
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने संकेत गरेका छन् । पार्टी सचिवालय बैठक र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री ओलीले पछिल्लो मन्त्रिपरिषद् बैठकमै पुनर्गठनको समयसीमाबारे सन्देश दिएका छन् । शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलका केही सदस्यको बिदाइ हुन थालेको संकेत गर्दै त्यसका लागि मानसिक रूपमा ‘तयार रहन’ सन्देश दिएका छन् ।
बैठकमा ओलीले पार्टीमा छलफल चलिरहेकाले आफ्नो टिममा रहेका सदस्यमध्ये कतिपयलाई बिदाइ गर्नुपर्ने र कतिपयचाहिँ साथमै रहनुपर्ने स्थिति आउन सक्ने भन्दै मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब नगर्ने प्रस्ट सन्देश दिएको एक मन्त्रीले बताए । सामान्यतया मन्त्रिपरिषद् बैठकबारे पहिल्यै मन्त्रीहरूलाई एजेन्डाबारे जानकारी गराउने गरिए पनि पछिल्लो बैठकको एजेन्डाबारे भने अवगत गराइएको थिएन । शुक्रबार साँझ ५ बजेबाट साढे तीन घन्टा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
‘पार्टीभित्रको पछिल्लो छलफल र कुराकानीबारे तपाईंहरू पनि जानकार नै हुनुहुन्छ । अब केही–केही साथी बस्नुपर्ने वा टिममै रहनुपर्ने, कतिपय साथी छुट्टिनुपर्ने पनि हुन सक्ने भएकाले कतिपयलाई क्याबिनेटको यो भेटघाट र बैठक अन्तिम पनि हुन सक्छ । त्यसलाई तपाईंहरूले अन्यथा हिसाबले होइन, सहजीकरणका रूपमा लिनुहुनेछ भन्ने लागेको छ । यसको अर्थ तपाईंहरूले काम गर्नुभएन या असफल हुनुभयो भन्ने होइन र यसरी बुझ्नुभएन । तपाईंहरू असफल हुनुभयो भन्ने हिसाबले त्यसो गर्न लागिएको होइन भन्ने बुझ्नु नै हुनेछ भन्ने लागेको छ,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।