४ श्रावण २०८३, सोमबार

 

१० अर्ब लगानीको मार्सी ब्रान्डको नयाँ बियर आउने

बियर पारखीहरूका लागि नेपाली बजारमा नयाँ बियर आउने भएको छ । कर्णाली क्षेत्रमा पाइने चर्चित मार्सी चामलको प्रयोग गरी मार्सी ब्रान्डमै आगामी पुसभित्रमा बियर बजारमा ल्याउन लागिएको हो ।

उक्त बियरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईले लगानी गर्दै छन् ।प्रसाईले टेन्सबर्ग बियर उत्पादन गर्दै आएको टाइगर ब्रुअरी कम्पनी ४ अर्ब रुपैयाँमा खरिद गरी मार्सी बियर ल्याउन लागेका हुन् ।

बियरमा अहिले प्रसाईको ५५ प्रतिशत र तेजेन्द्र खड्का समूहको ४५ प्रतिशत सेयर छ । ब्रुअरीका अनुसार दैनिक २ लाख बोतल बियर उत्पादन हुनेछ ।

मार्सीले प्रिमियम र स्ट्रङ दुवैथरी बियर बजारमा ल्याइने जनाएको छ । ३५० एमएल र ७०० एमएल गरी दुईवटा बोतल र क्यानमा पनि यो बियर उपलब्ध हुनेछ । बियरको न्यूनतम मूल्य २८० रुपैयाँ राखिएको छ । ‘एसियाकै उत्कृष्ट बियर बनाउने गरी हामी लागिरहेका छौं,’ प्रसाईले भने, ‘यो स्वदेशी लगानीकर्ताहरूको स्वदेशी उत्पादन हो ।’

अरू बियरको नाफा विदेशमा जाने र आफ्नो बियरको नाफा नेपालमै रहने भएकाले पनि अरूभन्दा पृथक् रहने उनको दाबी छ । बियरमा ७० प्रतिशत जौ र ३० प्रतिशत चामल प्रयोग हुनेछ ।

उच्च हिमालयको फेदमा उत्पादन हुने चामल प्रयोग गरिने भएकाले सबैले मन पराउने विश्वास उनले लिएका छन् । ‘अहिलेसम्म बियरमा ३० रुपैयाँ किलोको खुदी प्रयोग भइरहेको छ, हामीले १ सय ५० रुपैयाँ किलोको मार्सी चामल हालेर बनाउने भएकाले गुणस्तरमा समेत अगाडि रहनेछौं,’ उनले भने । बियरको मुख्य उद्योग भैरहवामा रहेको छ । यसले अहिले उत्पादन सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung