४ श्रावण २०८३, सोमबार

 

मुकेश अम्बानी अब अमेजनसँग प्रतिस्पर्धा गर्दै, किने फ्युचर ग्रुपको रिटेल भेन्चर

टेलिकम सेक्टरसँगै भारतमा तीव्रतर बजार लिइरहेको रिटेल बिजनेसमा पनि मुकेश अम्बानीले दह्रो उपस्थिति देखाउने भएका छन् । रिटेल बिजनेस र इ–कमर्समा अमेरिकी कम्पनी अमेजनसँगको प्रतिस्पर्धामा खरो उत्रन उनको रिलायन्स रिटेल भेन्चरले फ्युचर ग्रुपको रिटेल तथा थोक व्यवसाय र लजिस्टिक तथा वेयर हाउजिङ खरिद गरेको छ। भारतमा फ्युचर ग्रुप सानो कम्पनी होइन ।

भारतमा लकडाउनका कारण अत्यावश्यकबाहेक थुप्रै व्यवसाय हप्तौंसम्म बन्द हुँदा यसको मारमा फ्युचर ग्रुपले सञ्चालन गरेको रिटेल तथा होलसेल विङ्स पनि प¥यो। यसबाट कम्पनी तरलताका साथै वित्तीय अवस्थामा झन्झन् कमजोर हुँदा धान्न नसक्ने अवस्थानजिक पुग्यो ।

वित्तीय संकटको ओरालो यात्रा यसरी गहिरिँदै जाँदा यसलाई रोक्न ग्रुपका संस्थापक तथा सीईओ किशोर बियानीले आफूलाई स्थापित गरेको र आफ्नो सबैभन्दा प्रिय व्यावसायिक भेन्चरको साँचो रिटेल व्यवसायको पछिल्लो आक्रामक प्रतिस्पर्धीलाई बुझाउने निर्णय गरेका हुन् ।

भारतीय रिटेल बिजनेस टाइकुन बियानी तीन दशक पुरानो आफ्नो यो विशाल व्यावसायिक साम्राज्यलाई मुकेश अम्बानीको जिम्मा लगाउने निधोमा पुगेका हुन् ।

रिटेल बिजनेस र इ–कमर्समा जान रिलायन्स रिटेल भेन्चरले फ्युचर ग्रुपको रिटेल तथा थोक व्यवसाय र लजिस्टिक तथा वेयर हाउजिङ व्यवसाय खरिद गरेको रिलायन्स इन्डस्ट्रिजले विज्ञप्तिमार्फत जनाएको छ ।

भारतका धनाढ्य अम्बानीको रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको रिलायन्स रिटेल एन्ड फेसन लाइफस्टाइल लिमिटेड (आरआरएफएलएल) ले २ खर्ब ४७ अर्ब १३ करोड भारतीय रुपैयाँ (झन्डै चार खर्ब नेरु) मा ग्रुपको रिटेल तथा होलसेल व्यवसाय खरिद गरेको छ ।

आरआरएफएलएल पूर्णरूपमा रिलायन्स रिटेल भेन्चर लिमिटेड आरआरभीएल को स्वामित्वमा भएको कम्पनी हो, जसको व्यवस्थापन मुकेशकी छोरी ईशा अम्बानीले हेर्छिन् ।

रिटेल व्यवसायमा भारतीय बजार छिरेको अमेरिकी कम्पनी अमेजनसँग प्रतिस्पर्धा गर्न आक्रामक रूपमा अघि बढ्न खोजिरहेका अम्बानीले फ्युचर ग्रुपको अपेरल, लाइफस्टाइल र ग्रोसरी सेगमेन्टका व्यवसायको स्वामित्व खरिद गरेको घोषणा रिलायन्स इन्डस्ट्रिजले शनिबार गरेको हो ।

यो खरिदपछि अमेजनसँग प्रतिस्पर्धाका लागि रिलायन्स रिटेलले अफलाइन, अनलाइन र न्यु कमर्स गरी तीन प्रकारमा आफ्नो रिटेल व्यवसायलाई विभाजन गर्ने रणनीति अपनाउने बताइएको छ ।

रिलायन्सले अहिले जियोमार्टु ब्रान्डमा अनलाइन रिटेल चलाइरहेको छ भने अफलाइनमा पनि आक्रामक हुने अनुमान गरिएको छ । हाल रिलायन्स रिटेलका कन्जुमर इलेक्ट्रोनिक्स, फेसन तथा लाइफस्टाइल र ग्रोसरी फम्र्याटमा भारतभर ११ हजार ७ सय ८४ स्टोर छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung