निषेधाज्ञा हटेपछि सिमेन्ट र डन्डी ५० प्रतिशत हाराहारी उत्पादन हुन थालेको छ । लकडाउन र निषेधाज्ञाका कारण सिमेन्ट र डन्डी उद्योगको उत्पादन ३० प्रतिशत हाराहारीमा झरेको थियो ।
‘निषेधाज्ञा हटेपछि विस्तारै सिमेन्टको माग बढ्न थालेको छ । अहिले ५० प्रतिशतको हाराहारीमा सिमेन्ट उत्पादन भइरहेको छ,’ ऋद्धिसिद्धि सिमेन्टका सञ्चालक हरि न्यौपानेले भने, ‘निषेधाज्ञा खुलेपछि देशैभरि पानी परेकाले माग बढ्न सकेन ।
दसैंतिहारपछि विस्तारै बढ्ने अपेक्षामा हामी छौं ।’ अर्घाखाँची सिमेन्टका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले निषेधाज्ञा खुलेपछि सामान्य मात्रै माग बढेको बताए । ‘
अहिले निषेधाज्ञाको बेलाभन्दा १० प्रतिशत मात्रै माग बढेको छ । असोजमा मलमास परेकाले समेत नयाँ निर्माण रोकिएका छन् । पुराना पनि कोरोनाका कारण राम्रोसँग अघि बढ्न सकेका छैनन्,’ उनले भने, ‘मलमास सकिनेबित्तिकै चाडपर्व लाग्ने भएकाले तत्कालै बिक्री बढ्ने देखिँदैन ।’ उनका अनुसार यो वर्षको सिजनमा समेत सिमेन्टको बिक्री राम्रो हुने सम्भावना कम छ ।
अम्बे स्टिलका सञ्चालक शिवाज न्यौपाने भने डन्डीको माग विस्तारै बढ्न थालेको बताउँछन् । ‘डन्डीको माग ५० प्रतिशतको हाराहारीमा पुगेको छ । मलमास सकिनेबित्तिकै एकपल्ट डन्डीको माग ह्वात्तै बढ्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘लकडाउनभन्दा पनि निषेधाज्ञाले बजारलाई ध्वस्त बनाएको थियो । हाम्रो अनुमान विस्तारै बढ्छ भन्नेमा छ ।’
माग केही बढे पनि डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । श्री स्टिलका सञ्चालक राजेश अग्रवालले सञ्चालनमा रहेका सबै डन्डी उद्योग नोक्सानीमा रहेको बताए । ‘
कोरोनाका कारण धेरै डन्डी उद्योग समस्यामा छन् । अहिले नगद दिनेलाई किलोको ६१ रुपैयाँमा डन्डी बिक्री गरिरहेका छन् । नोक्सानी खाएर पनि डन्डी बिक्री भइरहेको छ,’ उनले भने, ‘६ महिना बन्दाबन्दीले धेरै उद्योग व्यवसाय समाप्त हुने अवस्थामा पुगे ।’ मुलुकभित्र अहिले २२ वटा डन्डी उद्योग छन् ।













































































































































































































