लकडाउनअघि नै बन्द रहेको नेपालको उत्तरी केरुङ नाका ९ महिनापछि खुलेको छ । परराष्ट्र मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निरन्तरको प्रयासपछि नाका खोलिएको उद्योग राज्यमन्त्री मोतिलाल दुगडले बताए ।
‘केरुङ नाका खुलाउन चिनियाँ पक्ष सहमत भएको छ,’ उनले भने, ‘कोरोना नियन्त्रणका लागि बनाइएका मापदण्ड भने अनिवार्य पालना गर्नुपर्छ ।’
दुगडका अनुसार चिनियाँ पक्षले सहजीकरण गरेपछि त्यहाँ रोकिएर बसेका कन्टेनर भित्रिन सुरु भइसकेको छ । २०७६ चैत ११ गते लकडाउन घोषणापछि चीनबाट आउनुपर्ने १२ सयभन्दा बढी कन्टेनर केरुङ नाकामा अड्किएका थिए ।
चिनियाँ पक्षले चालकको अनिवार्य रूपमा पीसीआर परीक्षण गर्नुपर्नेजस्ता विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्ड पालना गर्नुपर्ने सर्तसहित नाका खोल्न दिएको हो ।
नेपालस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्तिमार्फत नेपालका लागि पठाइने अत्यावश्यक सामान ढुवानीका लागि सीमानाका खोलिदिएको जनाएको छ ।
दूतावासका अनुसार सीमानाका पूर्णरूपमा खोल्न अन्य काम पनि धमाधम भइरहेको छ । औषधिका कच्चा पदार्थ, तयारी पोसाक, जुत्ता चप्पललगायत वस्तुका कन्टेनर नाकामा रोकिएका थिए ।













































































































































































































