५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा भदौ १५ सम्मलाई थपियो निषेधाज्ञा, बैंक र सहकारी पनि बन्द

कोरोना संक्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा थप एक साता निषेधाज्ञा बढाइएको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा ९ गते राति १२ बजेदेखि भदौ १५ सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्र पन्तले नयाँ विश्वलाई बताए ।

यसअघि भदौ २ गतेदेखि गरिएको निषेधाज्ञालाई बैठकले निरन्तरता दिएको हो । आजको बैठकले बैंक, सहकारी, बिमा, लघुवित्तलगायत वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेको छ । खाद्यान्न, दूध, फलफूल र तरकारी पसल बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने पाइनेछ ।

अब कोरोनाको लक्षण देखिएका बिरामीलाई धौलागिरि अस्पताल, धौलागिरि बहुमुखी क्याम्पसस्थित प्री–आइसोलेसनमा र लक्षण नदेखिएका बिरामीलाई बानपा–१ रामरेखास्थित धौलागिरि बहिरा आवासीय माविको प्री–आइसोलेसनमा राख्ने निर्णय भएको प्रजिअ न्यौपानेले नयाँ विश्वलाई बताए ।

समितिले समुदायका केही व्यक्तिमा कोरोना देखिएकाले अत्यावश्यक सेवाबाहेक अरू बन्द गरिने जनाउँदै अत्यावश्यक काम नपरी घरबाट ननिस्कन र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

बागलुङ–२ अस्पताल रोडकी होटल व्यवसायी महिला र वडा नं ३ हाडेपाखाकी कुखुरा व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमै फैलिएको आशंकामा भदौ २ गते निषेधाज्ञा लागू गरिएको थियो ।

बागलुङ बजारमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सैनिक, मजदुर, व्यवसायी, गृहिणी, पसलमा काम गर्ने कर्मचारीमा समेत कोरोना देखिएको छ । बागलुङ बजारमा मात्रै संक्रमितको संख्या १४ पुगेको छ ।

हिजो बानपा–२ श्रीनगर टोलका र हाडेपाखाका गरी दुई जनामा कोरोना पुष्टि भएको थियो भने आज बानपा–३ गुठीमा डेरा गरी बस्ने ५४ वर्षीय महिलामा संक्रमण देखिएको छ ।

धौलागिरि अस्पतालको आइसोलेसनमा ७ महिला र १६ पुरुष गरी २३ जना उपचाररत छन् । यसै गरी बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ८४ जना पुगेको छ । तीमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।

तस्वीर : सुवाश आचार्य

प्रतिक्रिया दिनुहोस्