेको प्री आइसोलेसनमा राखिएको छ ।

ती मजदुरसँगै बसेका अन्य १७ जनाको क्षयरोग उपचार केन्द्र पोखरामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

बागलुङ नगरपालिका कार्यालयको रात्माटास्थित कार्यालयमा क्वारेन्टाइनमा रहेका उनीहरूलाई कोरोना पुष्टि भएपछि धौलागिरि अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।

एकैचोटि १३ मजदुरमा कोरोना देखिएपछि उनीहरूबाट अरूमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ । विगत १३ वर्षअघि सुरु भएको अस्पतालको सी ब्लकको भवन पटकपटक म्याद थप्दा पनि अलपत्र परेपछि निर्माण कम्पनीलाई काम सुरु गर्न अस्पताल विकास समितिले आग्रह गरेको थियो ।

शुक्रबार कोरोना पुष्टि भएका सबै मजदुरलाई अनिबार आइसोलेसनमा राखिएको अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले बताए । बाँकी ४ जनाको केही दिनमा पुनः परीक्षण गरिने उनले जानकारी दिए । विनाअनुमति मजदुर ल्याउँदा जिल्लामा कोरोनाको खतरा बढेकाले जिल्ला भित्रने नाकामा आवश्यक कडाइ गर्नुपर्ने बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।

अस्पताल विकास समितिले आरडीटी परीक्षण गरी जिल्लामा ल्याउने र कोभिड–१९को सरकारी मापदण्ड पूरा गर्ने सर्तमा आफूहरूले मजदुर ल्याउन अनुमति दिएको बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्यको भनाइ छ ।

भवन निर्माणको काम अलपत्र प¥यो भनेपछि अस्पतालको आग्रहमा मजदुरलाई बागलुङ आउने अनुमति दिइएकामे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । अब बागलुङका मुख्य नाकाहरूमा कडाइ गरिने र तराई क्षेत्रबाट मजदुरलगायत सबैलाई जिल्ला भित्रने अनुमति रद्द गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्