२३ बैशाख २०८१, आईतवार

 

रुसले यति छिट्टै कसरी तयार गर्यो कोरोनाविरुद्धको खोप ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिले आफ्नो देशले कोरोना भाइरसविरुद्धको विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेका छन् ।
विश्वव्यापी रूपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न यो खोप प्रभावकारी रहेको उनको भनाइ छ ।

‘मैले बुुझेअनुसार कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन यसै बिहान रुसमा दर्ता भएको छ,’ उनले सरकारका सदस्यहरूलाई भने, ‘म भ्याक्सिन निर्माणको काम गर्ने ती सबैलाई धन्यवाद दिन्छु । यो पूरै विश्वका लागि महत्त्वपूर्ण क्षण हो ।’

उनले भ्याक्सिन लगाउन कसैलाई बाध्य नपारिने भन्दै आफ्नी छोरीले पनि एक डोज लगाइसकेकोे खुलासा गरे । ‘मलाई थाहा छ कि यसले स्थिर इम्युनिटी विकास गर्छ, प्रभावकारी काम गर्छ ।

यसले सबै परीक्षण पास गरिसकेको छ,’ उनले भने । कोभिड–१९ का कारण अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै २ करोडभन्दा धेरैमा संक्रमण देखिएको छ ।

पुटिनले स्वास्थ्यमन्त्री मिखाइल मुरास्र्कोलाई भ्याक्सिनबारे थप जानकारी उपलब्ध गराउन भनेका थिए । मुरास्र्कोले आगामी जनवरीसम्म सबैसमक्ष भ्याक्सिन पुगिसक्ने आशा गरे ।

कोरोनाबाट विश्वका अति प्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र भारतपछि रुसको नाम आउँछ । रुसमा ८ लाख ९५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १५ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ ।अमेरिकामा ५० लाखभन्दा धेरै, ब्राजिलमा ३० लाखभन्दा धेरै र भारतमा २० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्