वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार सन्तुलनका लागि जारको पानीमा ४ र बोतलको पानीमा १० रुपैयाँ मूल्य घटाइएको जनाएको छ । विभागले भदौ १० देखि लागू हुने गरी उपभोक्ताका लागि जार र बोतलको पानीमा अधिकतम मूल्य तोकेको थियो ।
बिचौलियाले बढी मूल्यमा कारोबार गर्दा बजारमा सन्तुलन नभएकाले मूल्य तोकिएको विभागका महानिर्देशक नेत्र सुवेदीले बताए । ‘बजारमा प्रतिस्पर्धा चलिरहेको छ । व्यवसायीले आफूखुसी मूल्य तोक्दा किन्ने ग्राहक ठगिन्छन् ।
एउटा पसलमा ४० रुपैयाँ र अर्को पसलमा ५० रुपैयाँसम्म लिन्छन् । एमआरपी राख्दा बढी लिने व्यापारीले लिन पाउँदैन,’ उनले भने । सुवेदीका अनुसार पानी उद्योगबाट सिधै ढुवानी गर्ने कतिपय पसलले उपभोक्तालाई ३५ मा ल्याएर ४० बिक्री गर्ने गरेका छन् ।
खुद्रा मूल्यमा एक जारको ६० रुपैयाँभन्दा बढीसम्म परेको पाइएपछि अधिकतम मूल्य कायम गरिएको विभागले जनाएको छ । विभागको अनुगमन टोलीले केही दिनदेखि खानेपानी उद्योगहरूमा अनुगमन गरिरहेको पनि सुवेदीले जानकारी दिए ।
‘यो सब पानीको गुणस्तर बढाउनका लागि गरिएको हो । पानी गुणस्तरसम्बन्धी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजकत्वमा टोली नै बनाएर अनुगमन गरेका छौं,’ उनले भने ।
२१ वटा उद्योगले उत्पादन गर्ने पानीको अनुगमनपछि गुण्स्तरसहित जार र बोटलमा अधिकतम मूल्य राखिएको विभागले जनाएको छ। विभागले सोमबार उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकका लागि प्रशोधित पानीको मूल्य तोकेको हो ।
नेपाल बोटल वाटर एसोसिएसनका अध्यक्ष सुवास भण्डारीले भदौ १० पछि उद्योगबाट सिधै लिने उपभोक्ताले यही मूल्यमा खरिद गर्न सक्ने बताए। पानीमा एमआरपी मूल्य लागू नहुँदा उपभोक्ता ठगिने वातावरण बनेको उनको भनाइ छ।
यसले उद्योग र उपभोक्ताबीचका बिचौलियालाई निरुत्साहित गर्ने उनले बताए। ‘हामीले प्रतिजार १० रुपैयाँ कम गरेका छौं । बोटलमा ४ रुपैयाँ घटाएका छौं,’ उनले भने।













































































































































































































