कोभिड–१९ महामारीलाई लक्षित गरी स्थानीय प्रशासनले मठमन्दिरमा निषेधाज्ञा लगाएपछि त्यसको असर बागलुङ बजारको व्यापार–व्यवसायमा देखिएको छ । हरेक दसंैमा करिब ५ लाख दर्शनार्थी आउने प्रसिद्ध बागलुङ कालिका मन्दिरमा निषेधाज्ञा लगाइँदा वरपरका व्यवसायी मारमा परेका छन् ।
नजिकिएको चाडबाडलाई लक्षित गरी सरकारले लकडाउन खुकुलो बनाउँदा राहतको महसुस गरेका व्यवसायी पुनः निराश भएका छन् ।
‘मन्दिरमा पूजा गर्न गाउँगाउँबाट भक्तजन आउँदा व्यापार हुने आशामा थियौं तर निषेधाज्ञाले व्यापार चौपट भयो,’ लालीगुराँस चोकका फेन्सी व्यवसायी बलराम गौतमले भने ।
स्थानीय प्रशासनले विशेष गरी धार्मिक संस्थालाई केन्द्रमा राखी कात्तिक ९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । यसै कारण मानिसहरू मन्दिर दर्शन गर्न नआउँदा बजारमा चहलपहल घट्नुका साथै व्यापारमा कमी आएको फेसन ज्वेलर्सकी प्रोप्राइटर सुनीता शर्माले बताइन् ।
इच्छा–आकांक्षा पूरा हुने विश्वासका साथ बागलुङ कालिका भगवती मन्दिरमा म्याग्दी, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, चितवन, बुटवल, पाल्पा, गुल्मी, नवलपरासी, काठमाडौंलगायत जिल्लाबाटसमेत श्रद्धालु आउने गरेका थिए ।
कालिका मन्दिर आउने भक्तजनले चिनोका रूपमा बागलुङमा किनमेल गर्ने गरेका थिए । यसपटक प्रशासनले निषेधाज्ञा जारी गर्दा मन्दिरवरपरको व्यापार–व्यवसाय प्रभावित बनेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले नयाँ विश्वलाई बताए । अहिले प्रशासनले मन्दिरको गेटमा प्रहरी खटाएर प्रवेशमा रोक लगाएपछि नित्य पूजा मात्र हुने गरेको छ ।
कोभिड–१९ का कारण चैतदेखि बन्द रहेको कालिका भगवती मन्दिर आर्थिक रूपमा समेत मारमा परेको छ । मन्दिर व्यवस्थापनका लागि भर्ना गरिएका १६ जना कर्मचारीलाई तलबभत्ता दिनसमेत मुस्किल परेको समतिले जनाएको छ ।
‘मन्दिरमा आउने करिब ५ लाख भक्तजनबाट नवदुर्गामा मात्रै ३० लाखभन्दा बढी भेटी संकलन हुने गरेको थियो,’ अध्यक्ष खड्काले भने ।













































































































































































































