गोरखाको उत्तरी भेगका बासिन्दाले बाबियाको डोरीमा झुन्डिएर यारु बगर पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । बूढीगण्डकी नदी किनारमा पहरो खोपेर पुल बनाइएपछि उनीहरूलाई राहत मिलेकोे हो ।
क्यान्टी लिभर प्रविधिमा बनेको उक्त पुल देशका अन्य भागमा बनाइएका पुलभन्दा फरक छ । यसले धार्चे गाउँपालिकाभन्दा माथिल्ला बस्तीहरूमा बसोबास गर्नेहरूलाई सहज भएको छ ।
यसले गोरखाको उत्तरी भाग र सदरमुकाम जोड्ने सेतुको काम गरेको छ ।यूके एडको सहयोगमा ३ करोड ७५ लाखको लागतमा बनेको पुलले विशेष गरी मनास्लु र चुमभ्यालीको यात्रा गर्ने पैदलयात्रीको जोखिम कम गरिदिएको छ ।
यस प्रकारको पुल स्विट्जरल्यान्डमा बनेको विकास साहित्यमा उल्लेख भएको जिल्ला आयोजना कार्यान्वय इकाइ गोरखाको प्रमुख अधिकारी विष्णु मिश्रले फेसबुकमा लेखेका छन् । उनका अनुसार क्यान्टी लिभर पुलको प्रणेताको रूपमा हेनरिक गर्बरलाई लिन सकिन्छ । उनको अगुवाइमा जर्मनीमा यही प्रविधिमा हेसफर्ट पुल बनेको थियो जुन ३८ मिटर लामो थियो ।
क्यानडाको क्युबेक, स्कटल्यान्डको फोर्थ, जापानको मिनातो, अमेरिकाको कम्मोडोर ब्यारी र क्रेसेन्ट सिटी कनेक्सन, भारतको हाउडा ब्रिज क्यान्टिलिभर पुलका उदाहरण हुन् ।
यस प्रकारको पुल खास गरी पैदलयात्रीका लागि निर्माण गरिन्छ । क्यान्टिलिभर पुल एकातिर मात्र आड लिएर निर्माण गरिएको हुन्छ । अर्कोतिर कुनै पनि प्रकारको आड हुँदैन ।
यो पुल २०७२ सालको भूकम्पपछि बनेको हो । भूकम्पले गर्दा अलि अलि भएको माटो तल खोलामा झरेपछि बाटो बन्द भएर मानिस हिड्न नसक्ने भएपछि यो पुल बनेको हो ।क्यान्टी लिभर प्रविधिमा बनेको नेपालको पहिलो पुल भएको जिल्ला आयोजना कार्यान्वय इकाइ गोरखाको प्रमुख विष्णु प्रसाद मिश्रले जानकारी दिए ।
( जिल्ला आयोजना कार्यान्वय इकाइ गोरखाको प्रमुख विष्णु प्रसाद मिश्रको फेसबुकबाट )
















































































































































































