विभिन्न १५ वटा कम्पनीले साधारण सेयरको आईपीओ जारी गर्ने तयारी गरेका छन् । यसका लागि तीन कम्पनीले निवदेन दर्ता गराएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ । आईपीओका लागि आवेदन दिएका कम्पनीमा अधिकांश जलविद्युत् क्षेत्रका छन् । सेबोनका अनुसार साधारण सेयर निष्कासनको निवेदन पेस गर्नेमा १० जलविद्युत् कम्पनी छन् । अन्यमा बिमा, लघुवित्त र पर्यटन सेवासँग सम्बन्धित छन् ।
यी सबै कम्पनीको सेयर निष्कासन तथा बिक्री हुँदा बजारमा कुल ४ करोड ४४ लाख ७३ हजार ७ सय ४६ कित्ता सेयर फ्लोट हुनेछ । जलविद्युत्को हकमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले समेत गरी सर्वसाधारणले उक्त सेयर खरिद गर्न पाउनेछन् ।
आवेदन परेका कम्पनीको वित्तीय अवस्था हेरेर स्वीकृति दिइने बोर्डले जनाएको छ । यसै क्रममा बोर्डले हाल चन्द्रागिरि हिल्स र केही जलविद्युत्को विवरण अध्ययन अन्तिम चरणमा रहेको समेत जानकारी दिएको छ । बिमा र लघुवित्त कम्पनीहरूलाई बोर्डले तुलनात्मक रूपमा अन्यभन्दा कम अवधिमा स्वीकृति दिने गरेको छ । जलविद्युत्को सेयर जारी अनुमतिमा भने ढिलाइ हुने गरेको छ । यसैले बोर्डमा तीन वर्षअघि नै प्राथमिक सेयर जारी गर्न निवेदन दिएका कम्पनीसमेत अहिलेसम्म पाइपलाइनमा छन् ।
जलविद्युत् कम्पनीले सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिनुअघि विद्युत् नियमन आयोगबाट समेत स्वीकृत भएर आउनुपर्ने व्यवस्था भएकाले पनि बढी समय लाग्ने गरेको बोर्डका सहप्रवक्ता रूपेश केसी बताउँछन् ।
पछिल्लो समय आयोगको स्वीकृति नलिई बोर्डमा निवेदन दिएका जलविद्युत् कम्पनीको प्रक्रिया आयोगमै अड्किएकाले पनि ढिलाइ भएको उनको भनाइ छ । मैलुङ खोला र सीईबीडी हाइड्रोपावर २०७४ सालदेखि आईपीओ स्वीकृतिको पर्खाइमा छन् ।
यी दुवैले नियमन आयोगबाट स्वीकृति पाइसकेका हुन् । यद्यपि बोर्डले कम्पनीको अवस्था अध्ययन गर्न बाँकी रहेको जनाएको छ । यसले केही वर्षअघिको वित्तीय विवरण मात्र पेस गरेको छ भने बाढी–पहिरोले आयोजनामा पु¥याएको क्षतिबारे यथेष्ट जानकारी नभइसकेकाले पनि अनुमति दिन नसकिएको बोर्डको भनाइ छ ।
आईपीओको पाइपलाइनमा रहेका शुभम् पावर, मध्य भोटेकोसी, ग्रिन लाइफ हाइड्रो, सिंगटी हाइड्रोपावर र हिमालयन हाइड्रोलगायत जलविद्युत् कम्पनीलाई पनि आयोगले स्वीकृति दिइसकेको आयोगका प्रवक्ता रामप्रसाद धितालले जानकारी दिए । यीमध्ये सिंगटी हाइड्रोपावरको भने सेयर प्रत्याभूतिकर्तासँगको विवादका कारण आयोगले स्वीकृति दिन ढिलाइ गरेको थियो ।













































































































































































































