१९ भाद्र २०८३, शुक्रबार

 

कालिका भगवती गुठीद्वारा भोटेकोशी बाढीपीडितलाई ११ लाख सहयोग

बागलुङ । नेपालकै प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको व्यवस्थापन गर्ने संस्था कालिका भगवती गुठीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु ११ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ।

गुठीका अध्यक्ष रामबहादुर खड्का ‘रमेश’ले शुक्रबार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

रकम हस्तान्तरण गर्दै अध्यक्ष खड्काले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गुठीको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो।

गुठीका सचिव निशान खड्काले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा देशभरका सबै संस्था एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो। उहाँले बाढीपीडित परिवारको हित र पुनर्स्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काको समेत उपस्थिति रहेको थियो।

गत भदौ १० गते चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए। बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

विपत्तिपछि सर्वसाधारण, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था तथा दाताहरूले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।

तस्बिर : पिपुल्स खबर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung