
दुई महिनामा १ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले मासिक प्रतिवेदन सार्वजनिक गर्दै भदौसम्म आयात २२.१ प्रतिशतले घटेको जनाएको छ ।
यो तुलना अघिल्लो वर्षको भदौसँग हो । चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, खाने तेल र कोइलालगायत वस्तुको आयात विगतको तुलनामा बढी भएको छ ।
पेट्रोलियम पदार्थ, यातायात साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोसाक, कच्चा पाम तेलको आयात भने विगतको तुलनामा कम छ ।
लकडाउन र निषेधाज्ञाका कारण सवारीसाधन चलेनन् । यसले गर्दा पेट्रोलियम र सवारी आयात कम भएको हो । भारतले पाम आयात बन्द गरेकाले नेपालले पनि कच्चा पदार्थ ल्याउन कम गरेको हो ।
दुई महिनामा निर्यात साढे १० प्रतिशतले बढेर २० खर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्ष करिब २६ प्रतिशतले निर्यात बढेको थियो । कोभिडले विश्वबजार नै प्रभावित पारेका बेला पनि साढे १० प्रतिशतको निर्यात भएको छ ।
दुई महिनामा आयुर्वेदिक औषधि, चाउचाउ, जडीबुटी, जुटका सामान, पस्मिनालगायत वस्तुको निर्यात बढेको छ । पामतेल, दाल, जुस, लत्ताकपडा, जस्तापाताको निर्यात घटेको छ ।