५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा निषेधाज्ञा झन् कडा, भदौ १५ सम्म बैंकसमेत नखोल्न सिफारिस

कोरोना संक्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा थप एक साताका लागि निषेधाज्ञा जारी राख्न जिल्ला सुरक्षा समितिले सिफारिस गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबारको बैठकले ९ गते राति १२ बजेदेखि भदौ १५ सम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्र पन्तले नयाँ विश्वलाई बताए । बजारमा कोराना संक्रमितको संख्या बढेको र समुदायमा फैलिएको भन्दै थप निषेधाज्ञा लागू गर्न बैठकले निर्णय गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।
यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा भदौ २ गतेदेखि निषेधाज्ञा गरिएको थियो । आज बसेको बैठकले बैंक, सहकारीलगायत वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेको छ भने खाद्यान्न, दूध, फलफूल र तरकारी पसल पनि बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने पाइने भएको छ ।
आजदेखि कोरोनाको लक्षण देखिएका बिरामीलाई धौलागिरि अस्पताल, धौलागिरि बहुमुखी क्याम्पसस्थित आइसोलेसनमा र लक्षण नदेखिएका बिरामीलाई धौलागिरि बहिरा आवासीय मावि रामरेखामा राख्ने निर्णय भएको प्रजिअ न्यौपानेले नयाँ विश्वलाई बताए । बैठकमा कोरोना परीक्षण, रोकथाम, उपचार र नियन्त्रणको लागि भएको कामहरूको समीक्षा पनि भएको थियो । बैठकमा राजनीतिक दलका नेताहरू, नागरिक समाज, पत्रकार महासंघ, स्वास्थ्यकर्मी, बागलुङ उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्चका प्रतिनिधिको उपस्थिति थियो । समितिले समुदायका केही व्यक्तिमा कोरोना देखिएकाले अत्यावश्यक सेवाबाहेक अरू बन्द गरिने जनाउँदै अत्यावश्यक काम नपरी घरबाट ननिस्कन र स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न अनुरोध गरेको छ ।
बागलुङ–२ अस्पताल रोडकी होटल व्यवसायी महिला र वडा नं ३ हाडेपाखाकी कुखुरा व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमै फैलिएको आशंकामा भदौ २ गते निषेधाज्ञा गर्ने निर्णय भएको थियो । बजारमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सैनिक, मजदुर, व्यवसायी, गृहिणी, पसलमा काम गर्ने कर्मचारीमा समेत कोरोना देखिएको छ ।
बागलुङ बजारमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ । आज बानपा–२ बालमन्दिर रोडका र वडा नं ३ हाडेपाखाको दुई जनामा कोरोना पुष्टि भएको छ । धौलागिरि अस्पतालको आइसोलेसनमा ६ जना महिला र १२ जना पुरुष गरी १८ जना उपचाररत छन् । यसै गरी बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ८३ जना पुगेको छ । तीमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्