४ श्रावण २०८३, सोमबार

 

महासंघको नेतृत्व गर्न उद्योगी–व्यवसायीका समस्या बुझेको हुनुपर्छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल यति बेला आफ्नो समूहसहित जिल्ला भेलामा व्यस्त छन् । पोखरामा भएको भेलामा ढकालले आफू सधैं व्यावसायिक हकहितकै पक्षमा रहेको बताएका छन् ।

उनले भने, ‘महासंघको गरिमा माथि उठाउन र कोरोनाको कहरमा परेका उद्योग, कलकारखाना र व्यवसाय माथि उठाउन र व्यवसायीलाई उत्साहित बनाउने मेरो उम्मेदवारी हो ।’ वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि सक्षम र दाबेदार रहेको उनको भनाइ छ ।
‘विपक्षी साथीहरूले महासंघमा २५–३० वर्ष बिताएको भन्दै अब आफूले नेतृत्व गर्न पाउने दाबी गर्दै आएका छन्,’ उनले भने, ‘धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन ।

त्यसका लागि आफैंले व्यवसाय गरेर उद्योगी–व्यवसायीको वास्तविक समस्या बुझेको हुनुपर्छ । विश्वास र समर्थन आवश्यक पर्छ ।’ ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुगेपछि संस्थाको गरिमा र प्रतिष्ठालाई अझै उँचो बनाउने काममा सशक्त भएर लाग्ने बताए

।जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले यसअघि सो पदमा वस्तुगत वा एसोसिएट्सतर्फका साथीहरूलाई जिताउँदा आफूहरूले धोका पाएको भन्दै अब जिल्ला–नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे ।

कार्यक्रममा उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले स्थापना गरेको अक्षय कोषका लागि २ लाख सहयोग प्रदान गरेका थिए । पछि कोषमा ३ लाख थपेर पाँच लाख पु¥याउने उनले बताए ।

उक्त रकमको चेक ढकालले महासंघका उपाध्यक्ष मोतीप्रसाद पौडेललाई हस्तान्तरण गरेको महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताए ।

यसअघि ढकालले नेपालगन्ज, गुलरिया, बुटवल, नवलपरासी, नवलपुर, चितवनलगायत उद्योग वाणिज्य संघद्वारा आयोजित निर्वाचन प्रचार कार्यक्रममा सहभागी भएका थिए ।

सो कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत लमजुङ जिल्लाका अध्यक्ष राजेश थापा, बाग्लुङका अध्यक्ष युवराज राजभण्डारी, पर्वतका अध्यक्ष केदारनाथ शर्मा, स्याङजाका अध्यक्ष विक्रान्त श्रेष्ठ, पोखराका कार्यबाहक अध्यक्ष नारायण पराजुली, लेखनाथका अध्यक्ष बलराम ढकाल,

देवचुलीका अध्यक्ष रेशमराज सापकोटा, नवलपुरका अध्यक्ष डासुराम पोखरेल, शुक्लागण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ, गल्याङका अध्यक्ष यज्ञप्रसाद अर्याल, गैडाकोटका अध्यक्ष अमृत भट्टचन, वालिङका अध्यक्ष शोभाकान्त पौडेल र म्याग्दीको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष कुवेरकुमार श्रेष्ठको उपस्थिति थियो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उँचो पार्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टिमलाई जिताउनु पर्ने बताए ।

कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डीबी बस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएकाले आफूले पनि समर्थन गर्दै अघि बढेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung