६ जेष्ठ २०८१, आईतवार

 

धौलागिरि अस्पतालमा दुई महिना बित्दा पनि आएन पीसीआर मेसिन

कोरोना परीक्षण गर्न सरकारले धौलागिरि अस्पताल बागलुङलाई दिने घोषणा गरेको पीसीआर मेसिन दुई महिना बित्दा पनि आइपुगेको छैन । कोरोनाको प्रभाव बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरि अस्पताललाई मेसिन दिने निर्णय गरेको थियो ।

असार १२ गते स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशित गरी धौलागिरि अस्पतालसहित देशका १० अस्पतालमा पीसीआर मेसिन राख्ने निर्णय गरेको थियोे । धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले यस विषयमा मन्त्रालयमा कुरा उठाए पनि कुनै जवाफ नआएको बताए ।

महामारीको समयमा रातारात निर्णय भई कार्यान्वयनमा जानुपर्नेमा कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्न र मेसिन ल्याउन ढिलाइ हुनु रहस्यमय भएको अधिकारकर्मी रामप्रसाद घिमिरेले बताए ।

निर्णयपछि स्वास्थ्य मन्त्रालय चुपचाप लागेर बसेको छ । निर्णय कार्यान्वयन गर्ने मातहतका निकायहरू यो विषयमा बेखबर छन् । असार १२ गतेको सार्वजनिक सूचनाबाहेक कुनै जानकारी नआएको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।

क्वारेन्टिनमा रहेका व्यक्तिको पीसीआर परीक्षणमा ढिलाइ भएपछि आफैं मेसिन खरिद गर्ने तयारी गरेका जिल्लाका स्थानीय तह सरकारले दिने घोषणा गरेपछि पछि हटेका थिए ।

सरकारले गण्डकी प्रदेशको धौलागिरि अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको ५ महिना बितिसकेको छ । पीसीआर मेसिन नहँुदा अहिले पनि स्वाब टेस्ट गर्न पोखरा, चितवन, काठमाडौं पठाउनुपर्ने बाध्यता छ । रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमितहरू समुदायमा गई थप संक्रमण हुने जोखिम बढेको छ ।

तस्वीर : सुवाश आचार्य

प्रतिक्रिया दिनुहोस्