
बैंकर्स संघले उपाध्यक्षको चयन दसैंपछि मात्र गर्ने भएको छ । अनुकूल भटनागर भारत फर्किएपछि एक महिनादेखि उक्त पद खाली छ । उनलाई स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले नेपाल एसबीआईबाट फिर्ता बोलाएको थियो ।
संघमा बैंकमा काम गरिरहेकाहरू मात्र सदस्य हुन्छन् । संघले दसैंलगत्तै साधारणसभा गर्ने तयारी गरिरहेको छ । ‘अहिले अडिटको काम भइरहेको छ । कोभिडका कारण संघले कार्यक्रमहरू पनि गरिरहेको छैन, त्यसैले पनि तत्कालै नियुक्त नगरिएको हो,’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘साधारणसभाबाटै चयन गर्ने तयारी छ ।’ अहिले कार्यसमितिबाट नियुक्त गर्दा त्यो पद साधारणसभा नहुन्जेललाई मात्र कायम हुन्छ ।
यसो हुँदा साधारणसभाबाटै चयन गर्ने गरी अहिलेलाई उपाध्यक्ष रिक्त राखिएको शर्माले जानकारी दिए । साधारणसभाले रिक्त रहेको अर्को एक सदस्य पदमा पनि निर्वाचन गर्नेछ । माछापुच्छ«े बैंकबाट सुमन शर्मा बाहिरिएपछि सदस्य पद रिक्त छ । भटनागर र शर्माको ठाउँमा गरेर कार्यसमितिमा दुई नयाँ अनुहार आउनेछन् । संघमा अध्यक्षको निर्वाचन एउटा वर्ष र बाँकी सदस्यको निर्वाचन अर्कै वर्ष हुन्छ ।